वेबटिभी खबर
काठमाडौं । सभामुख अग्नि सापकोटाले अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मा राष्ट्रिय सहमति जुट्नुपर्ने आशय व्यक्त गरेका छन् । बुधबार आफ्नै कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै सभामुख सापकोटाले राष्ट्रिय सहमति जुटेपछि मात्रै एमसीसी पास हुनुपर्ने आशय राखेका हुन् ।
‘एमसीसीको विषयमा म तटस्थ ढंगले अध्ययन गरिरहेको छु । यसका सबै विषयमा राष्ट्रिय सहमति होस्, किनभने यो जनताको घरघरमा पुग्ने परियोजना हो,’ उनले भने । एमसीसीका कतिपय विवादित विषयमा राष्ट्रिय सहमति जुट्न नसके संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुबीच सहमति हुनुपर्ने र त्यो पनि नभए सत्ता गठबन्धनमा रहेका दलहरुबीच सहमति हुनुपर्ने सभामुख सापकोटाले बताए ।
उनले आफू सिन्धुपाल्चोकको जुगल गाउँपालिका गएका बेला एक जना स्थानीयले तामाङ भाषामा कुराकानी गर्दै एमसीसी पारित गर्न नहुने बताएको पनि पत्रकाररुलाई सुनाए । ५५ अर्ब रुपैयाँ बजेट रहेको अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता अनुमोदनका लागि संसदमा विचाराधीन छ । संसद्बाट पास भएपछि मात्र यो परियोजना अघि बढ्ने छ ।
नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य (किरण) नेतृत्वको नेकपा माओवादी (क्रन्तिकारी) ले एमसीसीका केही बुँदा सैन्य रणनीतिसँग जोडिएकाले अहिलेकै अवस्थामा संसद्बाट पास गर्नु राष्ट्रघाती कदम हुने भन्दै विरोध जनाउँदै आएका छन् ।
एमालेका स्थायी समिति सदस्य तथा पूर्वउप्रधानमन्त्री भीम रावलले १५ साउनमा प्रतिनिधिसभाको बैठकमा बोल्दै एमसीसी पास गर्नु राष्ट्रघाती कदम हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij