रेश्मा सिंह
काठमाडौं । कोभिड–१९ संक्रमणले करिब दुई वर्षदेखि व्यवसाय, अफिस, अध्ययन सबै क्षेत्रलाई असर पारेको छ । कोभिडका कारण शैक्षिक संस्था बन्द हुँदा बालबालिकाकाे पढाइ निकै प्रभावित भएकाे छ ।
यही मेसोमा स्वास्थ्यविज्ञले संक्रमणको तेस्रो लहर आउने आंकलन गरिरहेका छन् । यस्तो अवस्थामा तत्कालै विद्यालयहरु खुलाउने वा नखुलाउने भन्ने विषय पनि विवादित छ ।
यो महामारीबाट तत्कालै छुटकारा पाउने अवस्था नभएकाले यस्तै अवस्थामा जीवनशैलीलाई सहज बनाउँदै लैजानु पर्ने कुराहरु पनि विज्ञहरुले भन्दै आएका छन् । अहिले स्कुलहरू बन्द भए पनि कलेजका परीक्षाहरू भइरहेका छन् । कलेजका विद्यार्थीले पनि भिडभाड गरेर परीक्षा लिएकाे भनेर विराेध जनाएका छन् ।
दोस्रो लहर सकिएको भनिरहँदा पुनः अहिलको तथ्यांकले संक्रमणको स्तर दिनानुदिन बढेकाे देखिन्छ । कोभिड–१९ को तेस्रो लहर आउनसक्ने आंकलन गर्दै नेपालका धेरै स्थानमा पुनः निषेधाज्ञालाई कडा बनाइएकाे छ । काठमाडौं उपत्यकामा आजबाट (बिहीबार) लागु हुनेगरी राति ८ बजेपछि सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
निषेधाज्ञाकाबीच अभिभावक र विद्यार्थीको भविष्यलाई मध्यनजर गरी विद्यालयहरुले अनलाइन कक्षा पनि सञ्चालन गरिरहेका छन् । तर, सहरमा अनलाइन कक्षा सहज र उपयुक्त विकल्प भए पनि विकट भेगमा भने यो सबैको सहज पहुँचमा छैन् ।
कोरोनाको असर व्यहोरेको भारत, अमेरिका र यूकेमा लामो समयदेखि बन्द रहेका स्कुलहरु खोल्ने तयारी हुँदैछ । यस अवस्थामा अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सनले बालबालिकालाई स्कुल पठाउनअघि संक्रमणको जोखिमबाट बच्न केही नियमहरु अवलम्बन गर्न सुझाएको छ ।
अभिभावकको भूमिका
स्कुल पठाउँदा बच्चालाई अनिवार्य मास्क लगाउन सिकाउने र बुझाउने । लगाएको बाहेक एउटा अर्को मास्क साथमा राख्न दिने ।
पेन, पेन्सिलजस्ता अत्यावश्यक सामाग्री अरुसँग माग्न नपर्ने गरी पहिले नै बन्दोबस्त गर्ने ।
झोलामा स्यानिटाइजर र कागजी रुमाल राखिदिने ।
खानेकुरा घरैबाट बनाएर पठाउने । बाहिरका खानेकुरा खाँदा कोभिड–१९ संक्रमणको जोखिम हुन्छ ।
स्कुल पठाउनु अघि नियमित तापक्रम जाँच गर्ने ।
बच्चाको स्वास्थ्यमा कुनै पनि किसिमको परिवर्तन वा बिसन्चो भए स्कुल नपठाउने ।
अति आवश्यक नपरेसम्म मास्क नखोल्न बच्चालाई सम्झाउनु पर्छ । मास्क बदल्न पनि सिकाउने ।
मास्क खोल्न आवश्यक परेमा वरिपरी ६ फिटको दुरीमा कोही नभएको समयमा मास्क खोल्न र स्यानिटाइजर लगाउने तरिकाबारे जानकारी दिनुपर्छ ।
बच्चालाई सामाजिक दुरी कायम गर्न सम्झाइबुझाइ गर्ने ।
यसबाहेक स्कुलमा हुने सामूहिक क्रियाकलापहरु गर्दा जनस्वास्थ्यका मापदण्डलाई पनि विद्यार्थीले पालना गर्नुपर्ने हुन्छ । जस्तै खेलकुद, प्रयोगशाला, कक्षा, प्रोजेक्ट वर्क । यस्ता क्रियाकलाप गराउँदा शिक्षकले सामाजिक दुरी र अन्य जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्ने र गराउने गर्नुपर्छ । यस्ता क्रियाकलापपछि साबुन पानीले हात धुने वा हातमा स्यानिटाइजर लगाउन अनिवार्य गर्नुपर्छ ।
विद्यालयका सार्वजनि स्थानहरु जस्तैः कक्षाकोठा, बाथरुम, पार्किङ एरियामा कोरोना भाइरस संक्रमणबाट जोगिने जानकारी मुलक पोस्टर टाँस्नुपर्छ र विद्यार्थीलाई त्यसको पालना गर्न सिकाउनु पर्छ ।
वासरुम सरसफाईमा पनि विशेष ध्यान दिनुपर्छ । वासरुम प्रयोग पश्चात हात तथा खुट्टाको सरसफाईमा ध्यान दिनुपर्छ ।
शिक्षकले यी कुरामा ध्यान दिने
बच्चाहरुलाई एकअर्कोसँग कुनैपनि वस्तु साटासाट गर्न दिनु हुँदैन ।
कक्षा कोठामा हावा वारपार गर्न झ्यालहरु खोल्नु पर्छ ।
विद्यार्थीलाई करिब ६ फिटको दुरी कायम गरेर बस्ने व्यवस्था गर्नुपर्छ ।
स्कुलबाट फर्केपछि अभिभावकले के–के गर्ने ?
बच्चाले लगाएको जुत्ता, चप्पल घरबाहिर नै राख्ने ।
पुनः प्रयोग गर्न मिल्ने मास्कलाई तुरुन्त धोएर राख्ने ।
घर प्रवेश गर्नुपूर्व साबुन पानीले हात धुन लगाउने वा स्यानिटाइजर लगाइदिने ।
एउटा छुट्टै कोठामा बच्चाको लुगा फेरबदल गर्ने र उक्त पोसाकलाई स्यानिटाइज गर्ने वा धुने ।
बच्चा नुहाउन नसक्ने अवस्थामा भए राम्रोसँग हातमुख धुने ।
घरमा वृद्धवृद्धा भएको खण्डमा बच्चाहरुलाई तिनीहरुको नजिक जान नदिने । (एजेन्सीकाे सहयाेगमा)
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij