वेबटिभी खबर
काठमाडौं । नेपालमा बास्केटबल खेलको विकास, विस्तार तथा प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय स्तरको अन्डर-१६ अन्तर विद्यालय बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल बास्केटबल संघ, नेपाललय इन्टरनेशनल र प्याब्सनकोे संयुक्त आयोजनामा प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हल, दशरथ रंगशाला, त्रिपुरेश्वरमा आयोजना गर्न लागिएको हो ।
आयोजकका अनुसार असोज ५ गतेदेखि असोज १३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरबाट करिब ४० टोलीको सहभागिता रहनेछ । विद्यालय तथा युवा तहमा बास्केटबलप्रति बढ्दो आकर्षण र सहभागितालाई व्यवस्थित अवसरमा रूपान्तरण गर्दै प्रतिभावान् खेलाडीको पहिचान, विकास र प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
प्रतियोगितालाई विद्यालय तहबाट प्रतिभा पहिचान गरी राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने महत्वपूर्ण आधारका रूपमा लिइएको आयोजकले जनाएको छ । प्रतियोगितामार्फत खेलाडीमा अनुशासन, नेतृत्व क्षमता, टिम भावना र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने लक्ष्य राखिएको छ । विशेषगरी अन्डर-१६ तहका खेलाडीको प्रतिभा पहिचान तथा छनोटलाई प्रतियोगिताको महत्वपूर्ण उद्देश्यका रूपमा अघि बढाइएको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने तथा सम्भावना देखाएका खेलाडीलाई थप प्रशिक्षण, मूल्यांकन तथा विकासको प्रक्रियामा समेटिने आयोजकले जनाएको छ ।
पहिचान तथा विकास गरिएका प्रतिभावान् खेलाडीबाट सक्षम अन्डर-१६ राष्ट्रिय टोली तयार गरी आगामी दक्षिण एसियाली खेलकुद ९साउथ एसियन गेम्स० मा नेपालको प्रतिनिधित्व गराउने लक्ष्यसमेत राखिएको छ । विद्यालयहरू खेलाडी उत्पादनका महत्वपूर्ण आधार भएकाले शिक्षा र खेलकुदलाई समानान्तर रूपमा अघि बढाउँदै विद्यालयस्तरमै गुणस्तरीय खेल वातावरण निर्माण गर्ने आयोजकको भनाइ छ । प्रतियोगिताले विद्यालय, प्रशिक्षक, खेलाडी तथा खेल क्षेत्रका सरोकारवालाबीच सहकार्य र समन्वय बढाउँदै नेपालको बास्केटबल विकासका लागि दीर्घकालीन आधार निर्माण गर्ने अपेक्षा गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij