Logo

२०८३, आश्विन २५ गते आइतवार

२०८३, आश्विन २५ गते आइतवार

दशैंको टिकट बुकिङ खुला भएसँगै टिकट बुकिङ गर्नेहरुको भीड बढ्यो

दशैंको टिकट बुकिङ खुला भएसँगै टिकट बुकिङ गर्नेहरुको भीड बढ्यो

  • 72
    SHARES
  • दशैंको टिकट बुकिङ खुला भएसँगै टिकट बुकिङ गर्नेहरुको भीड बढ्यो

    काठमाडौं । नेपालीको बडादशैंलाई लक्षित गर्दै सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला भएपछि काउन्टरहरुमा यात्रुको लाइन देखिन थालेको छ ।  नेपाल सरकारको निर्णय अनुसार नेपाल यातायात व्यवसायी विभागले सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेलगत्तै काठमाडौंका बस पाकहरुमा टिकट बुकिङ गर्नेहरुको भीड देखिएको हो । गोंगबुस्थित नयाँ बसपार्कमा बिहान ६ बजेदेखि नै यात्रुहरूले निरन्तर टिकट काटिरहेका छन् ।

    दसैँका लागि उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढ्न थालेपनि अघिल्लो वर्षको तुलनामा यस वर्ष यात्रुको संख्या केही कम हुने अनुमान गरिएको छ । बसपार्कमा यात्रुको चाप रहेपनि विगतका वर्षहरुमा जस्तो भीड भने छैन् । पश्चिम नेपाल बस व्यवसायी प्रालि काठमाडौं शाखा इन्चार्ज डिल्लीराज भुसालले शुक्रबार कार्यालय खुल्ने दिन भएकाले यात्रुको चाप तुलनात्मक रूपमा कम देखिएको बताए । उनले शनिबार र आइतबार भने यात्रुको चाप अझ बढ्ने अनुमान गरिएको बताएका हुन् । 

    उनले अघिल्लो वर्षको तुलनामा यस वर्ष यात्रुको संख्या कम हुने अनुमान गरे पनि पहिलो दिनमै यकिन तथ्यांक निकाल्न कठिन हुने बताए । आगामी दुई दिनमा यात्रुको वास्तविक चाप स्पष्ट हुने उनले बताए । उनले भने, ‘त्यस्तो धेरै चाप छैन । अफिसहरू खुल्ने दिन भएकाले पनि होला त्यस्तो चाप छैन । शनिबार र आइतबार चाप अझ बढ्छ जस्तो लाग्छ ।  अघिल्लो वर्षको तुलनामा यस वर्ष मान्छेहरू जानुहुन्छ जस्तो लागिरहेको छैन् । पहिलो दिनले ठ्याक्कै त्यो आँकडा निकाल्नलाई गाह्रो हुन्छ ।’

    यात्रुहरूको सुविधाका लागि टिकट अनलाइन र बसपार्कबाट प्रत्यक्ष रूपमा लिन सकिने व्यवस्था गरिएको बताएका छन् । उनले अनलाइनबाट आधा र बसपार्कमा आएर आधा यात्रुले टिकट लिने गरी व्यवस्थापन गरिएको बताए । भुषालका अनुसार यात्रुको चापअनुसार तीनदेखि चार जना कर्मचारी परिचालन गरेर टिकट बिक्री भइरहेको छ । आवश्यकताअनुसार थप सवारीसाधनको व्यवस्था गरिँदै गएको र आगामी दिनमा पनि यात्रुको चाप हेरेर गाडी थपिने उनले बताए । उनले गोंगबु बसपार्कभित्र सवारीसाधनको अभाव नरहेको बताए । बसपार्कभित्र अनधिकृत रूपमा टिकट बिक्री गर्ने वा यात्रुलाई अन्यत्र पठाउने अवस्था नरहेको र प्रहरी प्रशासनको निगरानीसमेत कडा रहेको उनले बताए । यात्रुको चाप कुन रुटमा बढी छ भन्ने विषय शुक्रबारदेखि स्पष्ट हुँदै जाने र सोहीअनुसार सवारीसाधन थपेर यात्रुलाई सहज यात्रा गराउने उनले जनाए ।

    यसैगरी, त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिका दुर्घटना तथा डायल इन्चार्जले दसैँमा घर फर्किने यात्रुको चाप बढे पनि विगतका वर्षको तुलनामा यसपटक दाङतर्फको यातायात व्यवस्थापन केही सहज र व्यवस्थित भएको बताए । उनका अनुसार विगतका वर्षमा लामो समयसम्म सडक तथा यातायात व्यवस्थापनमा समस्या हुने गरेपनि यसपटक छोटो अवधिमा यात्रुको चाप बढेकाले केही भीडभाड भए पनि यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुर्‍याउने व्यवस्था मिलाइएको छ । यात्रुलाई लाइनमा राख्न तथा व्यवस्थापनमा सहयोग पुर्‍याउन स्वयंसेवकसमेत परिचालन गरिएको छ ।

    लोत्से बहुउद्देश्यीय संस्थाका महाप्रबन्धक पंकज मल्लको निर्देशनअनुसार असोज २६ गतेदेखि दाङतर्फ जाने बसहरू दिउँसो १२ बजेदेखि ३ः३० बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाइएको उनले बताए । उनले दसैँको अवसरमा टिकटको भाडा वृद्धि नगरिएको जनाए । राज्यले तोकेको भाडादरभन्दा बढी रकम नलिएको भन्दै उनले यात्रुसँग तोकिएकोभन्दा एक रुपैयाँ पनि बढी नलिन यातायात व्यवसायी प्रतिबद्ध रहेको बताए । केही साताअघि आएको बाढीपहिरो तथा वर्षाका कारण सडक अवरुद्ध हुने र गाडी काठमाडौंसम्म आइपुग्न नसक्ने अवस्था सिर्जना भएपछि यातायात सञ्चालनमा समस्या भएको उनको भनाइ थियो ।

    अहिले मौसम सफा भएसँगै सडक तथा यातायात सञ्चालनमा सुधार आएको उनले बताए । उनका अनुसार अहिले दाङबाट छुटेका गाडीहरू बिहान करिब ६ बजे काठमाडौं आइपुगिरहेका छन् भने काठमाडौंबाट छुटेका गाडीहरू पनि निर्धारित समयमा गन्तव्यतर्फ पुगिरहेका छन् । उनले बाढीपहिरोका कारण यसअघि भएको ढिलाइको मुख्य कारण सडकको अवस्था रहेको छ । यात्रुको चापलाई ध्यानमा राखेर तत्काल नयाँ गाडीको ‘क्यु’ थप नगरिएको भए पनि आवश्यकता परे थप बस सञ्चालन गर्ने तयारी रहेको उनले जानकारी दिए । यात्रुको चाप अत्यधिक बढेमा संस्थाका पदाधिकारीसँग समन्वय गरी थप बस सञ्चालन गरिने उनले बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij