Logo

२०८३, कार्तिक १४ गते शुक्रवार

२०८३, कार्तिक १४ गते शुक्रवार

डा.सुनील शर्माले लिए चेपाङकी छोरीलाई निःशुल्क आईटी शिक्षा र रोजगारीको जिम्मेवारी

डा.सुनील शर्माले लिए चेपाङकी छोरीलाई निःशुल्क आईटी शिक्षा र रोजगारीको जिम्मेवारी

  • 84
    SHARES
  • डा.सुनील शर्माले लिए चेपाङकी छोरीलाई निःशुल्क आईटी शिक्षा र रोजगारीको जिम्मेवारी

    काठमाडौं । छोरीलाई उच्च शिक्षा पढाएर सक्षम बनाउने रहर थियो । तर, मिर्गौला प्रत्यारोपणपछि आफ्नै स्वास्थ्यसँग संघर्ष गरिरहेका रामकृष्ण चेपाङसँग छोरीको सपना पूरा गर्ने आर्थिक सामथ्र्य थिएन । चार सन्तानको भविष्यको चिन्ताले पिरोलिएका उनलाई कान्छी छोरी सीमाना चेपाङको पढाइ बीचमै रोकिने हो कि भन्ने चिन्ता थियो । यही कठिन परिस्थितिमा नेपाली कांग्रेसका नेता डा.सुनील कुमार शर्मासँग भएको भेटले सीमानाको भविष्यका लागि नयाँ ढोका खोलिदिएको छ ।

    पार्टीका तल्लो तहका नेता तथा कार्यकर्तासँग सम्बन्ध स्थापित गर्ने उद्देश्यले ‘ग्राउन्ड जिरो’ अभियानअन्तर्गत जिल्ला दौडाहामा रहेका डा।शर्मा मकवानपुर पुगेका बेला राक्सिराङ गाउँपालिका-८ का रामकृष्णसँग उनको भेट भयो । कुराकानीका क्रममा रामकृष्णले आर्थिक अवस्थाका कारण कान्छी छोरीलाई आईटी विषयमा उच्च शिक्षा पढाउन नसक्ने आफ्नो बाध्यता सुनाए। उनको कुरा सुनेपछि शर्माले सीमानालाई काठमाडौं ल्याएर पढाउने जिम्मेवारी लिने बताए । ‘डा.शर्मा काठमाडौंलबाट मकवानपुर आउनुभएको रहेछ । उहाँलाई भेट्ने मेरो धेरै पहिलेदेखिको इच्छा थियो । भगवान्ले आज भेट्ने मौका जुराइदिनुभयो,’ रामकृष्णले भने, ‘म गरिब परिवारको मान्छे हुँ । छोरीलाई आईटी पढाउने अवस्था थिएन । उहाँले छोरी पढाउने जिम्मा लिइदिनुभयो ।’

    शर्माले रामकृष्ण र सीमानालाई प्रत्यक्ष भेटेरै काठमाडौंमा आईटी तथा एआई विषयमा स्नातक तहको अध्ययन गर्ने व्यवस्था मिलाउने जानकारी दिए । टेक्सास कलेजमा अध्ययनको अवसर जुटाइदिने बताउँदै उनले भने, ‘सीमाना, हामी तपाईंलाई काठमाडौं लिएर जाँदैछौँ । टेक्सास कलेजमा आईटी पढ्नुहुन्छ । त्यहाँका प्रिन्सिपल भेषराज पोख्रेल मेरा गाउँले साथी पनि हुनुहुन्छ । तपाईंले आईटी र एआईमा स्नातक गर्नुहुन्छ ।’ अचानक खुलेको अवसरले सीमाना निकै खुसी भइन् । ‘एकदमै खुसी र रमाइलो लागिरहेको छ, धेरै धेरै धन्यवाद,’ उनले भनिन् । सीमानाको पढाइको व्यवस्था मिलाउने प्रतिबद्धतासँगै शर्माले उनलाई आत्मनिर्भर बन्ने बाटोसमेत देखाएका छन्। उनका अनुसार टेक्सास कलेजमा पूर्ण छात्रवृत्तिको व्यवस्था गरिनेछ ।

    करिब १० लाख २० हजार रुपैयाँ लाग्ने अध्ययन खर्चमध्ये सात लाख रुपैयाँ कलेजले बेहोर्ने र बाँकी तीन लाख २० हजार रुपैयाँ आफूहरूले व्यवस्था मिलाउने उनले बताए । पढाइसँगै काठमाडौं मेडिकल कलेजमा रोजगारीको व्यवस्था मिलाउने जिम्मेवारी पनि शर्माले लिएका छन् । ‘चार वर्षमा तपाईं आईटीको विशेषज्ञ बन्नुहुन्छ। अब जागिर खाँदै पढ्ने है त,’ शर्माले सीमानालाई हौसला दिँदै भने, ‘आईटी पढ्ने र स्नातकोत्तर गर्ने अनि आफूजस्तै आर्थिक कठिनाइमा रहेका बालबालिकाको भविष्य उज्यालो बनाउने ।’ उनले आफ्नो भविष्य निर्माणसँगै अरू बालबालिकाको जीवनमा पनि सकारात्मक परिवर्तन ल्याउने सोच राख्न सीमानालाई सुझाए ।

    मिर्गौला प्रत्यारोपणपछि आफ्नै उपचार र परिवारको जिम्मेवारी सम्हालिरहेका रामकृष्णका लागि छोरीको पढाइ र रोजगारीको व्यवस्था हुने खबर ठूलो राहत बनेको छ । आर्थिक बाध्यताले सीमित बनाएको सीमानाको सपनाले अब काठमाडौंमा नयाँ अवसर पाउने भएको छ । स्वास्थ्य र शिक्षालाई सामाजिक सेवासँग जोड्दै आएका शर्माले आफ्नो स्वामित्वमा रहेका काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजमार्फत असहाय, आदिवासी, विपन्न तथा दलित परिवारका एक हजारभन्दा बढी विद्यार्थीलाई छात्रवृत्तिमा अध्ययन गराएर चिकित्सक तथा स्वास्थ्य प्राविधिक बन्न सहयोग गरेको बताइएको छ ।

    सीमान्तकृत सन्थाल समुदायका दिनेश हास्दा र दलित समुदायका ओमप्रकाश विश्वकर्मा पनि उनको सहयोगमा अध्ययन गरेर चिकित्सक बनेका हुन् । सीमानाको कथा आर्थिक कठिनाइका बीच पनि ठूलो सपना देख्ने युवतीको संघर्षसँग जोडिएको छ। छात्रवृत्ति, रोजगारी र अध्ययनको अवसरले उनको यात्रा सहज बनाउन सक्छ। अब त्यो अवसरलाई उपलब्धिमा बदल्ने आधार भने उनको मिहिनेत, लगनशीलता र सिक्ने इच्छाशक्ति बन्नेछ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij