Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

मोतीराम भट्टको ‘दिनको पचास’ गजलको विश्लेषण

मोतीराम भट्टको ‘दिनको पचास’ गजलको विश्लेषण

  • 2.0K
    SHARES
  • मोतीराम भट्टको ‘दिनको पचास’ गजलको विश्लेषण

    मोतीराम भट्ट (वि.सं.१९२३-१९५३) द्वारा लिखित ‘दिनको पचास’ गजलको विश्लेषणका लागि आवश्यक सैद्धान्तिक अवधारणा तयार गरी सोहीअनुरूप अध्ययन, विश्लेषण र निष्कर्षण गरिएको छ ।

    images

    गजलको सैद्धान्तिक अवधारणा 

    साहित्यको अरू विधा (आख्यान, निबन्ध, नाटक) जस्तै गजल पनि परापूर्वक कालदेखि नै चल्दै आएको विधा हो । गजलको उद्गमस्थल ‘अरवी’ लाई मानिन्छ । अरवी भाषामा ‘ग’ को अर्थ ‘वाणी’ र ‘ज’ को अर्थ ‘को’ वा ‘सँग’ हुन्छ । साहित्यको हरेक विधाको आफ्नो आफ्नो स्वरूप हुन्छ । गजलको पनि पृथक् रूप छ ।

    गेयता संगीतसँग अन्योन्याश्रिता, कोमलता, सुकुमारता, अभिव्यक्ति कौशल, सूक्तिमयता, लघुता, सुक्ष्मता वा गहनता, भावसघनता, बिम्बमयता, प्रतीकात्मकता, अनुभूतिको तीव्रता, कल्पनाशीलता, लौकिक प्रेम, रोचक स्मृति, मनमोहक, शब्द विन्यास, चमत्कार प्रधानता, लालित्यपूर्ण वा सरसता, सम्प्रेष्णीयता, प्रत्येक शेरहरूमा विषयवस्तुको स्वतन्त्रता, जीवन सापेक्षा, प्रभावकारी प्रसङ्गको प्रस्तुति शिष्ट र शालिन भाषाको प्रयोग गजलमा विद्यमान विशेषताहरू हुन् । गजल हुनलाई यी कुराहरूको आवश्यकता छ । (डा.घनश्याम परिश्रमी,सैद्धान्तिक आलेख)

    गजल नेपाली साहित्यको माध्यामिक कालमा युवाकवि मोतीराम भट्टद्वारा भित्र्याइएको कविताको एक उपविधा हो ।  गजलको शाब्दिक अर्थ प्रेमिकासँगको कुराकानी, स्त्रीको, वाणी प्रेमिकाको विषयमा कुराकानी प्रणयवार्ता, यौवना नारीको वर्णन गर्नु प्रेमको भावना व्यक्त गर्नु हो ।

    यसरी गजलको खास अर्थ प्रेम नै हो । गजल भनेको प्रेमको समेटेर निश्चित लय र तालमा लेखिने काव्य गजल हो । गजल सुकोमल शब्द र हृदयस्पर्शी भावहरूको अभिव्यक्ति हो । गजलका थोरै शब्दहरू धेरै सुक्ष्म तथा गहन विषयवस्तुहरू प्रस्तुतिकरण हुनुपर्छ ।

    यिनै विशेषताहरूको विद्यमानताले गर्दा नै गजल आकर्षक एवम् मनमोहक बन्न सक्छ । गजल काव्यको एउटा स्वतन्त्र एवम् अति नै महत्त्वपूर्ण विधा हो ।  गजलमा सुकोमल र हृदयस्पर्शी भावहरूको अभिव्यक्ति कोमलकान्त पद र पदावलीका माध्ययमबाट रोचक ढङ्गले गरिन्छ । गजलका सेरहरूमा थोरैभन्दा थोरै शब्दहरूबाट धेरैभन्दा धेरै र अति सुक्ष्म  तथा मितव्ययिता अपनाएको हुन्छ ।

    गजल कोमल शब्दबाट बन्दछ र तिनबाट प्रतिपादित भाव अर्थ पनि कोमल नै हुनुपर्दछ । गजलमा गाली पनि मिठो र प्रिय भाषाले गर्न जान्नुपर्छ । लचकदार, कोमल र प्रवाहपूर्ण भाषा गजलले अपेक्षा गर्दछ । शब्दको कोमलता र अर्थको रोचकतापूर्ण तथा विचित्रता वा रङ्गीनमयता गजलको मुख्य विशेषता हुन् ।

    गजलको संगीतसँग अत्यन्त घनिष्ट सम्बन्ध रहेको छ । गजल लयबद्ध हुन्छ । कुनै कुनै छन्दमा बन्द हुन्छ । वास्तवमा संगीत गजलको गहना हो । गहना भएता पनि यसमा संगीतमाभन्दा शब्दको महत्व बढी हुन्छ । गजल सेरहरूको समाविष्ट रूप हो । जुन मतलादेखि मकता वा अन्तिम सेरसम्म एउटै बहरमा आवद्ध हुन्छ । इस्लामिक काव्यशास्त्रका शास्त्रीय नियम र मान्यताहरूलाई पालना गरेर संरचना गरिने हुँदा गजलको रूप पक्षमा परिष्कारवादको प्रभाव परेको छ । गजलका शेरहरूमा कलाको उकृष्टता र भावको उच्चताको सधैं अपेक्षित हुन्छ । अभिव्यक्ति कौशल तगज्जुल (चोटीलो र चमत्कारपूर्ण उक्ति) को यस विधामा विशेष महत्व रहन्छ । 

    गजल शीर्षकहीन हुन्छ । गजललाई शीर्षकमा बाँध्नु उचित मानिदैन । गजललाई अन्य विधाभन्दा फरक पार्ने गजलका तत्वहरू सेर, काफिया, रदिफ, मतला, मकता, तखल्लुस  र बहर हुन् ।

     दिनको ‘पचास गजल’ विश्लेषण

    प्रस्तुत गजल मोतीराम भट्ट (१९२३-१९५३) द्वारा रचित गजल हो । यस गजलमा प्रियसीको सम्झना गरी पवित्र प्रेमको भाव व्यक्त गरिएको छ । शृङ्गारिक भाव धारालाई आधार बनाएर गजल लेख्ने भट्टको ‘दिनको पचास’ गजल विप्रलम्भ शृङ्गारमा रचिएको गजल हो ।  यो गजल संगीत चन्द्रोदय (१९४४) संकलित नवौं गजल हो । यस गजलमा नायकले नायिकालाई सम्बोधन गर्दै प्रेमको आव्हान गरिएको छ । नायिकालाई पचास चोटी मात्र होइन हजार पटक सम्झाउनु परेको तर उनी नआएको प्रसङ्गबाट आरम्भ गरी अन्त्यमा मिलनको संकेत गरिएको छ ।

    यसमा हरि र मोती तखल्लुको प्रयोग गरिएको छ । यसमा रदिफको प्रयोग नगरेर काफियाको मात्र प्रयोग गरिएको छ । मतलामा पनि काफियाको मात्र प्रयोग भएको छ । यस गजलमा रदिफको उपयोग गरिएको छैन । यसमा अन्त्यानुप्रास र आन्तरिक अनुप्रासको राम्रो योजना गरिएको पाइन्छ ।

    गजलको आरम्भ नै गजलमा म पात्रको नायिकाप्रतिको सम्बोधनबाट थालिएको छ । नायिकाको सम्मुख नायक भएको स्थिति गजलको सुरुका सेरहरूले देखाएका छन् भने तेस्रो, चौंथो र पाँचौं सेरमा नायिकाको उपस्थिति बिना नै म पात्रले नायिकाको उमेर, स्वभाव र वेषभूषाको वर्णन गरेको छ । छैटौं सेरमा पुनः ‘म’ पात्रको अभिव्यक्ति नायिकासँग सम्बोधित हुँदै गजल अगाडि बढ्छ ।

    यस गजलमा तखल्लुसको प्रयोग भएको पाइन्छ । बीस अक्षरको लय विधान भएको यस गजलमा दश अक्षरमा मध्यविश्रामको योजना छ । स-सना प्रयोग सँगसँगै यस गजलमा हुकुम, जुलुम, (अरवी) मिस्सी (फारसी) मिजास तथा मनसुव जस्ता आगन्तु शब्दको प्रयोग भएको छ ।

    गजलको पहिलो सेरमा नायकले आफूलाई गरिबका रूपमा उभ्याएर आर्थिक असमानताको झलक दिएको छ । एकातिर आर्थिक कारणले नायिकालाई घरमा नआउन नायिकले अनुरोध गरेको देखिन्छ । अर्कातिर प्रेमको विकासमा आर्थिक पक्षले छेक्दैन भन्ने भाव पनि रहेको छ ।

    यस गजलमा नायकको चेतना, अचेतना, मनको भाव अन्योलग्रस्त छ । द्विविधापूर्ण प्रेम तरङ्गको अभिव्यक्ति यसमा छ । नायिकासँगको भेटको मनोरम वर्णन पनि छ भने वियोगको चिन्ताग्रस्त स्थिति पनि गजलमा छ । यहाँ नायकले आफ्नो आर्थिक कारण घरमा नआउन अनुरोध गरेको छ तर नायिकाको सुन्दरता र प्रेम शक्तिको अचेतन रूपमा चुम्बकले भलैँ ऊ नायिकाप्रति टाँसिएको देखिन्छ । यसरी नायक नायिकालाई ‘आ भनौं कि ‘जा’ भनौँ भन्ने दोधारमा देखिएको छ । यसरी पहिलो सेरको अभिव्यक्तिले नायकको घर नायिकाको लागि निषेध गएिको पनि देखिन्छ । हजारपटक आउन आग्रह गर्दा नायिकाको प्रवेश नभएको पनि देखिन्छ ।

    समग्र गजल अध्ययन गर्दा नाकिया आफूकहाँ नआएको कारण नायक विक्षिप्त र चिन्तित हुने, प्रेमातुरले पिरोलिएको देखिन्छ  । आफ्नो घरमा आउन विन्ति गर्ने नायक केही समयपछि नायिकाविना आफू बाँच्न नसक्ने सन्देशपत्र पनि पठाउँछ ।  तिमीले बिर्से पनि मैले सम्झिरहेको छु  भन्ने भाव गजलमा देखिन्छ । वास्तवमा यस गजलमा प्रेम गर्ने कि नगर्ने दोधार मनस्थितिको चित्रण नै प्रमुख भावभूमि हो ।

    गजलमा विरोधाभाषपूर्ण अभिव्यक्तिहरू पनि आएका छन् । आठौं सेरमा नायिकाले पर्ख-पर्ख भनि छकाएको पनि देखिन्छ भने यस गजलमा नायिकाको  वेषभूषा, खानपिन, स्वभावको अत्यन्त प्रभावशाली ढङ्गले संक्षिप्ततामा वर्णन र व्याख्या गर्ने भट्टले नायिकाको यौनच्छा र रतिरागको विश्लेषण गरेका छन् ।

    यसरी उनको गजलको एक मिसराले नै नायिकाको शृङ्गारिक चेतनको ढोका खोलेको छ । नायकले निकै विनम्रतापूर्वक आग्रह गर्दा पनि नायिका पटक्कै नपग्लिएको हुनाले नै म पात्र नायिकालाई सम्झदै भन्छन्-

    वय १६ को मन ६० को छ र पो गजब छ ति प्यारीको । 

    यहाँ नायिकाको उमेर १६ वर्षे छ तर मन भने ६० की जस्तो परिवक्क र यौनच्छा नै प्रकट नगर्ने शिथिल र निस्क्रीय छ भन्ने आशय व्यक्त भएको छ । उमेर अनुसारको स्वभाव नभएकी नायिकाको चरित्र गजलमा उतारिएको छ । यसरी एकातिर विप्रलम्भ शृङ्गारको चेतना उल्र्लीएको छ भने अर्कोतिर तखल्लुसको प्रयोग भएको अन्तिम सेरमा  संयोग शृङ्गारको सुखद् क्षणको मार्मिक अभिव्यक्ति पाइन्छ । 

    अघि जो भयो उ त भैगयो तर फेरी मोति नलाउनु ।।

    यसमा नायक नायिकाको भेट भैसकेको र मोतीको माला चुडिएको वा पोतेचुरा केही फुटिसकेको या अन्य केही घटना भईसकेको जस्ते देखिन्छ । यस मिसरामा स्वयम् गजलकार आफ्नो नाम समावेशसँगै गजलको भाव सन्दर्भलाई शृङ्गारिक भावधारामा प्रभाहित गर्न सफल भएको देखिन्छ ।

    यसरी प्रेमको निष्ठूरताबाट नायकका मनमा उब्जिएको दीर्घ निराशको विरहपूर्ण शृङ्गारिक भावलाई यस गजलले सफलतापूर्वक अभिव्यक्त गरेको छ । नायिकासँग विगतमा भएका सम्पूर्ण कुराहरू विर्सेर अन्त्यमा नायकले माया गरौं भन्ने आग्रहपूर्ण अभिव्यक्ति नै यस गजलको मूलभाव हो ।

    निष्कर्ष

    यसरी निष्कर्षमा हेर्दा मोतीराम भट्टको यो गजल उकृष्ट गजलको रूपमा रहेको छ । शृङ्गारिक भावधारालाई आधार बनाएर गजल लेख्ने मोतीराम भट्टको ‘दिनको पचास’ गजल विप्रलम्भ शृङ्गारमा रचिएको गजल हो । तखल्लुसको प्रयोग भएको र अन्तिम सेरमा संयोग शृङ्गारको सुखद् क्षणको मार्मिक अभिव्यक्ति छ । गजलमा रदिफको उपयोग छैन भने काफियाको प्रयोग भएको छ । मुतफाइलुन रुक्नको प्रयोग गजल अंशमा प्रथक पुरुष कथन ढाँचामा प्रयोग भएको छ । यसरी यो गजल उकृष्ट गजलको रूपमा रहेको छ ।  

    दिनको पचास

    मोतीराम भट्ट

    दिनको पचास त के हजार पटक् कस्तो समझाउनू,
    म गरिबका घरमा हरे, तिमिले यसोरी न आउनू ।।

    रिसमा थियौ कि खुसी थियौ, म त केही जान्दिन के थियौ,
    कि यसो थियौ कि, कि उसो थियौ, मनमा कसोरि बुझाउनू ।।

    नत आ भनू, नत जा भनू, म यसो भनू कि उसो भनू,
    तिनिको मिजाज म के भनू, कतिसम्म विन्ति चढाउनू ।।

    बय सो¥हको मन साठिको छ र पो, गजब् छ ति प्यारिको,
    मुखको खाव छ चन्द्रको, ननिको छ मिस्सि लगाउनू ।।

    मनसूब पुग्नु परै रहोस्, दरसन् पनी कठिन् जहाँ,
    अब बाचनेछु मता कहाँ, तिनिलाई यति सुनाउनू ।।

    तिमि विर्सि हाल त क्यै जनी मत संझदोछु अझै पनी,
    मुख भित्र पान चपाउनू, अलि हाँसि हाँसि हँसाउनू ।।

    मणि हो भनू त न झल्कने, बिजुली भनू त न चंकने,
    अइना भनू त  न टल्कने, उपमा कसोरी जुराउनू ।।

    तिमि पर्ख पर्ख भनी भनी कन जानु, फेरि न अनउनू,
    खपि सक्नु छैन मलाइ ता, तिमिले यसोरि छकाउनू ।।

    सुन है सबै हरिको हुकुम्, म हुकुम् भनू कि भनू जुलुम्,
    अघि जो भयो उ त भैगयो तर फेरि मोति न लाउनू ।।

             (सं.च. गजल–६)

    [लेखक नेपाली साहित्यमा स्नातकोत्तर हुनुहुन्छ ।] 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology