वेबटिभी खबर
काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा लगातार दोस्रो जित हात पारेको छ । लिओनल मेस्सीलाई अनुबन्ध गरेपछि पहिलो खेल खेलेको पीएसजीले स्ट्रासबर्गलाई ४-२ ले पराजित गरेको हो ।
यद्यपि मेस्सी भने खेलेका थिएनन् । घरेलु मैदान पार्क डे प्रिन्समा भएको खेलमा पीएसजीका लागि माउरो इकार्कीले तेस्रो मिनेटमै गोल गरेका थिए ।
यस्तै किलिएन एमबाप्पेले २५ औं, युलियन ड्राक्सलरले २७ औं र पाब्लो साराबियाले ८६औं मिनेटमा गोल गरे । स्ट्रासबर्गका लागि केभिन गेमेइरियोले ५३ औं र लुडोभिक अयोर्कले ६४ औं मिनेटमा गोल गरे ।
स्ट्रासबर्गका अलेक्जान्डर जिकु ८१औं मिनेटमा दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएका थिए । लगातार दोस्रो जितपछि ६ अंकसहित पीएसजी शीर्ष स्थानमा छ ।
साविक विजेता लिल भने नाइसँग ४-० ले पराजित भएको छ । नाइसका लागि क्यास्पर डलबर्गले पहिलो र ६४ औं मिनेटमा गोल गरे ।
यस्तै हिचेम बोउदाइले पाँचौ र अमिन गौइरीले पहिलो हाफको इन्जुरी टाइममा गोल गरे । नाइस ४ अंकसहित दोस्रो स्थानमा छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij