वेबटिभी खबर
बैतडी । भारतसँग सीमा जोडिएको बैतडी जिल्लाका विद्यालय खुल्न थालेका छन् । कोरोनाका सक्रिय संक्रमित नभएका स्थानीय तहहरुले विद्यालय सञ्चालन गरेका हुन् । मेलौली नगपालिकामा गत साउन १० गतेदेखि विद्यालय खुलेका हुन् भने शिवनाथ गाउँपालिकाले भदौ २ गते बुधबारदेखि विद्यालय पुनः सञ्चालन गर्ने जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार यी दुवै स्थानीय तहमा अहिले एकजना पनि संक्रमित छैनन् ।
शिवनाथ गाउँपालिकामा ३५ वटा सामुदायिक विद्यालय छन् । शिवनाथ विद्यालय पुनः सञ्चालन गर्ने जिल्लाको दोस्रो स्थानीय तह बन्ने भएको छ । । मेलौलीमा कोरोना जोखिम भएका क्षेत्रमा सामुदायिक कक्षा र टोल कक्षा सञ्चालन भइरहेका र जोखिम नभएका ठाउँमा भौतिक उपस्थितिमै कक्षा सञ्चालन भइरहेका जनाइएको छ । मेलौलीमा ४६ वटा सामुदायिक विद्यालय छन् ।
जिल्लाको पाटन नगरपालिका–९ स्थित ज्ञानेश्वर मावि खोड्पेले टोल शिक्षण सिकाइ सञ्चालनमा ल्याएको छ । कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि विद्यालयको सेवा क्षेत्रमा रहेका टोलमा कक्षा सञ्चालन गरिएको जनाइएको छ । बैतडीका अन्य स्थानीय तहले पनि विद्यालय पुनः सञ्चालनको तयारी गरिरहेको शिक्षा विकास तथा समन्वय समिति बैतडीका प्रमुख नरेन्द्र अवस्थीले बताए ।
बैतडी जिल्लामा अहिले जम्मा २८ जना सक्रिय संक्रमित छन् । सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा २० जना, पाटन नगरपालिकामा दुई, पुर्चौंडी नगरपालिकामा दुई, सिगास गाउँपालिकामा दुई, दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् । कोरोनाकै कारण बैतडीमा हालसम्म १८ जनाको मृत्यु भइसकेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij