वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेले कारबाही गरेका पार्टीका १४ सांसद्लाई संसद् सचिवालयले पदमुक्त गरेको सुचना नदिएपछि एमालेले बल प्रयोग गर्ने चेतावनी दिएको छ । सांसदलाई पदमुक्त गरी सुचना निकाल्न दबाब दिन शुक्रबार सिंहदरबारस्थित सभामुख अग्नि सापकोटाको कार्यकक्षमा पुगेका एमाले सांसद्लाई भेट्न सभामुख नआएपछि उनीहरूले सभामुख भागेको आरोप लगाएका छन् ।
‘हामीले आज झण्डै दुई घण्टा पर्खियौं तर उहाँ आउनु भएन, यसबाट हामीलाई सभामुख भागेको आभाष भएको छ,’ एमाले सांसद् तथा संसदीय दलकी सचेतक शान्ता चौधरीले भनिन् । एमाले एकताको विवादलाई सुल्झाउनुको साटो नयाँ दल खोलेर एमाले विभाजन गरेको भन्दै वरिष्ठ नेता माधव नेपालसहित १४ सांसद्लाई १ भदौमा बसेको एमाले संसदीय दलको बैठकले कारबाही गरी सो पत्र संसद् सचिवालयमा पठाइसकेको थियो ।
तर संसद् सचिवालयलाई सो पत्रमाथि आवश्यक कारबाही अघि बढाउन सभामुख सापकोटाले भूमिका नखेलेको भन्दै बिहीबार पनि एमालेका सांसद् महेश बस्नेत, चौधरी, प्रमुख सचेतक विशाल भट्टराईलगायतले सभामुखलाई भेटेका थिए ।
यही विषयमा सभामुखको ध्यानाकर्षण गराउन एमाले सांसद्हरू सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेका थिए । ‘अहिले म अर्कै काममा व्यस्त छु । अहिले सिंहदरबार आउन सक्दिनँ,’ सापकोटाको भनाइ उद्धृत गर्दै चौधरीले भनिन् ।
सर्वोच्च अदालतको फैसलाले नेकपाबाट एमले र माओवादी ब्यूतिँदा एमालेमा रहेका माओवादी सांसद्लाई २४ घण्टाभित्रै सभामुखले पदमुक्त गरेको जानकारी गराएको तर अहिले एमालेले आफ्नै सांसद्लाई कारबाही गर्दा सभामुख मौन रहेर सभामुखले राजनीतिक स्वार्थ देखाएको संस्थापन एमाले पक्षीय सांसद्ले आरोप लगाएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij