धनगढी– धमाधम केन्द्रदेखि प्रदेशसम्म सत्ता रोहण गरिरहेको नेपाली कांग्रेसले सुदुरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्ने भएको छ। नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी सम्मिलित गठबन्धनबीच प्रदेश सरकारको नेतृत्वका विषयमा सहमति जुटेपछि कांग्रेसले मुख्यमन्त्री पाउने भएको हो।
सरकारको नेतृत्व कांग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावलले गर्ने सहमति भएको छ। माओवादीबाट सरकारको नेतृत्व गर्दै आएका मुख्यमन्त्री त्रिलोचन भट्टले भदौ महिनाभित्र पदबाट राजीनामा दिनेछन्।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता रावलले सरकार गठनका लागि छलफल भइरहेको बताएका छन्। नेकपा माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य वीरमान चौधरीको नेतृत्वमा सरकारमा सहभागी हुने बताइएको छ। स्रोतका अनुसार अध्यक्ष दाहालले वीरमानलाई आश्वस्त पारिसकेका छन्।
प्रदेश १ र ३ मा नेकपा एकीकृत समाजवादी, प्रदेश २ मा जनता समाजवादी, लुम्बिनी र कर्णाली प्रदेशमा माओवादी केन्द्र तथा गण्डकी र सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसलाई सरकारको नेतृत्व गर्न दिने चारदलीय गठबन्धनको सहमतिअनुसार सुदूरपश्चिममा नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्न पाउन लागेको बताइएको छ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij