वेबटिभी खबर
काठमाडौं । माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री वर्षमान पुनले प्रतिनिधिसभा विघटन गर्ने र त्यो उचित भन्ने एमालेका अध्यक्ष केपी शर्मा ओली र उनी पक्षका सांसदलाई संसदमा बोल्न र बस्न लाज हुनुपर्ने बताएका छन् ।
भक्तपुरमा आयोजित कार्यक्रमा पुनले दुई पटक सम्म प्रतिनिधिसभाको हत्या गरेका ओली र उनका समर्थक सांसदलाई प्रश्न गरे, 'तपाईहरुलाई संसदमा बस्न र बोल्न लाज लाग्दैन ?'
माओवादी भातृ संगठन वाइसिएलको सूर्यविनायक नगर भेलालाई शनिबार सम्बोधन गर्दै नेता पुनले संसद बिघटन गरी आफैले आफूलाई मारेका एमाले सांसदले नयाँ निर्वाचनबाट निर्वाचित नहुँदासम्म संसद सदस्य हुनु लाजमर्दाे विषय भएको बताए ।
उनले विघटनको पक्षमा रहेकाहरुलाई तुरुन्तै पद त्याग गर्न र तलव भत्ता नलिने घोषणा गरी राजनीतिक नैतिकता प्रदर्शन गर्न आग्रह गरे ।
'हामीले ब्युँताएको संसदमा ठुल्ठुला कुरा गरी हामीलाई नै उपदेश दिने कहाँको नैतिकता हो ?,' उनले भने, 'दुई पटक विघटन गरेको संसद पुनर्स्थापना भएपछि राजीनामा दिएर नैतिकता देखाउनु पर्ने हैन ?'
जनताको सेवक नभइ मालिक बन्न खोज्दा ओली प्रवृत्ती पराजित बनेको र यसलाई राजनीतिमा पाठको रुपमा सबैले ग्रहण गर्नुपर्ने उल्लेख गरे ।
'जनप्रतिनिधि राजा, रानी बन्न खोजे त्यो दुई दिन पनि टिक्दैन,' उनले भने, 'सामन्ती सोच, व्यक्तिवादी चिन्तन, दम्भ र घमण्डले संघमा दुई तिहाइ बहुमतसहित सरकारको नेतृत्व गरेका ओली अहिले प्रमुख प्रतिपक्षी नेता समेत नरहने स्थितिमा आइपुगेका छन् ।'
युवाको क्रान्तिकारी बिचार र जोशले मात्र पार्टी, समाज र देश समृद्ध बन्ने बताउदै उनले युवाहरु राजनीतिमा अगाडी आउनुपर्ने प्रष्ट पारे । देशैभर युवाहरुको आकर्षण माओवादी केन्द्रमा देखिएको दावी गर्दै उनले आगामी निर्वाचनमा पार्टीले पहिलाे स्थान प्राप्त गर्नेसमेत घोषणा गरे ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दिलिप प्रजापतिले भक्तपुरमा पार्टीका अध्यक्ष नै युवा रहेको बताउँदै पार्टीमा युवाहरुलाई उचित जिम्मेवारी दिइने प्रतिवद्धता जनाए ।
वाइसिएल नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले सबै युवालाई वाइसिएल बनाउनुपर्ने धारणा व्यक्त गरे ।
वाइसिएललाई नजिस्काउन चेतावनी दिँदै उनले भने, 'हामी हतियार समाएर मात्र होइन, बनाएर र पड्काएर आएका हौँ, हामीलाई हेपेर कसैले समाजमा वा राजनीतिमा जे पनि गर्न सकिन्छ भन्ने सोचे त्यो सह्य हुँदैन ।'
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij