Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

एमालेभित्र पूर्वमाओवादी ‘पाँच पाण्डव’को भविष्य 

एमालेभित्र पूर्वमाओवादी ‘पाँच पाण्डव’को भविष्य 

  • 2.0K
    SHARES
  • एमालेभित्र पूर्वमाओवादी ‘पाँच पाण्डव’को भविष्य 

    काठमाडौं । अहिले सम्मानजनक अवस्थामा एमालेभित्र रहेका पूर्वमाओवादी केन्द्रका नेताहरूले आगामी दिनमा पनि यस्तै व्यवहारको निरन्तरमा पाउनेमा शंशय देखिएको छ ।

    images

    ओली नेतृत्व सरकारको मन्त्रिपरिषद्मा रहेका पूर्वमाओवादी केन्द्रका पाँच सारथी अहिले एमालेको रथ तानिरहेका मात्रै छैनन् २३ गते सर्वोच्चको फैसलाले बलियो बनेका ओलीको आधारखम्बा पनि बनेका छन् ।

    बुधबारमात्रै एमालेवृत्तले छलफल गर्दै गृहमन्त्री रामबहादुर थापा (बादल)लाई पार्टीको उपाध्यक्ष बनाउने चर्चा बाहिरिएपछि अरू चार नेताले पनि यस्तै सम्मानजनक भूमिकाको अपेक्षा गरेका छन् ।

    नेकपालाई विभाजन गराएको सर्वाेच्च अदालतको आदेशपछि ०७५ जेठ ३ मा बनेको साविक नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग अंशबन्ड गरेका ओलीले ती चार नेतालाई पनि ‘सम्मानजनक’ व्यवहार गर्ने पक्का छ ।

    तर, आफ्ना विश्वासपात्र ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल, विष्णु रिमालजस्ता पात्रका अगाडि पूर्वमाओवादीको भान्साको व्यञ्जन खाएका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र मणि थापालाई ओलीले कहिलेसम्म काखी च्याप्लान् भन्ने प्रश्न पनि एमाले वृत्तमा अनुत्तरित छ ।

    ‘अहिले केही समय ओलीले ती नेतालाई सम्मानजनक व्यवहार नै गर्छन् । किनकि, ओलीले आफ्नो सरकार र एमालेलाई बलियो देखाउन उनीहरूको साथ ओलीलाई आवश्यक छ,’ राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटर टिप्पणी गर्छन्, ‘जब ओलीको अपेक्षामा उनीहरूको उपदेयता धिमा बन्न थाल्छ, तर एमाले वृत्तले उनीहरूलाई अर्घेलो व्यवहार सुरु गरिहाल्छ, यसमा कुनै शंका छैन ।’

    एमालेभित्र पाँच पाण्डवको भूमिका

    ओली नेतृत्वको सरकारमा रहेका पूर्वमाओवादीका पाँचै नेता प्रचण्डका विश्वास पात्र हुन् । ओली नेतृत्वको सरकारले पुस ५ गते पार्टीलाई जानकारी नै नदिई प्रतिनिधिसभा विघटन गरेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्यसको विरोधमा उभिए । पूर्वएमालेका माधवकुमार नेपाल र झलनाथ खनालजस्ता नेता पनि ओलीविरुद्ध उभिए । पूर्वएमालेका मन्त्रीहरु योगेश भट्टराई र घनश्याम भुषालले प्रतिनिधिसभा विघटनको विरोध गर्दै राजनीनामा दिए । प्रचण्ड निकटका यी पाँच नेताले भने ओलीको साथ छाडेनन् । 

    अझ रोचक त के छ भने नेकपाको नाम विवादमा ऋषिराम कट्टेलले दायर गरेको रिटमा २३ फागुनमा सर्वोच्चले नेकपाको आधिकारिकता ओली र प्रचण्डमा नै नरहेको आदेश दियो । सर्वोच्चको आदेले एमाले र माओवादी केन्द्र एकिकरण भएर बनेको नेकपालाई खारेज गर्दै दुबै दललाई पूर्ववत् अवस्थामा फर्काएको थियो । त्यस्तो हुँदा पनि प्रचण्ड निकट मानिने पूर्वमाओवादीका यी नेता भने एमालेकै खम्बा बनेर उभिए ।

    भित्री पाटो जे भए पनि आफू बलियो हुँदा प्रतिबन्ध लगाउने र सरकार कमजोर भएको अवस्थामा सहमति गर्दै ‘विन विन’को सम्बन्ध बनाउन विप्लव समूहसँग सम्झौतामा पुग्ने ओलीले जस्तो रणनीति लिए, त्यस्तै रणनीति प्रचण्डनिकट यी नेतासँग ओलीले लिएको राजनीतिक विश्लेषक पिटरको मत छ ।

    एमालेको उपाध्यक्ष बादललाई बनाउने चर्चासँगै एमालेका महासचिव ईश्वर पोखरेलको बरियता घट्ने देखिएको छ ।

    पूर्वमाओवादीबाट एमालेमा आइपुगेका बाँकी चार नेताले एमालेमा कस्तो जिम्मेवारी पाउने हुन् यसको आकलन अहिले नै गर्न नसकिने बताउँछन् राजनतिक विश्लेषक श्याम श्रेष्ठ ।

    ‘पूर्वमाओवादीबाट एमालेमा बस्ने भएका नेताको भूमिका र जिम्मेवारी कस्तो रहला भनेर अहिल्यै आकलन गर्न सकिँदैन । किनकि, आफ्नो शक्तिका लागि प्रयोग गर्ने र अभीष्ट पूरा गरेपछि थाङ्नामा सुताउने प्रवृत्ति ओलीमा छ,’ श्रेष्ठले भने, ‘विप्लवसँग उनले गरेको सहमति पनि यसकै रूपमा बुझ्न सकिन्छ । आफूलाई बलियो देखाउन र एमालेभित्र माओवादीको हिस्सा समेट्दै प्रचण्डलाई कमजोर सावित गर्न ओलीले यी दुई प्रयोग गरेका हुन् ।’

    ‘सम्मानजनक व्यवहार हुन्छ’

    अहिले एमालेको छविलाई सबल देखाउन पनि राजनीतिक संस्कारको भाष्य एमाले खेमाकै नेताहरूले बढी प्रयोग गरिरहेका छन् । २३ गते सर्वोच्चको फैसला आएपछि पूर्वएमालेका नेपाल-खनालसहित सबै नेताहरू पुरानै घरमा फर्केने भइसकेका छन् ।

    हिजोमात्र वानेश्वरमा नेपाल समूहका ‘केन्द्रीय समिति सदस्य’हरूको बैठक बस्दै एमालेलाई बलियो बनाउनेबारे निष्कर्ष निकालिएको नेपाल खेमाका नेता रघुजी पन्तले बताइसके ।

    ओली खेमाले सम्मानजनक व्यवहारको अभिव्यक्ति दिइरहँदा राजनीतिक विश्लेषकहरूले ठम्याएको ओलीमा निहित ‘युज एण्ड थ्रो’ प्रवृत्तिको पुनरावृत्तिको सिकार पूर्वमाओवादीबाट नेकपामा रहेका पाँच नेताले कुन मोडमा कहिले सामना गर्नुपर्ने हो त्यो आगामी राजनीतिक परिघटनाले नै देखाउँदै जानेछ । 

    कमजोर अवस्थामा प्रचण्ड 

    जनयुद्धका सहयात्री र सशस्त्र विद्रोहका कमाण्डर रामबहादुर थापा (बादल) प्रचण्डका विश्वास पात्रमा गनिन्थे । प्रचण्डका विश्वास पात्र नै अहिले ओलीको पकडमा रहनुले माओवादी केन्द्र कमजोर रहेको त देखाउँछ नै प्रचण्डलाई आन्तरिक आड भरोसाको समेत कमी देखिन्छ । 

    अहिले मन्त्री रहेका पूर्वमाओवादी नेताहरू भोलि आफ्नो पद तलमाथि पर्दा पनि यतै रहन्छन वा प्रचण्डसँग जोडिन पुग्छन भन्ने प्रश्न भने कायम छ । फरक राजनीतिक संस्कारबाट आएका माओवादी नेतालाई ओलीले राम्रै व्यवहार गर्नेमा शंका रहेको बताउँछन् राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटर ।

    ‘पहिले मालेबाट एमालेमा आएको नेता त ओलीले अहिले अर्घेलो व्यवहार गरिरहेको बताउँछन् भने फरक पृष्ठभूमिबाट आएका माओवादी नेतालाई ओलीले सम्मानजनक व्यवहार गर्छन् भन्न सकिँदैन,’ पिटरले भने, ‘एमालेभित्र ती नेताले जब कार्यकारी भूमिका खोज्न थाल्छन् तर उनीहरूलाई एमालेका ‘खाँटी’ नेताहरूले अर्घेल्याइँ गरिहाल्छन् ।’

    माओवादी नेताहरूको निकट विगतलाई हेर्दा उनीहरूमा विचार र सिद्धान्तभन्दा कुर्सीका लागि बढी चासो राख्ने प्रवृत्ति देखिन्छ । पूर्वमाओवादी केन्द्रका नेताहरूको यही प्रवृत्तिले पनि ओलीले उनीहरूलाई एमालेसहित सरकारमा समेट्न सजिलो भएको हो ।

    ओलीले पूर्वमाओवादी केन्द्रका नेताहरूलाई अहिले राजनीतिक जित हासिल गर्ने हतियारको रूपमा प्रयोग गरे पनि, उनीहरूको उपदेयता सकिएपछि ओलीले उनीहरूलाई ध्यान दिन छोड्ने पिटर बताउँछन् ।

    बादलको विगत हेर्दा पनि पहिला प्रचण्डलाई छाडेर मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) मा गएर महासचिव बनेका उनी केही वर्षमै पुनः प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा आएका थिए । 

    यस्तै टोपबहादुर रायमाझी र प्रभु साहको विगत पनि स्थिर देखिँदैन । एकीकृत माओवादीमा छँदा डा.बाबुराम भट्टराईका ‘दाहिने हात’ मानिने रायमाझी र साह ०७२ मा जब डा.भट्टराईले माओवादी परित्याग गरेपछि उनलाई छाडेर प्रचण्डसँग निकट भए । 

    अहिले एमालेमा पुगेका लेखराज भट्ट एकीकृत माओवादीकालमा प्रचण्डका विश्वास पात्र हुन् । यी नेताहरू अहिले बहालवाला मन्त्री छन् । भोलि पदविहीन भएको अवस्थामा एमालेभित्र पूर्वमाओवादी गुट जन्मिने सम्भावना उत्तिकै छ ।

    ओली अहिले बादल, रायमाझी, भट्ट, साह र थापाको साथले झन् बलियो अवस्थामा छन् । भोलि यी मन्त्रीहरू पदविहीन हुने अवस्थामा प्रचण्डतिर आकर्षित भए भने पनि ओलीलाई घाटा देखिँदैन ।

    किनकी, विप्लव र सिके राउतलाई मुलधारको राजनीतिमा ल्याएका ओलीसँग यी कार्यको जस बाँकी नै रहने हुँदा पूर्वमाओवादी कित्ताका नेताले छोडे पनि एमालेमा ओली बलियो अवस्थामा रहन्छन् ।

    संसदीय अंकगणितअनुसार नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र पूर्वमाओवादीको सरकार बन्ने सम्भावना पनि छ । त्यस्तो अवस्थामा प्रचण्ड सो सरकारको कार्यकारी भूमिकामा रहन्छन्, यही अवस्थामा ओलीतर्फ रहेका ती नेतालाई आफूतिर आकर्षित गर्ने सम्भावना पनि देखिन्छ । 
      

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology