एजेन्सी – लन्डन डर्बीमा चेल्सीले आर्सनललाई हराएको छ। चेल्सीमा दोस्रोपटक डेब्यु गरेका बेल्जियन फरवार्ड रोमेलु लुकाकु र रिस जेम्सले गोल गरेपछि चेल्सीले आर्सनललाई हराएको हो।
आर्सनललाई उसकै मैदानमा २–० ले चेल्सीको अभियानमा खेलको १५औं मिनेटमा लुकाकुले पहिलो गोल गरेका थिए। यसै समरमा ९८ मिलियन पाउन्डमा इटालियन च्याम्पियन इन्टर मिलानबाट चेल्सी आएका लुकाकुले माटियो कोभासिस हुदै रिस जेम्सबाट आएको पासलाई सिक्स यार्ड बक्सभित्रबाट सहजै फिनिस गरेका थिए ।
३५औं मिनेटमा रिस जेम्सले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । त्यसपछि दुवै टोलीले गोल गर्ने प्रयास गरेपनि सफल हुन सकेनन्। जसका कारण चेल्सीले जित हात पार्यो।
नयाँ सिजनमा चेल्सीको यो लगातार दोस्रो जित हो । पहिलो खेलमा चेल्सीले क्रिस्टल प्यालेसलाई ३–० ले पराजित गरेको थियो । लगातार दोस्रो जितसँगै चेल्सी २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान ६ अंक नै रहेपनि लिभरपुल, ब्राइटन र टोटेनहम हटस्पर गोल अन्तरमा पछि छन् । लगातार दोस्रो हार बेहोरेको आर्सनल अंकविहीन हुदै पुछारमा छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij