रेश्मा सिंह
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणको दोस्रो लहरकाे प्रभाव गत बैशाखमा उच्च विन्दुमा पुगेको थियो ।
छिमेकी राष्ट्र भारतमा जुन महिनामा कोभिड–१९ संक्रमण उच्च विन्दुमा पुगेको थियो । दाेस्राे लहरकै प्रभावका कारणा भारत विश्वमा सबैभन्दा बढी संक्रमित मुलुकमध्ये अमेरिकापछि दोस्रोमा पर्न गयाे ।
भारतको राजधानी दिल्ली संक्रमणबाट अस्तव्यस्त हुने सहर बनेकाे थियाे । संक्रमणको दोस्रो लहरले दिल्लीमा भयावह स्थिति बनायो । करिब दुई करोड जनसंख्या भएको दिल्लीमा करिब १४ लाख मानिसमा संक्रमण पुष्टि भइसकेकाे छ ।
अहिले भारतमा संक्रमणमा केही कमी आएर राहत भएको छ । राजधानी दिल्लीमा पनि संक्रमणको दर ह्वात्तै घटेको देखिन्छ । संक्रमणबाट निधन हुने पनि निकै कम छन् । दिल्लीको अवस्था लगभग कोरोना नियन्त्रण उन्मुख भन्दा गलत हुँदैन ।
दिल्लीमा कोभिड–१९ संक्रमणको दोस्रो लहर कसरी नियन्त्रणमा आयो ?
जुन महिनाको अन्तिमतिर दिल्ली सरकारले कोरोना नियन्त्रण रणनीतिमा केही परिवर्तन गर्यो । जस्तै घर–घरमा गएर कोरोना परीक्षण गर्ने, एन्टीजेन परीक्षणको दायरा फराकिलो बनाउने, खोप अभियानमा तीव्रता आदि ।
दिल्ली सरकारको यो कदम कोरोना नियन्त्रणका लागि उपलब्धिपूर्ण बन्यो । दिल्ली सरकारले परीक्षणसँगै सार्वजनिक स्थानमा जनस्वास्थ्यका मापदण्ड पालनामा कडाई गरेको छ । त्यसले गर्दा संक्रमण क्रमशः नियन्त्रणमा आएको हो ।
दिल्ली सरकारले अस्पतालको क्षमता सुधार गरेर संक्रमितलाई समयमै उपचारको व्यवस्था गरेकाले पनि संक्रमणमुक्त हुने दर राम्रो भयो । अस्पतालको अवस्था सुधार भएसँगै परीक्षण र उपचार गराउन जाने बढेकाले समयमै संक्रमित पहिचान गरी उपचार गर्न सहज भयो । जसले गर्दा संक्रमण फैलन पाएन ।
हाल दिल्लीमा दैनिक ५० हजारभन्दा बढीको नमुना परीक्षण हुन्छ । त्यसमा २५ भन्दा कममात्र संक्रमित भेटिन्छन् । संक्रमितको बेलैमा पहिचान हुँदा अरुमा सर्न पाउँदैन् । यी सबै कारणले ठूलो जनसंख्या भएको दिल्लीमा अहिले संक्रमण नियन्त्रण उन्मुख छ ।
नेपालको अवस्था ?
संक्रमणको दोस्रो लहरमा नेपालले मानवीय क्षति धेरै व्यहोर्नु पर्यो । मानवीय क्षतीसँगै नेपालको स्वास्थ्य प्रणाली पंगु रहेको वास्तविकता यो महामारीले सार्वजनिक गरिदियो ।
नेपालमा दोस्रो लहर कमजोर भए पनि संक्रमणको अवस्था अझै डरलाग्दो नै छ । कोरोनाको परीक्षण गर्ने दर घटे पनि दैनिक ३ हजारको आसपासमा संक्रमितको संख्या थपिने गरेको छ । मत्यु हुनेको संख्या पनि ३० जनाको हाराहारीमा छ ।
परीक्षण दायरा झन घट्यो
एकसाता यताको परीक्षणको तथ्यांक हेर्दा नेपालमा दैनिक १५ हजार आसपास नमुना परीक्षण गरेको पाइएको छ ।
गत शनिबार देशभर पिसिआर र एन्टिजेन गरि कुल १३ हजार ७५ जनाको परीक्षण गरियो । आइतबार १२ हजार ५१६ जनाको, सोमबार ११ हजार ३२६ जनाको, मंगलबार १४ हजार ८१० जनाको, बुधबार १५ हजार २९० जना नमुना परीक्षण भयो ।
यो तथ्यांकले नेपालमा परीक्षण दर साघुँरिएकोे देखिन्छ । अहिले पनि नेपालका २१ जिल्लामा ५ सय बढी कोरोनाका सक्रिय संक्रमित छन् । बढी भिडभाड हुने राजधानी रहेको काठमाडौं उपत्यकामा दैनिक सबैभन्दा बढी संक्रमित थपिने गरेका छन् ।
निषेधज्ञा लगाइए पनि त्यसको कुनै संकेत देखिँदैन् । मास्क नलागइ हिड्नेदेखि भिडभाड गर्न छुट छ । यो अवधिमा न अस्पतालको अवस्था सुधारिएको छ न महामारी रोकथामका कुनै भरपर्दाे उपाय गरिएको छ ।
राजनीतिक खिचातानी, सरकार ढाल्ने र बनाउने खेलमा राजनीतिक दलहरु व्यस्त भइरहँदा नेपालीले खोपसमेत बेलैमा पाउन सकेनन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले परीक्षण दर घटाएको भन्दा पनि परीक्षण घटाएको नभइ परीक्षण गर्न नै कम व्यक्ति आउने गरेको बताए ।
लक्षण देखिएपनि भाइरल ज्वरो भनेर परीक्षण नगराउने गर्दा परीक्षणदर कम देखिएको उनी बताउँछन् । नेपालले पनि भारतकाे राजधानी दिल्लीकाे उपाय अवलम्बन गर्दा काेराेना नियन्त्रण गर्न कठिन हुँदैन । नेपालमा परीक्षण बढाएर संक्रमित पहिचान गर्ने, अस्पताकाे अवस्था सुधार गर्ने र खाेप अभियानलाई प्रभावकारी बनाउन सके काेराेना नियन्त्रण गर्न मद्दत पुग्ने स्वास्थ्यविज्ञहरूले बताएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij