Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

जसपामा दुई धारः बाबुराम ‘बाइपास’ भएका हुन् ? 

जसपामा दुई धारः बाबुराम ‘बाइपास’ भएका हुन् ? 

  • 2.1K
    SHARES
  • जसपामा दुई धारः बाबुराम ‘बाइपास’ भएका हुन् ? 

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का नेताहरू अहिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्तामा छन् । झण्डै दुई तिहाइ बहुमतसहित सत्तारूढ भएको नेकपा पार्टी सर्वाेच्चको आदेशले खारेज भएपछि अहिलेको सरकार एमालेको मात्र बन्न पुगेको छ । अल्पमतमा परेको एमालेका प्रधानमन्त्री ओली यतिबेला बहुमत पुर्याउन सत्ता साझेदारीका लागि जसपाको साथ खोजीरहेका छन् । 

    images

    त्यही क्रममा जसपा ओलीसँग निरन्तर वार्तामा छ । तर वार्तामा जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईइतर खेमा मात्र सहभागी छ । डा.भट्टराईले ‘ओली हटाऔं, देश बचाऔं’ भन्ने नारा लगाइरहेका बेला जसपाका अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव र वरिष्ठ नेता राजेन्द्र महतोलाई साथमा लिएर बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवासमा सत्ता साझेदारीबारे छलफलमा जुटेको हो ।

    जसपाले बुधबार साँझ सत्तासमीकरणबारे छलफल गर्न एउटा कार्यदल बनाइसकेको छ । जसमा भट्टराईले असन्तुष्टि जनाउँदै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार जसपाका शीर्ष नेतालाई छलफल गर्न बालुवाटार डाकेका थिए, जसमा डा.भट्टराई भने उपस्थित भएनन् ।

    प्रधानमन्त्री ओलीसहित सुवासचन्द्र नेम्वाङ, एमाले उपमहासचिव विष्णु पौडेल र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई पनि उक्त छलफलको साक्षी थिए ।डा.भट्टराईले ओलीलाई सरकारबाट हटाउने अभियान अघि बढाइरहेकै बेला जसपाका शीर्ष तीन नेताले प्रधानमन्त्री ओलीसँग सत्ता आरोहणका लागि छलफल गरेको भन्दै पूर्व नयाँशक्ति खेमा यतिबेला पाटीभित्रै असन्तुष्ट बनेको हो ।

    बालुवाटार पुगेका नेताहरूले प्रधानमन्त्रीसँग तीनवटा शर्त अघि सारेका छन् । जसमा रेशम चौधरीको रिहाइलाई उनीहरूले मुख्य रूपमा उठाएका छन् । ‘राजनीतिको गोलो वृत्तमा अगाडिबाट जो बढी दूरीमा देखिन्छ, पछाडिबाट उनीहरू नै निकटमा रहेका हुन्छन् । त्यसैले ओलीसँग ठाकुर, महतो र यादवको अहिलेको भेटघाट र संवाद जनताका आँखामा अस्वाभिक देखिए पनि राजनीतिक वृत्तमा सामान्य घटनाक्रम मात्र हो,’ राजनीतिक विश्लेषक कृष्ण पोखरेल टिप्पणी गर्छन् ।

     जसपा नेता र प्रधानमन्त्री ओलीबीच बालुवाटारमा भएको छलफललाई सरकारसँग होइन एमालेसँग भएको छलफलका रूपमा बुझ्नुपर्ने बताउँछन् डा.भट्टराईका स्वकीय सचिव तथा जसपा केन्द्रीय सदस्य रोशन पोखरेल ।

    ‘पार्टीको निर्णयकै आधारमा उहाँहरु (ठाकुर, महतो र यादव) एमालेका अध्यक्ष ओलीलाई बालुवाटारमा भेट्न जानुभएको हो । सरकारसँग वार्ता गर्न जानुभएको होइन,’ केन्द्रीय सदस्य पोखरेलले भने ।

    जसपालाई फकाउन सरकारले अहिले विभिन्न जाल फ्याँकेको जिकिर गर्छन् जसपाका केन्द्रीय कार्यकारणी समिति सदस्य डम्बर खतिवडा । ‘हाम्रो पार्टीको ठूलो तप्का ओली नेतृत्वको सरकारमा सहभागी हुनु हुँदैन भन्ने अडानमा छ । हिजोसम्म जसपालाई सरकारले अनदेखा गर्ने र आज एक्कासी बोलाउनुको अर्थ हामीलाई थाहा छ,’ खतिवडा प्रश्न गर्छन्, ‘सरकारले विभिन्न जाल फ्याँके पनि त्यो जालमा जसपा पर्नैपर्छ भन्ने छ र ?’

    सरकार र कांग्रेसका शीर्ष नेतासँग पनि राजपाले छलफल गरेको बताउँदै नेताहरूको अनौपचारिक भेटघाटले पार्टीको नीतिमा कुनै प्रभाव नपार्ने खतिवडाको प्रतिक्रिया छ ।  ओली नेतृत्वसँग जसपाले सत्तासाझेदारीका विषयमा कस्तो रणनीति लिन्छ भन्नेबारे चैत ५ मा बस्ने केन्द्रीय कार्यकारणी बैठकको निर्णयपछि मात्र टुंगो लाग्ने पनि खतिवडाले बताए ।
    ‘कार्यकारणी बैठकको निर्णयविना भएका सहमति आधिकारिक हुँदैन,’ उनले भने, ‘सत्तामा जाने नजानेबारे सोही बैठकले टुंगो लगाउँछ ।’ 

    ‘प्रधानमन्त्रीसँगको भेट सत्ता समीकरणका लागि होइन’

    जसपामा पूर्वराजपाका नेताहरू भने प्रधानमन्त्री ओलीसँग विभिन्न चरणमा भइरहेका छलफल सत्तासमीकरणका विषयमा नभई पार्टीको मागका बारेमा छलफल गरिएको जिकिर गर्छन् । ‘प्रधानमन्त्रीसँग हाम्रो पार्टीले सत्ता समीकरणका विषयमा छलफल गरेको होइन,’ राजपाका केन्द्रीय सदस्य केशव झाले वेबटिभी खबरसँग भने, ‘हाम्रो समस्या केपी ओलीसँग होइन, सरकारसँग पार्टीले राखेका माग पुरा गराउनका लागि शीर्ष नेताले प्रधानमन्त्रीसँग छलफल गर्नुभएको हो । यसलाई सत्तामोहका रूपमा बुझ्नु गलत हुन्छ ।’

    प्रचण्ड- डा.भट्टराई कति नजिक ?

    प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेलगत्तै प्रचण्डले तत्कालीन नेकपाका नेताहरू माधवकुमार नेपाल र झलनाथ खनालसँग मिलेर ओलीविरुद्ध संघर्ष अघि बढाए । प्रचण्डले त्यसबेला देखि नै जसपाको साथ खोजेका थिए । त्यसमा पनि उनको नजर र आशा डा.भट्टराईमाथि थियो ।

    दुई पाइलटले चलाएको नेकपाको ‘बोइङ’ आकाशमा निर्वाध उडुन्जेल प्रचण्डले डा.भट्टराईलाई खासै महत्व दिएका थिएनन् । जब ओलीले कार्यकारी अध्यक्ष प्रचण्डलाई पाखा लगाउन खोजे तब उनले पुरानो साथी सम्झिए । फागुन १ मा आयोजित ‘गुमनाम आमाहरूको कथा’ नामक कृति विमोचन कार्यक्रममा प्रचण्ड र डा.भट्टराई एउटै मञ्चमा देखिए ।

    उक्त कार्यक्रममा प्रचण्डले डा.भट्टराईलाई आग्रहको शैलीमा, ‘ओलीको गैरसंवैधानिक कदमविरुद्ध सबैजना एक भएर लड्ने बेला आएको,’ भन्दै साथ दिन अनुरोध गरेका थिए । तर डा.भट्टराईले तत्कालै जवाफ फर्काएका थिए, ‘तपाईंसँगको सहकार्य अब सम्भव छैन ।’

    डा.भट्टराईले समाजवादी यात्रा अबको राजनीतिक कार्यदिशा हुनुपर्ने धारणा राख्दै प्रचण्डहरूको सत्तालिप्सालाई सहयोग गर्न नसकिने संकेत गरेका थिए । प्राविधिक रूपमा पूर्वएमालेका नेताहरू नेपाल र खनालबाटसमेत एक्लिन पुगेका प्रचण्ड पुरानो मित्रसँग नजिकिने संभावना रहेको राजनीतिक विश्लेषक बताउँछन् ।

    ‘जसपाका नेताहरू सत्तामा जाने र नजानेमा विभाजित भए भने यसले प्रचण्ड र डा.भट्टराईलाई अझ निकट बनाउने संभावना पनि देखिन्छ,’ विश्लेषक पोखरेल भन्छन् । 
    सशस्त्र जनयुद्धका यी दुई सहयोद्धा ओलीको विरोधलाई आधारभूत सहमतिको बिन्दु मान्दै अबको राजनीतिक समीकरणमा एक हुनसक्ने संभावना नकार्न सकिन्न ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology