Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

 कम्युनिस्ट फुट-जुटको वृतान्त

 कम्युनिस्ट फुट-जुटको वृतान्त

  • 2.2K
    SHARES
  •  कम्युनिस्ट फुट-जुटको वृतान्त

    सायद कम्युनिस्टहरूको स्वाभावै हुन्छ कि बडो अस्थिर ? कि अस्थिरताकै अर्थमा उनीहरू गतिशीलतालाई बुझ्छन् ? नत्र २००६ सालमा पहिलो पर्चा छापेर ठोस अस्तित्वमा देखिएको पार्टी हालसम्म आइपुग्दा अनेर्कौ चिरा र शिरामा विभाजित छ ।

    यो किताब मुख्यतः नेपालमा कम्युनिस्ट आन्दोलन र कम्युनिस्टहरूले सत्तासञ्चालनमा गरेका गल्ती, उठाएका जोखिम र कम्युनिस्टहरूका पहलबाट देशले पाएको प्रगति र दुर्गतिका बारेमा केन्द्रित छ ।

    नेपाली कम्युनिस्ट आन्दोलनका पहिलो पुस्ताका नेता, झापा बिद्रोहका कमान्डर राधाकृष्ण मैनालीले यो किताबमा राजनीतिक विषय साथै आफ्नो बाल्यकाल, किशोरावस्था, युवावस्थाहुँदै हालको प्रौढ अवस्थाको पनि रोचक ढङ्गले चित्रण गरेका छन् ।

    यति मात्रै भन्दा पनि किताबप्रति न्याय हुने छैन । किनकि यसमा राजनीति र लेखकको जीवनको व्यक्तिगत कुराहरू मात्र छैनन् । झापा विद्रोहको सुरुवात कसरी भयो, कम्युनिस्ट आन्दोलनमा लागेका कारण तत्कालीन पञ्चायती शासकबाट भएको गिरफ्तारी र यतना शृङ्खला, जेलका रोचक घटनाहरू, आध्यात्म र भौतिकवादको तुलना, ०४६ सालको सेरोफेरो, विचार र गतिहीन वाम एकता, पार्टी प्रजातन्त्रदेखि महाकाली सन्धिसम्म, शाही सरकारको मन्त्री भएका बेला गरेको प्रगति साथै कर्मचारहिरूसँगको अनुभवको स्मृति, विदेश भ्रमण र अनुभव, माआवादीमा प्रवेशको मोड, विभिन्न नेताहरूसँगको उठबस, झापा सुखानीका सहिद आदि बारे आरके मैनालीले स्पष्टसँग लेखेका छन् ।

    पछिल्लो समय नेकपामा जे जस्ता फुटका सङ्केतहरू देखिँदै छन् । कम्युनिस्ट पार्टिमा यो नयाँ कुरा होइन रहेछ भन्ने भान यो किताब पढेपछि पाइन्छ । अहिलेको अवस्थाभन्दा धेरै कठिन परिस्थिति कम्युनिस्ट पार्टिले बेहोरेको अवस्थाको चित्रण उनले गरेका छन् ।

    किताबका सबै उपशीर्षकहरू पठनिय र रोचक छन् । झापा विद्रोहको प्रसङ्गबाट किताबको सुरूवात गरेका छन् । झापा विद्रोहलाई अझै सशक्त बनाउन आर के र मदन खपाङ्गी सक्रिय भएर लागिपरेको उल्लेख गरेका छन् । 

    “तराई भूमि झापामा गर्मी चर्कदो थियो । त्यही गर्मीको उकुसमुकुसभित्र मसहित थुप्रै सहकर्मीहरू क्रान्तिको दावानल कसरी भर्भराउँदो बनाउने भन्ने चिन्ता र छट्पटीमा थियौं । छट्पटाहटकै बीचमा म र मदन खपाङ्गीले “चुपचाप बसेर हुन्न, सामन्तहरूको ज्याजतीविरूद्ध किसान आन्दोलन उठाउनुपर्छ । नयाँ बाटोमा जाऔं” भन्ने सल्लाह ग¥यौं । बिद्रोहको योजनाबारे सल्लाह गरिरहँदा वीरेन राजवंशी पनि सँगै थिए ।” (पृष्ठ १)

    प्रत्येक पानामा शब्द छनौट र बाक्य संयोजन एकदम कौशलता देखिएको छ । किताबमा कुनै एउटा अनुच्छेद छैन, जुनले पाठकलाई नतानोस् । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना प्रत्येकजसो भाषणमा नछुटाउने एउटै वाक्यंश हुन्छ– “म १४ वर्ष जेल बसेको मान्छे हुँ ।”

    हो, कुरा सत्य हो । तर उनीलगायत झापा विद्रोहका अरू नेताहरू त्यतिबेला के गरेबापत जेलमा परेका थिए ? अहिले यो प्रश्नको आयतन नै बडो साघुँरिएको प्रतित हुन्छ ।
    अस्ति भर्खरै पुस ५ मा प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघठन गरेपछि उठेको नागरिक आन्दोलनकर्मीहरूमाथि अहिले तिनै केपी ओली प्रशासनको प्रहरीले पानीको फोहरा हानेको सुन्दा पत्याउन मुस्किल पर्छ ।

    पञ्चायती कालमा जसरी केपी ओलीहरू वर्गशत्रु खतम गरी समाजमा विभेदको अन्त्य र जनताको सर्वोच्चताका लागि जेल परेका थिए, त्यतिबेलाका तिनै “अपराधी”हरू यतिबेला शासकका रूपमा उदाएका छन् र नागरिकहरूमाथि प्रेस विधेयक लाध्न र नागरिक आन्दोलनलाई दमन गर्न उद्धत छन्, यो बडो बिडम्बनाको कुरा हो ।   

    “जेलका केही रोचक घटना” अध्यायमा लेखकले निक्कै भावनात्मक प्रसङ्गहरू उल्लेख गरेका छन् । यो अध्यायमा उनले भौतिक वस्तुको सीमितताले हृदयमा खुसी पलाउन रोकतोक नगर्ने काव्यिक तथ्य पेश गरेका छन् । साथै उनले जस्तोसुकै कठिन परिस्थितिसँग जुझ्दै हामीले त्यसबाट केही न केही पाठ सिक्नुपर्ने सन्देश दिएका छन् । जस्तै: “जीवनलाई एक पाठशाला मान्ने हो भने यात्राजस्तो भए पनि त्यसबाट शिक्षा लिनैपर्छ । मेरो लागि जेल फगत जेल मात्र रहेन । सयौं कुरा सिक्ने, अनुभव लिने थलोसमेत बन्यो । अझ यसो भनौं जेल मेरो जीवनको विश्वविद्यालय हो । ०३३ मङ्सिरमा नख्खु जेलमा रुद्र खरेलसँग झगडा परेपछि मोहनचन्द्र अधिकारी, केपी ओली र मलाई केन्द्रीय कारागारको गोलघरमा ल्याइयो । संयोग कस्तो भने २०३१ सालमा वीरगञ्जदेखि केन्द्रीय कारागार ल्याएकै दिन जेलको नाइकेले झन्डै गोलघरमा जाकेको थियो । त्यसको झण्डै साढे दुई वर्षपछि जेलभित्रको जेल मानिने त्यही कालकोठरीमा कैद भइयो । यसपछि जेल जीवनका साढे तीनवर्ष यही पिंजडाभित्र बिताइयो, सामान्य हलचलसमेत नगरी ।” पृष्ठ ९० ।

    लेखकले किताबमा सकेसम्म आफूलाई नढाटिकन पोख्ने प्रयास गरेको महसुस किन भने । आक्कलजुक्ल देखिने जन्मिदै सुनको जुत्ता लगाएको आडम्बर पोख्ने आडम्बरी लेखकहरूको सतही लेखाइभन्दा आरके धेरै स्तरीय लाग्छन् । उनले तेह्रथुम पहाडका मध्यमआर्थिक अभावग्रस्त दैनिकी र भौगोलिक कठिनाइका कारण झेल्नु परेको व्यवहारिक झण्झटलाई पनि मार्मिक ढङ्गले प्रस्तुत गरेका छन् ।

    उनले लेखेका छन्: “जीवनको उकाली चढ्न तमोरको पानीलाई ओराला हुत्याउँदै म आफ्नो प्यारो गाउँ चोकपुरबाट २०१७ साल मङ्सिरमा दक्षिणको मधेसतिर हानिएँ  त्यसपछि भने म पाहुनाजस्तो बनेर मात्र जन्मगाउँ पुग्ने गरेको छु ।” पृ ३५ 

    यस्तै उनले नेपाली राजनीति त्यसमा पनि कम्युनिस्ट आन्दोलनमा देखा परेका विभिन्न प्रवृत्ति र उतारचढावलाई वस्तुनिस्ट तवरले अक्षरवद्ध गरेका छन् । उनले नेकपा (माले) र नेकपा (माक्र्सवादी) एकता हुँदा ताकाको परिघटनालाई यसरी चित्रण गरेका छन्:

    नेकपा (माले) र नेकपा (माक्र्सवादी) बीच एकीकरण भएपछि एमालेको उचाइ ह्वात्तै चुलियो । माले र माक्र्सवादीबीच अन्तर के थियो भने माक्र्सवादीको केन्द्रमा राष्ट्रिय रूपमै स्थापित तथा परिचित नेता थिए । तर। जिल्ला र गाउँ तहसम्मको सङ्गठन थिएन । मालेमा चाहिँ गाउँदेखि केन्द्रसम्म मजबुत सङ्गठन थियो । तर, राष्ट्रिय हैसियतमा प्रचार पाएका नेता कम थिए । माक्र्सवादीबाट मनमोहन अधिकारी, सहाना प्रधान, भरतमोहन अकिारी, सिद्धिलाल सिंह मात्रै आए पनि पार्टी एकीकरण गर्नुपर्छ भन्ने पक्षमा थिए मदन । यी व्यक्तित्वहरूको आगमन एमालेको उचाइ बढ्नुको एउटा कारण हो ।” पृष्ठ २०५

    यस्तै २०५० साल जेठ ३ गते चितवनको दासढुङ्गामा भएको जिप दुर्घटनामा एमालेका तत्कालनि महासचिव मदन भण्डारी र पार्टीका सङ्गठन विभाग प्रमुख जीवराम आश्रितको हत्या या दुर्घटना के थियो भन्नेबारेमा लेखकले ठोस कुरा केही लेखेका छैनन् । यो रहस्यलाई केबल रहस्यमै छोडिदिएका छन् । तथापि, उनले एउटा डरलाग्दो आकलनचाहिँ गरेका छन्: “मेरो विचारमा केपी छानविन आयोगमा रहँदा र गृहमन्त्री हुँदा मदन हत्याबारे एउटा दृष्य पक्कै फेला पारेका थिए । यसको गहिराइमा पुग्दा आफैं मदनको नियतिमा भासिने डरले उनले त्यतातिर लाग्ने हिम्मत गरेनन् ।” पृष्ठ २३१

    महाकाली सन्धिलाई एमाले फुट्नुको कारक देखाउँदै उनले लेखेका छन्: “.....मलाई लाग्छ यो गुप्त खेलका डिजाइनर केपी ओली थिए । केपीको खेलका सामु माधवको अल्पदृष्टि निर्णयक मोड बन्यो । मैले भनेको नमान्नेलाई तह लगाइदिन्छु भन्ने सोचबाट माधव अघि बढे र औपचारिक रूपमा पार्टी विभाजन भयो, ०५४ साल फागुन २१ गते । पार्टी दुई फ्याक भएपछि एमालेलाई घाटा त भयो नै, नयाँ पार्टी मालेसमेत जन्मजात रोगायो । मालेका शीर्षस्थ नेताद्वय सीपी र वामदेवबीच सुरूमै समस्या देखियो । सीपी सानो समूह बोकेर पार्टीभित्रका सदाबहार विपक्षी बनिरहन खोजे । वामदेव सीपीलाई नेता मान्न तयारै भएनन् ।” पृष्ठ २४० ।

    यसरी उनले एमाले र मालेको निक्कै रोचक प्रशङ्गकहरूको सटिक ढङ्गले व्याख्या गरेका छन् । साथै उनले माधवकुमार नेपालले आफूहरू दाजुभाइ (सीपी र आरके)लाई कहिल्यै राम्रो दृष्टिकोणले हेर्न नसकेको या नचाहेको तर पछि मालेको केन्द्रीय समितिले एमालेसँग एकता गर्ने निर्णय गर्न नसकेपछि मात्र नेपालले आरकेलाई बोलाएर एकता वार्ता गर्न थालेको इतिहासलाई पनि उल्लेख गरेका छन् ।  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij