काठमाडौं । मन्त्रिपरिषद् विस्तारका लागि सत्ता गठबन्धनमा विवाद भएको छ । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) पार्टी र जनता समाजवादी पार्टी, नेपाल (जसपा) बीच मन्त्रालयका विषयमा विवाद उत्पन्न भएको हो । मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकमा मालदार मन्त्रालयको विषयमा सहमति भइनसकेको बैठकमा सहभागी जसपाका एक नेताले बताए ।
यसअघि नै कांग्रेसले गृह र कानुन मन्त्रालय आफ्नो भागमा राखेको छ भने नेकपा माओवादी केन्द्रले अर्थ र ऊर्जा मन्त्रालय राखेको छ । राष्ट्रिय जनमोर्चा गठबन्धनमा भए पनि तत्कालै उसले मन्त्री पाउने सम्भावना छैन । सत्ता साझेदार बाँकी दुई दलले पनि महत्त्वपूर्ण मन्त्रालय माग गरेको र त्यसैमा एकीकृत समाजवादीका माधव नेपाल र जसपाका उपेन्द्र यादवबीच विवाद देखिएको हो । बैठकमा सहभागी ती अनुसार नेकपा एसका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीले भौतिक र उद्योग मन्त्रालयको माग गरेका छन् ।
तर उनको मागमा यादवले असन्तुष्टि जनाएका छन् । मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एसका अध्यक्ष नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवलगायत नेताबीच भएको छलफलमा बुधबारसम्म मन्त्रिपरिषद् टुंगो लगाउने सममति भएको थियो ।
सोही सहमतिलाई निष्कर्षमा पुर्याउन भन्दै मंगलबार बिहान सत्तागठबन्धनका नेताहरू बालुवाटार छलफलमा जुटेका थिए, तर जसपा अध्यक्ष यादव र नेकपा एस अध्यक्ष नेपालबीच मन्त्रालयका विषयमा असमति देखिएपछि बुधबारसम्म पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन कठिन देखिएको ती नेताको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij