वेबटिभी खबर
काठमाडौं । चीनसँगको सीमा विवादलाई लिएर प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेरबहादुर देउवाले चिनियाँ राजदूत होउ यान्छीसँग छलफल गर्ने भएका छन् । सरकारले चीनसँगको सीमा विवाद समाधान समिति गठन गरेपछि प्रधानमन्त्रीले चिनियाँ राजदूतसँग छलफल गर्ने भएका हुन् । सत्तासाझेदार गठबन्धनमा पूर्वसहमति नजुटाई प्रधानमन्त्री देउवाले एकपक्षीयरुपमा समिति गठन गरेको भन्दै नेताहरूले असन्तुष्टि जनाएका छन् ।
समिति गठनबारे प्रधानमन्त्री देउवासँग नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी, नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादवले धारणा मागेका थिए ।
सीमा विवादमा एकपक्षीय रुपमा अघि बढ्दा छिमेकसँगको सम्बन्धमा खलल पुग्ने देखिएको भन्दै चिनियाँ राजदूतसँग छलफल र समन्वय गर्नुपर्छ भन्नेमा बिहीबारको बैठकमा सहमति भएको थियो । सोही सहमतिअनुसार प्रधानमन्त्रीले चिनियाँ राजदूतसँग छलफल गर्ने भएका हुन् ।
हुम्लामा चीनले नेपाली सीमा अतिक्रमण गरेको भन्दै बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अध्ययन समिति गठन गरेको छ । समितिमा गृह मन्त्रालयका सचिवको संयोजन रहने गरी नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सीम विज्ञ सम्मिलित छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij