वेबटिभी खबर
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका स्थायी समिति सदस्य तथा प्रतिनिधिसभाका सांसद् योगेश भट्टराईले स्थानीय जनप्रतिनिधिलाई जनताप्रति उत्तरदायी बन्न आग्रह गरेका छन् । ताप्लेजुङ जिल्ला समन्वयले आयोजना गरेको आर्थिक वर्ष ०७७/७८ को वार्षिक समीक्षा कार्यक्रमलाइ शुक्रबार सम्बोधन गर्दै भट्टराईले यस्तो आग्रह गरेका हुन् ।
शिक्षा क्षेत्रमा लगानी बढाउन र नयाँ पूर्वाधारमा नभई भएकै पूर्वाधारको सवलीकरणमा ध्यान दिन पनि भट्टराईले जनप्रतिनिधिसमक्ष आग्रह गरेका छन् । पूर्वपर्यटनमन्त्रीसमेत रहेका भट्टराईले सडक र भवनजस्ता भौतिक पूर्वाधारतर्फका काममा मात्र जनप्रतिनिधिको ध्यान जाँदा पूर्वाधारभित्रका अत्यावश्यक आवश्यकता ओझेलमा परेको बताए ।
जनताले तिरेको करबाट पारिश्रमिक र सुविधा बुझ्ने भएकाले जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्ने उनको भनाइ छ । ‘जनताप्रति जनप्रतिनिधि उत्तरदायी बन्ने प्रकृया नै लोकतन्त्रको बलियो आधार हो । नेपालको संविधान र व्यवस्था उत्कृष्ट भए पनि त्यो पढेर मात्र उत्कृष्ट ठहरिँदैन । संविधानलाई उत्कृष्ट देखाउन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छ,’ भट्टराईले भने ।
बेरुजु फर्स्यौट र आर्थिक अनुशासन भएको स्थानीय तह ताप्लेजुङमा रहेको सुन्दा सबैको छाती गर्वले फुलेको उनले बताए । कार्यक्रमममा प्रदेशसभा १ का सदस्य प्रतापप्रकाश हाङ्गाम, होमकुमारी साँवा, प्रदेश १ सरकारका सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङलगायतको उपस्थिति थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij