वेबटिभी खबर
विश्वमा १९ औं शताब्दिभन्दा अघि विवाहका दिन महिलाहरुले सबैभन्दा राम्रो कपडा लगाउने प्रचलन थियो । त्यस समयमा बेहुलीले विवाहको दिन जुनसुकै रङको कपडा पनि लगाउन पाउँथे ।
बेहुलीहरुले आफ्नो इच्छाअनुसार फरक–फरक रङका कपडा लगाउँथे । यो उनीहरुको प्राथमिकतामा निर्भर थियो । त्यसताका विशेष गरेर रातो र खैरो रङका विवाह पोशाक बढी लोकप्रिय थिए ।
विवाहमा लगाएका लुगा महिलाहरुले अन्य विशेष समारोह वा उत्सवहरुमा पनि लगाउँथे । अहिलेजस्तो एकपटक मात्र लगाउने भन्ने थिएन । महिलाहरु जति उच्च वर्गका हुन्थे, त्यति उनीहरुको पहिरन आकर्षक हुन्थ्यो ।
पश्चिमी देशमा विवाहका बेला बेहुलीले लगाउने सेतो पोशाकबारे धेरै रोचक मिथकहरु छन् । यो पोशाक १९ औं शताब्दिको मध्यदेखि लोकप्रिय बनेको हो र पछि २० औं शताब्दिसम्म आइपुग्दा धेरै बेहुलीहरुको रोजाई बन्न पुग्यो ।
धेरै पश्चिमी समुदायमा सेतो रङलाई विशेष गरेर शुद्धतासँग जोडिन्छ । यही कारणले गर्दा दुलहीहरु सेता पोशाक छनोट गर्छन् । पवित्रता र परम्परागत मूल्यहरुबाहेक सेतो धेरै दुलहीहरुको लागि मन पर्ने रङ थियो । तर, विवाहमा लगाउने सेतो लुगा सलाई सफा गर्न र दोहोर्याएर लगाउनका लागि भने सहज थिएन ।
इतिहासमा सबैभन्दा पहिला विवाहमा सेतो पोशाक सन् १४०६ मा इंग्ल्यान्डकी फिलिप्पाले लगाएकी थिइन् । तर पनि सन् १८४० सम्ममा यो लुगा त्यति प्रचलनमा थिएन । रानी भिक्टोरियाले राजकुमार अल्बर्टसँग विवाह गर्दा सेतो गाउन लगाएपछि यसको लोकप्रियता बढ्यो । भिक्टोरियाको विवाहलाई बेलायतका धेरै मिडियाले उच्च प्राथमिकता दिएका थिए ।
उनले घाँटीमा खोलिएको एट–पिस बोडिस लगाएकी थिइन् । उनी चर्चमा हिँड्दा पोशाक भुइँमा नघस्रियोस भनेर छेउटाउबाट १२ जनाले सहयोग गरेका थिए ।
रानी आफ्नो पोशाकको विशेष कदर गर्थिन्, उनले आफ्ना जीवनकालका विशेष कार्यक्रममा यसलाई लगाउँथिन् । उनले यस पोशाकलाई पुनः परिवर्तन गरेर ५६ वर्षपछि हिरक जयन्तीमा लगाइन् ।
रानी भिक्टोरियाले विवाहमा सेतो पोशाक लगाएर यसको प्रचलन सुरु गर्न योगदान पुर्याइन् । उनले सेतो गाउन लगाएर समाजको एउटा संस्कृति परिवर्तन गर्न सफल भइन् ।
भिक्टोरियाको शैली र छनोटलाई विश्वका धेरै महिलाहरुले पछ्याए । इंग्ल्यान्डमा बढ्दो मध्यम वर्गलाई धन प्रदर्शन गर्ने उत्सुकता थियो र रानीजस्तै देखिने इच्छालाई अगाडि बढाए । त्यसबेला शाही परिवारले खिचेका व्यापक तस्बिरहरु पत्रिकामा छापिए । पत्रिकामार्फत् ती तस्बिरहरु सर्वसाधारणको पहुँचमा पुगे । तस्बिरमा राजपरिवारले लगाएका पोशाकबाट उनीहरु प्रभावित भए ।
रानी भिक्टोरियाले सेतो गाउन लगाउनुको पछाडि उनी बेलायतकै कच्चा पदार्थबाट उत्पादन भएको कपडा लगाउन र त्यस समयमा लगातार खस्किरहेको त्यहाँको कटन, सिल्कका उद्योगलाई प्रवद्र्धन गर्न चाहन्थिन् । रानी भिक्टोरियापछि उनका छोरीहरु, बुहारीहरु, अलेक्जेन्ड्राले पनि सेतो पोशाकलाई नै निरन्तरता दिए ।
२० औं शताब्दिमा सेतो पोशाक मानिसहरुको हैसियतको संकेत बनेको थियो । यसले बेहुलीको आयको स्तर झल्काउँथ्यो । धेरै अमेरिकी तथा युरोपेली उच्च वर्गका महिलाहरुले यसको प्रयोग गरेपछि सेतो लुगा फेसन ट्रेन्ड बन्यो । दोस्रो विश्वयुद्ध पछि मात्रै मध्यम वर्गीय महिलाहरुबीच पनि लोकप्रिय बन्यो ।
यसअवधिमा सिन्थेटिक सामाग्रीको उत्पादनमा एक मामूली वृद्धि भएको थियो । दोस्रो विश्वयुद्धपछिको आर्थिक समृद्धिले धेरै दुलहीहरुको लागि प्रशस्त विवाहको पोशाक बनाउनका लागि पर्याप्त नाइलन र रेयनको उत्पादन गर्न सजिलो बनायो । विवाहसम्बन्धी धेरै ट्रेन्डहरु निरन्तर विकसित र परिवर्तित हुँदै आए पनि सेतो पोशाक भने स्थिर नै छ ।
विवाह कम्पनीहरुको रिपोर्टअनुसार अझै पनि झन्डै ८५ प्रतिशत बेहुलीहरु विवाहमा सेतो पोशाक नै रोज्छन् । किनकी यसले विशिष्ट फेसन शैलीका कारण वर्षौदेखि महिलाहरुको रोजाईमा एक स्थान बनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij