Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

माटो बेचेर दशैंको खर्च जोहो 

माटो बेचेर दशैंको खर्च जोहो 

  • 504
    SHARES
  • माटो बेचेर दशैंको खर्च जोहो 

    पाँचथर । फिदिम नगरपालिका-४ तुम्देनचोकका २० वर्षीय दीप लावती अहिले घर छेउ मेची राजमार्गको दायाँ-बायाँ माटोका बोरा राख्न व्यस्त छन् । सडकमाथिको माटो बोरामा भरि राजमार्गको आसपासमा उनको परिवारले चिटिक्क पारेर बोराको खात लगाएको छ । उनीजस्तै यहाँ अन्यले बोरामा माटो भर्छन्, सडकको दायाँ-बायाँ राख्छन् र विक्री गर्छन् ।

    images

    फिदिम-४ चारखम्बेदेखि तुम्देन चोकसम्मको सडकमा देखिने यो दृश्य यहाँका स्थानीयवासीको आम्दानी गर्ने माध्यम हो । चारखम्बे क्षेत्रमा मेची राजमार्गमाथि भित्तोमा रहेको रातो माटो गाढा रातो हुनुका साथै घर लिपपोत गर्दा आकर्षक देखिने हुनाले आकर्षक मूल्यमा विक्री हुन्छ । 

    फिदिम नगरपालिका-४ चारखम्बे पुगेपछि मेची राजमार्गको दायाँ-बायाँ माटोले भरिएका बोराहरु खात लगाएर राखिएका भेटिन्छन् । बोरासँगै बसेका मानिसहरु कोही विक्रीमा व्यस्त हुन्छन् त कोही सडकमाथिको पाखामा बोरामा माटो भरिरहेका हुन्छन् । यहीँ बाटो भएर पाँचथरका उत्तरी क्षेत्रहरु, ताप्लेजुङ र तेह्रथुमको पूर्वी भाग पुग्ने सवारी साधनमा माटो ‘लोड’ गरिन्छ । यात्रुहरुले पैसा तिर्छन्, कतिपय त सवारी चालकहरुले नै माटोको रकम तिरेर खरीद गरी ग्राहकसम्म पुर्‍याइदिन्छन् ।

    यहाँकी मीरा गुरुङ लावतीले रातो माटोको व्यापार थालेको १० वर्ष हुन लाग्यो । उनको परिवारले दसैंअघि कामदार लगाएर माटो खन्ने तथा विक्री गर्ने काम गर्दै आएको छ । दसैंअघि यहाँ माटो विक्री गर्न भ्याइनभ्याई हुन्छ । माटो विक्रीमा संलग्न स्थानीयले दसैंको सिजनमा आकर्षक आम्दानी गर्ने गरेका छन् ।

    यहाँ आफ्नो जमिन नहुनेहरुले जमिन भाडामा लिएर रातो माटो निकालेरसमेत विक्री गर्दै आएका छन् । दसैंअघिको समयमा बाहेक अन्य समयमा भने रातो माटो छिटफुट रुपमा मात्रै विक्री हुने गरेको छ ।

    यहाँको माटो प्रतिबोरा ८० देखि १०० सम्ममा विक्री हुने गरेको छ । प्रत्येक बोरामा २० देखि २५ किलोसम्म माटो उठाइन्छ ।

    पहाडी क्षेत्रका ग्रामीण वस्तीका घरहरु ढुङ्गा र माटोको पर्खाल लगाएर निर्माण गरिन्छ । ढुङ्गा र माटोको पर्खालमा लिपपोतमा चुनढुङ्गा, कमेरो र रातो माटोको प्रयोग गरिन्छ । यहीँ प्रयोगका लागि यहाँ पाइने गाढा रातो माटो प्रख्यात हुँदै गएको हो । 

    बाह्रै महिना नभए पनि वर्षमा केही समयका लागि भए पनि यहाँ माटो खन्ने, ढुंगा र माटो छुट्ट्याउने बोरामा भर्ने जस्ता काममा स्थानीयले रोजगारी पाएका छन् । 

    यहाँको माटो गाढा रातो हुनाले गाउँ-गाउँमा प्रख्यात भइसकेको छ । यद्यपि गत वर्ष लकडाउन र कोभिड-१९ को महामारीका कारण राजमार्गका यात्रुको चाप नहुँदा माटो अघिल्ला वर्षहरुमा जसरी विक्री नभएको रातो माटोको विक्री गर्दै आएका कृष्ण खवासको भनाई छ । 

    माटो विक्री बढेपछि यहाँ दैनिक १५ जनादेखि २५ जनासम्म स्थानीय माटो खन्ने, बोरामा हाल्ने र विक्री गर्ने काममा खटिन्छन् । गाउँ-गाउँसम्म सवारीका साधन पुगेपछि टाढा पुगेर रातो माटो खोज्नुभन्दा तयार अवस्थामा रहेको माटो खरीद गर्न धेरैले रुचाउनाले माटोको विक्री बढेको हो । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology