वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले सभामुख अग्नि सापकोटाले आफ्नो पदीय मर्यादा बिर्सिएर पार्टीको कार्यकर्ता बनेको आरोप लगाएका छन् । सोमबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको भेलामा बोल्दै बस्नेतले यस्तो बताएका हुन् ।
१ भदौमा एमालेले माधव नेपाल, रामकुमारी झाँक्री, मेटमणि चौधरीलगायत १४ सांसद्लाई कारबाही गरेको थियो । तर,सो कारबाहीलाई सभामुख सापकोटाले कानुनी प्रक्रिया अघि नबढाएर ती सांसद्को पद जोगाउन सहयोग गरेको बस्नेताको दाबी छ ।
‘म सभामुखज्यूलाई भन्न चाहान्छ, प्रचण्डको गुलाम बनेर सदनमा नआउनुहोला,’ उनले भने । नेपाली कांग्रेसको नेतृत्वमा रहेको अहिलेको सरकार निरकुंश भएको बस्नेतको तर्क छ । ‘एमसीसीबारे बोल्ने नहुने ? दार्चुलाका जयसिंह धामीलाई महाकालीमा बेपत्ता बनाउने दोषीलाई कारबाही गरिनुपर्छ भनेर बोल्नै नपाउने ? हिजो केपी ओली सरकारको पालामा यस्तो थिएन । विरोध गर्न पाइन्थ्यो तर, यो निरंकुश सरकारले नागरिकलाई बोल्न पनि नदिने भनेको छ ।’
नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव नेपाल, नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र कांग्रेस सभापति शेरबहादुर देउवा सम्मिलित यो सरकारलाई उनले मापसे सरकार भन्दै व्यंग्य गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij