चितवन । नेकपा एमालेका नेता एवम् पूर्वमन्त्री महेश बस्नेतले यो संसदले विकृति र विसंगति मात्रै जन्माउने भएकाले छिटै चुनावमा जानुको विकल्प नभएको बताएका छन् ।
प्रेस चौतारी चितवन शाखाले शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बस्नेतले भने, ‘एमालेको तर्फबाट के भन्छु भने, अब यो संसदले अब विकृति, विसंगति जन्माउँछ । कुनै कानुन र बिजनेस दिन सक्दैन । सरकार परमादेशले दिएको छ । अध्यादेशले मन्त्री बन्ला । तर त्यो विकृति र भ्रष्टाचारको बाहक हुने भएकाले जतिसक्दो चाँडो चुनावमा जानुपर्छ । अर्ली इलेक्सन नै आजको विकल्प हो ।’
शुक्रबार संसदमा भएको एमाले सांसद र मर्यादापालकबीचको घम्साघम्सी काष्टिङ मात्रै भएको उनले बताए । प्रमुख प्रतिपक्षलाई पेलेर जान खोजे संसदमा आक्रोश पैदा हुने र मुलुक द्वन्द्वतर्फ जाने उनले चेतावनी दिए ।
‘प्रमुख प्रतिपक्ष दलसँग द्वन्द्व बढाएर पार्टी विभाजनको षड्यन्त्रमा जानुभो भने पार्टी अध्यक्षको शब्द सापटी लिएर भन्छु नेकपा एमालेलाई मरेको बाघ सम्झेर कसैले झुंगा उखेल्ने प्रयास गर्छ भने एमाले ज्युँदो बाघ हो भनेर पटक–पटक देखाउछौँ,’ उनले भने, ‘हिजो देखाएको त त्यो काष्टिङ मात्रै हो । हामी रचनात्मक प्रतिपक्षको भूमिका खेल्न तयार छौं । हिम्मत छ भने निर्वाचनमा आउनुस्, हामी भिड्न पनि तयार छौँ ।’
सभामुखले नेपालकै इतिहासमा कार्यव्यवस्था समितिको बैठक नबसी र विपक्षी दलसँग सहमति र छलफल नै नगरी संसद चलाउने प्रचलनको सुरुवात गरेको नेता बस्नेतले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij