नेपालीसँग आधुनिक समयका चाहना प्राप्त गर्नका लागि आफ्नो सङ्गठन नहुनु दुःखको कुरो हो। त्यहाँ केही सीमित उद्देश्य भएका कतिपय स्थानीय सङ्गठन पक्कै छन् । तर, आजको समयको माग नेपालमा जवाफदेही सरकारको स्थापना र भारतको स्वतन्त्रता–प्राप्तिको बृहत् उद्देश्य लिएको नेपाललाई समेत समेटेर एउटा अखिल भारतीय सङ्गठन बनोस् भन्ने छ ।
यस प्रकार, नेपालीसामु पहिलो नेपालतर्फ र दोस्रो भारततर्फ–दुईतर्फी जिम्मेवारी छन् नेपाल हरेक दृष्टिबाट खराब मार्गमा चल्दै छ । त्यहाँ कुनै प्रकारको स्वतन्त्रता छैन । कानुनभन्दा माथिबाट शासन चल्छ । र जनता अन्धविश्वास र अज्ञानले आक्रान्त छन् ।
छोटकरीमा भन्नुपर्दा, त्यहाँ दुनियाँमा कतैको प्रशासनसँग पनि तुलना हुन नसक्ने किसिमको निकम्मा प्रशासन छ । स्वभावैले नेपालीहरूको पहिलो जिम्मेवारी आफ्नो राष्ट्रप्रति रहन्छ । किनभने, त्यो जतिसुकै खराब भए पनि लाखौं नेपाली मानिसको राजनीतिक र सांस्कृतिक प्रेरणाको स्रोत त्यही नै हुन्छ । तर, हामीले भारततर्फको आफ्नो जिम्मेवारी पनि भुल्नु हुँदैन । नेपाल भारतकै अभिन्न भाग हो ।
तसर्थ, भारतीय माटोमा हुने जुनसुकै कुराबाट पनि त्यो पूर्ण रूपमा प्रभावित हुन्छ। त्यस वास्तविकताले गर्दा नेपालको समस्याको जड पनि भारत नै भएको छ । पहिले र अहिले सञ्चालित नेपाली सङ्गठनले नेपालीहरूको जिम्मेवारीको यस पक्षमा पर्याप्त दृष्टि पुन्याउन नसक्नु दुखद् पक्ष हो ।
भारतको स्वतन्त्रताप्राप्तिको जीवन–मरणको लडाईमा उनीहरूमघ्ये धेरैले व्यक्तिगत रूपमा भाग लिएको भए पनि सङ्गठनका रूपमा भने भाग लिएका छैनन् । त्यसले गर्दा यसबेला नेपाल र भारत दुवैतर्फ विचार पुन्याउने किसिमको नेपालीहरूको अखिल भारतीय सड्गठनको अत्यन्त खाँचो छ । हाम्रो देशका धेरै व्यक्तिले मलाई यस दिशामा पहल गर्न आग्रह गरिरहेका छन् ।
यो जिम्मेवारी मैले स्वीकार गरेको छु र चाँडै नै नेपाली प्रतिनिधिहरूको एउटा सानो बैठक पनि बोलाउँदै छु । यस सम्बन्धमा नेपाल र भारतका दुवैतर्फका मेरा मित्रहरूबाट यसबीच प्राप्त हुने सुझावलाई स्वागत गर्दछु ।
उहाँहरूबाट सुझाव प्राप्त भइसकेपछि म बैठकको मिति र स्थान तय गर्नेछु । तसर्थ, यस्तो भावना भएका नेपालीलाई सम्पर्क गर्न म सार्वजनिक आह्वान गर्दछु । मेरो वर्तमान ठेगाना छः कोशी नुक, व्याण्करोड, पटना ।
(द सर्थ लाइट, पटना, अक्टुबर २, १९४६)
यो सामाग्री हामीले प्रदिप गिरि–विश्वेश्वरप्रसाद कोइराला राजनीतिक अभिलेख (२०६६)बाट सभार गरेर प्रकाशन गरेका हौं। – सम्पादक ।
Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology