वेबटिभी खबर
काठमाडौं । युरोपेली संघ (इयू) ले न्युन आय भएका मुलुकहरुलाई कोरोना भाइरसविरुद्धको २० करोड खोप सहयोग स्वरुप प्रदान गर्ने भएको छ । युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले २० करोड थप खोप गरिब देशहरुलाई प्रदान गर्ने प्रतिवद्धता गरिएको जानकारी दिइन् ।
‘गरिव राष्ट्रहरुलाई थप २० करोड खोप उपलब्ध गराउने आज हामीले निर्णय गरेका छौँ,’ युरोपेली संसदको बार्षिक बैठकमा उनले भनिन् । उनीहरुलाई उपलब्ध गराउने भनिएको खोप अर्को वर्ष सन् २०२२ को मध्य सम्ममा उपलब्ध हुनसक्ने उनले जानकारी दिइन् ।
उनले संघको यो योजनालाई सहयोग गर्न र त्यसका लागि सहयोगको घोषणा गर्न पनि सबैलाई आह्वान गरिन् । गरिब देशहरुलाई यसरी गरिने सहयोग विश्व स्वास्थ्यकै लागि योगदान र लगानीको रुपमा लिनु पर्नेमा समेत उनले जोड दिएकी छन् ।
विश्वका कतिपय देशहरुले अहिलेसम्म पनि कोरोना भाइरसविरुद्धको खोप पर्याप्त रुपमा पाउन नसक्नु चिन्ताको विषय भएकाले धनी र शक्तिशाली राष्ट्रहरुले योगदान गर्नुपर्ने उनको भनाई छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij