Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

मृत्यलोकबाट समृद्ध कांग्रेसी मित्रहरूको नाममा... 

मृत्यलोकबाट समृद्ध कांग्रेसी मित्रहरूको नाममा... 

  • 639
    SHARES
  • मृत्यलोकबाट समृद्ध कांग्रेसी मित्रहरूको नाममा... 

    नेपाल राष्ट्रिय कांग्रेसको कुरा न गरौं। बि.सं २००७ पछि मातृका प्रसाद कोइरालाको सभापतित्वकाललाई अपवाद मान्ने हो भने नेपाली कांग्रेसमा सभापति पदको हस्तान्तरणको प्रक्रियाया उदाहरणीय रहेको छ। 

    images

    नेपाली कांग्रेसका चार चाणक्य कहलिएका बीपी कोइराला, सूवर्ण शम्सेर जबरा, गणेशमान सिंह र सूर्य प्रसाद उपाध्याय मध्ये सभापति पदका लागि कहिल्यै एकापसका विरूद्ध दाबी र हानथाप रहेन। कयौं बिषयमा यी चारका बीच गम्भीर मत भिन्नताहरू रहेको थियो। तर, सभापतित्व विवादरहित रहेको थियो।

    कांग्रेस सभापतिको रूपमा बीपी कोइराला २०१७ पौष १ गते पछि जेल पर्नुभएपछि प्रवासमा रहनुभएका सूवर्ण शम्सेर अनेकौ शक्ति केन्द्रहरूको उक्साहटका बावजूद सभापति पदको दाबी गर्नु भएन। उहाँले झण्डै दुई बर्षसम्म बीपी, गणेशमानजीहरूको रिहाईको प्रयास गर्नुभयो। रिहाईको आशा नदेखिएपछि २०१८ सालमा भारतको पटनामा बोलाइएको सम्मेलन पछि राजा महेन्द्रको तानाशाहीको बिरूद्ध शसस्त्र प्रतिरोध संचालन गर्नका लागि सूवर्णजीलाई कार्यवाहक सभापति बनाइएको थियो। यस बाहेक कुनै बिकल्प नरहेको अवस्था थियो त्यो। 

    लामो समय पश्चात, बीपी कोइराला अमेरिकामा उपचार गराएर सन् १९७७ नोभेम्बरमा स्वदेश फर्किने क्रममा कलकत्तामा सूवर्ण जीलाई भेटन जानु भएको थियो। अतिशय रूग्ण सूवर्ण शम्सेर बीपीको हात समाएर ‘तपाईको नासो नेपाली कांग्रेसको यो कार्यवाहक सभापतिको पद तपाईलाई फिर्ता बुझाउँदछु’ भन्दै सभापतित्व हस्तान्तरण गर्नुभयो। कलकत्ताबाट फर्किएर बीपी पटनाको ‘आर ब्लक’ स्थित एमएलए क्लबमा आयोजित सभामा यो जानकारी गराउनुहुदाँ म स्वयं पनि साक्षी रहेको हुँ। शायद यसको भोली वा पर्सी कै दिन सूवर्ण शम्सेर जीको देहावसान भएको थियो। वा, एकाध सप्ताह भित्र। नेतृत्व हस्तान्तरणको यो एक अनुपम उदाहरण थियो। 

    पटनाको त्यो सभामा किसुनजी पनि हुनुहुन्थो। यसको साता नबित्दै बीपी पटनाबाट नेपाल फर्किनु भयो। राजा बीरेन्द्रसँग उहाँले त्यस्तै बचनवद्धता गर्नुभएको थियो। नेपाल फर्किनु अघि पटनाको सोही ‘एमएलए क्लब’ को सभामा आफु नेपाल फर्किएपछि अवश्य पनि पक्राउ परिने भन्दै आफु जेल परेपछि साथीहरू हाम्रा प्रिय साथी किसुनजी (कृष्ण प्रसाद भट्टराई)बाट निर्देशन पाई रहनुहुनेछ भन्नु भयो। उहाँले यतिमात्र भन्नु भयो। पटनाबाट काठमाण्डौं फर्किन लाग्दा शानेवानीको विमानमा उहाँले ‘योजनावद्ध’रूपमा सहयात्री बनाउनु भएको एक सहयोगी, जसको नेपाल फर्के पछि गिरफ्तार हुने सम्भावना थिएन।  उहाँलाई काठमाडौंमा सार्वजनिक गर्ने गरी एक खामबन्दी पत्र दिनुभयो। योपत्र सार्वजनिक गरिएपछि सबैले थाहा पाए बीपीले किसुनजीलाई नेपाली कांग्रेसको कार्यवाहक सभापति र परशु नारायण चौधरी र गिरिजाप्रसाद कोइरालालाई महामन्त्री तोक्नु भएको हो। 

    यहाँ मैले यदि यो सत्य उल्लेख गरिन भने इतिहास प्रतिको बेइमानी हुनेछ। बीपीले यो निर्णय शायद शाब्दीक रूपमा नै सत्य ‘महान उदारमना निस्पृह मानव गणेशमान जी’ को सहमतिबाट गर्नुभएको थियो। यो नेपाली कांग्रेसमा साभापतित्व हस्तान्तरणको अर्को अतुलनीय उदाहरण थियो। 

    बिश्वास, सद्भाव र सहकार्यको यो परम्परा कलवलगुडीमा आइपुग्यो, जहाँ बिराटरूपधारी गणेशमान जीको सदिच्छाबाट र गिरिजाबाबुको प्रसन्नताबाट किसुनजी पार्टीको सभापति हुनु भयो। यो पछिल्लो अनुपम उदाहरण थियो, जहाँ आजका धेरै ‘भगवानहरू’ भावातीत भएर मात्र ताली पड्काइ  रहेको थिए। भावातीत भएर!  

    हो, यो सत्य हो। किसुनजी पछि गिरिजा बाबु सभापति हुने बेलामा नेपाली कांग्रेसको ‘अतुलनीय सहमतिको उदाहरण’को इतिहासमा प्रतिस्पर्धाले प्रवेश पायो। तरपनि त्यो शिष्ट थियो। शिष्ट यस कारणले कि किसुन जीले मन नपराए पनि आफुलाई गिरिजाबाबु बिरूद्ध उम्मेदवार बनाउनुभएन। उहाँले चिरन्जिवी वाग्लेलाई कांग्रेसको सभापतिमा समर्थन गर्नुभयो। यो पनि संसारमा विरलै पाईने उदाहरण थियो। ‘मानिस मन त परेको छैन, तर मानिस गैर नेपाली कांग्रेस होईन।’ निलकण्ठ हुनुहुन्थ्यो किसुनजी, सत्यमा ‘निलकण्ठ’,  अद्वीतीय, एकल र अद्वैत ! 

    गिरिजाबाबुपछि कांग्रेसमा नेतृत्व हस्तान्तरण प्रक्रियाको कुरा न गरौं। शायद मलाई थाहा नभएर पनि होला। किन की त्यो समयमा मेरो मृत्यू भइसकेको थियो। म त्यो सुन्दर लोकमा रहिनँ। 

    तर, आज नर्कबाट कांग्रेसको त्यो स्वर्ग तिर हेर्दछु। अचम्म लाग्दछ। सोध्छु, प्रभू के भैरहेको छ, मेरो पुरानो कांग्रेसमा ? 
    बडो आराधना पछि म जवाफ पाउँछु। मलाई कसैले एउटाटा शास्वत कुरो भन्छ। त्यो हो, ठूला र सिद्ध योगीहरूको मृ्त्यू भएपछि योगीलाई पंचतत्वमा विलिन गराइए पछि योगीको कुटीलाई आगो लगाई भष्म गरिन्छ।

    यो कथन म सप्तरीको मेरो वनकुटीमा सुन्दछु। अनि तन्द्रामा सोध्छु किन नी?  कुटी किन जलाउने नी?  जवाफ आउँछ, हेर त्यो कुटीमा मृत्यूपर्यन्त पनि सिद्ध योगीको आत्माको बास रहेको हुन्छ। तसर्थ, नयाँ योगीले कुटी डढाउने गर्छन्। पूर्ववर्ती प्रतापी योगीको प्रभावबाट मुक्त हुन्। स्वच्छन्द हुनका लागी। 

    (लामो समय कांग्रेसको राजनीति गरेका गुप्ता पूर्वमन्त्री हुन्।)

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology