वेबटिभी खबर
अंकारा । टर्कीका एक मजदुरले आफूले ज्याला नपाएको झोंकमा कोइलाखानीका ६ ओटा ट्रक ध्वस्त पारिदिएका छन् । आफ्नौ काकाले ज्याला नदिएपछि सिरनक प्रान्तका ती मजदुर तोडफोडमा उत्रिएका हुन् । एउटा भिडियोमा उनले डोजर र स्काभेटर लगाएर ती ट्रक ध्वस्त पारेको देखिन्छन् ।
मजदुरले जथाभावी ट्रकमा डोजर लगाउँदा अन्य सहकर्मीले हस्तक्षेप गरेको त्यहाँको कोनहर्ब समाचार संस्थाले जनाएको छ । तोडफोडपछि हकन एम नाम गरेका ती मजदुर पक्राउ परेका छन् । उनीमाथि कानूनी कारबाही हुने समाचारमा जनाइएको छ ।
उनी लामो समयदेखि सो कोइलाखानीमा काम गर्थे । मालिकले दिएको ज्याला आफ्नै काकाले खाइदिएपछि त्यसको रिस उनले कारखानामा पोखेका थिए ।
यसअघि बेलायतका पनि यस्तै घटना भएको थियो । पारिश्रमिक नपाएको रिसमा घरेलु कामदार डारेन भेरिटीले मालिकका महंगा गाडि तोडफोड गरेका थिए । उनलाई अपराधसम्बन्धी मुद्दामा जेल चलान गरिएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij