Logo

२०७८, कार्तिक ६ गते शनिवार

२०७८, कार्तिक ६ गते शनिवार

वीपीसँग गणेशमानको भेट र विराटनगर जुट मिलमा मजदुर हडताल

वीपीसँग गणेशमानको भेट र विराटनगर जुट मिलमा मजदुर हडताल

  • 361
    SHARES
  • वीपीसँग  गणेशमानको भेट र विराटनगर जुट मिलमा मजदुर हडताल

    वीपीसँगको भेट

    कलकत्तामा गणेशमान सिंह खाल्सा होटलमा बसे किनकि यो एक स्तरीय होटल थियो र उनी वीपी कोइरालामाथि राम्रो प्रभाव पार्न चाहन्थे । कोइरालाको खोजीमा उनको भेट दार्जीलिङका दुई नेपालीहरूसँग भयो- डीएन प्रधान र डीके शाही । उनीहरू दुबै पहिले गोर्खा लिगका सक्रिय सदस्य थिए तर पार्टी राणावादी भएपछि छोडेका थिए । शाही र प्रधान प्रजातन्त्रवादी थिए र त्यसैले उनीहरू वीपी कोइरालाको आह्वानमा उनीसँग भेट गर्न आएका थिए ।

    दुर्भाग्यबस्, सिंहले कोइरालालाई एक दिनले भेट्न पाएनन् । शाहीले सिंहलाई बताए कि कोइराला एकदिन मात्र अघि पटना गएका हुन् र एक हप्तामा फर्कनेछन् । त्यस हप्ता सिंहले शाही र प्रधानसँगै घुलमिल गर्दै बिताए । एक हप्तापछि कोइराला कलकत्ता आइपुगेको खबर आइपुग्यो । ‘बाहिर जस्तो देखाए पनि मनमनै खुसी लागेको थियो कि कोइरालाजीसित भेट हुने नै भयो,’ पछि गणेशमान माथवर सिंहलाई बताउँछन् ।

    भोलिपल्ट मिटिङमा भेट हुने कुरा डीके शाहीले आएर गणेशमानलाई बताए र उनीहरू मिटिङमा पनि सँगै पुगे । ‘कोइरालाजीको बारेमा मेरो मानसमा जुन चित्र थियो, उनी त्यस्तो बिल्कुलै थिएनन्,’ वीपी कोइरालासँगको उनको पहिलो भेट बारे उनी सुनाउँछन् । कोइरालासँग शाहीले सिंहको परिचय गराए । ‘काठमाडौंबाट राणा सरकारको जेल तोडेर भाग्नुभएका गणेशमानजी उहाँ नै हुनुहुन्छ,’ शाहीले कोइरालालाई भने ।

    कोइरालाले नमस्कार गर्दै गणेशमानकाबारे सबै सुनेको र भेट्न चाहेको कुरा व्यक्त गरे । आफ्नो सिटमै बसिरहेका सिंहले कोइरालाको विनम्रता स्वीकार मात्र गरे तर केही भनेनन् । एकैछिनमा बैठक सुरु भयो र कोइरालाले आफ्नो आह्वानको सन्दर्भमा भेला आयोजना भएको उद्देश्यमा प्रकाश पारे ।

    कोइरालाको भाषणले कोठामा भएका सबैलाई प्रभावित पारेको कुरा सिंह सम्झन्छन् । ‘अब छिट्टै अंग्रेजहरू भारतबाट जानेछन् । उनीहरू गएपछि अंग्रेजको आड र संरक्षणमा रहेको राणा शासन पनि हामी फाल्न सक्छौँ । त्यसका लागि हामीले अहिले नै एउटा पार्टीको गठन गरेर स्वतन्त्रताको दिशातिर काम गर्न थाल्नुपर्छ,’ कोइरालाले भाषणमा भने । भाषणपछि कोइराला र सिंहकोखाल्सा होटलमा त्यहि साँझ भेट्ने सहमति भयो ।

    राष्ट्रिय कांग्रेसको जन्म 

    साँझ कोइराला र उनका भाइ तारिणीप्रसाद कोइराला खाल्सा होटल आइपुगे ।  ‘कोइरालाजीको एक ठूलो गुण के थियो भने उहाँ तुरुन्तै परिस्थितिसँग घुलमिल हुन सक्नुहुन्थ्यो र त्यसैमा मिलेर त्यसलाई आफ्नो बनाउन सक्नुहुन्थ्यो,’ सिंह त्यस दिन सम्झन्छन् ।

    ‘उहाँ आफ्नो सम्बन्धमा होइन, जोसँग कुरा गरिरहनुभएको छ, उसको सम्बन्धमा बढी रुचि लिनुहुन्थ्यो । उहाँले मेरो बारे तीन विशेषतालाई इंगित गर्नुभयो र त्यसले अरू धेरैलाई प्रेरित गर्छ भन्नुभयो,’ सिंह भन्छन्, ‘पहिलो, तपाईं त्यस्तो परिवारबाट आउनुभयो, जुन परिवारलाई राणाको विशेष कृपा थियो । त्यस्तो परिवारको त्याग गरेर परिवर्तनका निम्ति तपाईंले दिनुभएको योगदान सबैका निम्ति अनुकरणीय छ । दोस्रो, तपाईंले जेलबाट भागेर केवल आफूलाई मात्र कैदबाट मुक्त गर्नुभएको होइन, अरू स्वतन्त्र हुन चाहनेका लागि उदाहरण बन्नुभएको छ । तेस्रो, नेपाली इतिहासकै प्रथम जनविद्रोहको प्रतिनिधिका रूपमा नेपालमा भविष्यमा गठन हुने पार्टीका निमित्त तपाईं अमूल्य सम्पत्ति हुनुहुन्छ ।’

    सिंहले पार्टी गठन गर्ने कोइरालाको विचारमा सहमति जनाउँदै पार्टीलाई प्रजापरिषद् नाम दिने प्रस्ताव राख्छन् । ‘मलाई पार्टीको नाम जे भए पनि कुनै आपत्ति हुनेछैन । हामी छिट्टै एक सम्मेलन गर्दैछौँ, जसमा संगठनको नाम, उद्देश्य, नीति र कार्यपद्दति तय गर्नेछौँ । तपाईं पनि त्यहिँ आफ्नो पक्ष राख्नुहोस्,’ कोइरालाले सिंहलाई भने ।

    छलफल गर्दै जाँदा, खर्चको कुरा पनि उठ्यो र सिंहले आफूले वर्षदिनदेखि साँचेर राखेको भारू ८००० वीपी कोइरालालाई पार्टीको स्थापनाका लागि सहयोगका रूपमा सुम्पिदिए । नयाँ पार्टीको सम्मेलन विसं २००३ को माघ १२ र १३ का लागि तय भयो । सम्मेलनमा वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, डीएन प्रधान, गोपालप्रसाद भट्टराई लगायतका नेपाली राजनीतिका धेरै व्यक्तित्वहरूको उपस्थिति थियो।सिंहले पार्टीको नाम प्रजापरिषद् राख्ने प्रस्ताव राखे तर प्रजापरिषद् हिंसावादी भएको र यो पार्टी अहिंसावादी हुने कारणले नाम फरक हुनुपर्ने तर्क आयो । आखिरमा धेरै विवादपछि नयाँ पार्टीको नाम नेपाल राष्ट्रिय कांग्रेस हुने तय भयो ।

    विराटनगर जुट मिल मजदुर हडताल

    नेपाल राष्ट्रिय कांग्रेसको कार्यसमितिको कलकत्ताको बैठकमा गणेशमानको आग्रहअनुसार पार्टीको सभापति टंकप्रसाद आचार्य हुने भए, जो त्यसबेला जन्मकैदको सजाय भोगिरहेका थिए । वीपी कोइरालालाई कार्यकारी सभापति छानियो । विसं २००३ फाल्गुन २१ गते, विराटनगर जुट मिलका मजदुरले हडताल सुरु गरे । उनीहरूले तलब वृद्धि, आवासको उचित व्यवस्था, औषधि र मजदुरका छोराछोरीलाई शिक्षाको व्यवस्था होस् भन्ने माग राखेका थिए ।

    यस हडतालको नेतृत्व तारिणीप्रसाद कोइराला, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला, युवराज अधिकारी र गेहेन्द्रहरि शर्माले गरेका थिए, जो राष्ट्रिय कांग्रेसको गठनले निकै उत्साहित भएका थिए । पार्टीको संगठित व्यवस्थाले उनीहरूको हडताल मजबुत हुन्छ भन्ने उनीहरूलाई विश्वास थियो ।

    दोस्रो चरणको आन्दोलन वीपी कोइराला आफैँ विराटनगर गएर नेतृत्व गरे । गणेशमान सिंह र गोपालप्रसाद भट्टराई पनि यहि आन्दोलनका लागि गएका थिए । भट्टराई त्यहिँ बसेर आन्दोलनमा सहयोग पुऱ्याए भने गणेशमान सिंह चाहिँ भारत नै फर्कने तय भयो ।

    आन्दोलन मजदुरहरूको अवस्था परिवर्तन गर्न सुरु गरिएता पनि यसले गहिरो राजनीतिक परिणाम ल्यायो । आन्दोलनको दोस्रो चरणमा, यस्तो आन्दोलनसँग अपरिचित राणाहरूले घोर दमन प्रयोग गरे । काठमाडौंबाट सेना बोलाइयो र मजदुरहरूमाथि गोली चलाइयो । केहि मजदुरले ज्यान पनि गुमाए र धेरै घाइते भए ।

    आखिरमा आन्दोलनका नेताहरूलाई गिरफ्तार गरियो । पक्राउ पर्नेमा वीपी कोइराला, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, तारिणीप्रसाद कोइराला, युवराज अधिकारी र गेहेन्द्रहरि शर्मा थिए । उनीहरूलाई हतकडी लगाएर पहाडको बाटो काठमाडौं हिँडाइयो ।

    महेन्द्रमान सिंहले आफ्नो किताब फरएभर इन्कम्प्लिट ‘द स्टोरी अफ नेपाल’मा भनेझैँ यसरी, सरकारले आन्दोलनकारीहरूले जे चाहेको त्यहि गर्न पुग्यो । काठमाडौंसम्म हिँड्ने क्रममा, आफूलाई तमासा मात्र नबानाइ बाटो परेका सबै गाउँहरूमा आफ्नो आन्दोलनको पक्षमा र राणाहरूको अन्यायको विरुद्ध उनीहरूले नारा लगाए । यसपछि राणाशासनविरुद्ध देशभर आन्दोलनको सुरूवात भयो ।

    [गणेशमान सिंहको २५ औं स्मृति दिवसको अवसरमा हामीले गणेशमान सिंह फाउन्डेसनको सहयोगमा यो सामाग्री प्रकाशन गरेका हौं- सम्पादक ।]

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology