रेश्मा सिंह
काठमाडौं । बिर्सिने रोग भनेर चिनिने ‘डिमिन्सिया’को मुख्य कारण अल्जाइमर नै हो । अल्जाइमर ‘डिमिन्सिया’ को सामान्य प्रकार हो । जसको परिणामस्वरुप स्मरणशक्ति ह्रास हुने तथा सोच्ने शक्तिमा कमी आउने हुन्छ । यसले मस्तिष्कको कोषिकालाई नष्ट गर्छ । जसकारण बिर्सने, स्मरणशक्तिमा परिवर्तन, अनियमित व्यवहार एवम् शारीरिक प्रक्रियामा प्रभाव पर्छ ।
यो रोगले मानिसको स्मृति क्षय गर्छ । अल्जाइमर रोग ‘एलोइस अल्जाइम’ नामक व्यक्तिको नामबाट सन् १९१०, जुलाई १५ मा राखिएको हो ।
यो रोगबारे जागरुकता बढाउन र शिक्षित गर्न सन २०१२ देखि हरेक वर्ष २१ सेप्टेम्बरमा विश्व अल्जाइमर दिवस मनाइने गरिन्छ ।
डिमिन्सिया रोग लाग्नुको कारण यही हो भनेर अझै पनि पत्ता लागि सकेको छैन । यो रोग लागिसकेपछि मानिसहरुले नियमित गर्ने कार्यहरु गर्न सक्दैनन् । यो रोग लागेपछि हुने समस्यालाई सैद्धान्तिक रुपमा ‘शर्ट टर्म मेमोरी लस’ भन्ने गरिन्छ । यसको अर्थ भर्खरै भएका गतिविधि बिर्सिनु भन्ने हो ।
कारण
विशेष गरेर यस्तो अवस्थामा दिमागको नशा सुक्छ । बढी उमेर, तनाव, भिटामिनहरुको कमी, अस्वस्थकर खानपानको कारणले यो समस्या देखिन सक्छ ।
यो समस्या ६५ वर्ष उमेर नाघेकालाई बढी देखिने गर्छ । जति उमेर बढ्यो यो समस्या हुने संभावना पनि बढी हुन्छ ।
सामान्यतया ६० वर्षदेखि नै यो समस्या देखिने गर्छ । ६५ वर्षपछि भने प्रत्येक पाँच वर्षमा यसको प्रभाव दुई गुणा बढ्दै जान्छ । यो विस्तारै सुरु भएपछि गम्भिर हुने गर्छ ।
लक्षण
अल्जाइमरको सबैभन्दा सामान्य र सुरुवाती लक्षण भनेको तत्काल भएका घटनाक्रम पनि विर्सनु हो । अल्जाइमरबाट पीडित व्यक्तिले आफ्ना नजिकका मानिसहरुको नाम याद नहुने, सडक, ठाउँ तथा अन्य वस्तुको नाम बिर्सने गर्छन् । रोगको सुरुवाती चरणमा व्यक्तिमा चिडचिडापन बढ्छ । रिसाउने, झर्किने, विस्तारै साथीभाईलाई बिर्सने, धेरै कुराहरु याद गर्न नसक्ने जस्ता लक्षण देखिन्छन् ।
रोगको असर
स्वभावमा परिवर्तन
समस्याको हल गर्न कठिन हुने
गते, समय, वर्ष याद नहुनु
तत्कालै भएका कुरा पनि बिर्सने,
सामाजिक एवम् मनोरञ्जनात्मक गतिविधिबाट टाढा रहने
घर तथा कार्यलयमा काम गर्न नसक्ने अवस्था आउँछ ।
उपचार
डिमिन्सिया हुनुको कारण पत्ता लगाई यसको निदानतिर लाग्नु पर्छ । अल्जाइमर उमेर बढ्दै जाँदा हुने समस्या भएकाले औषधिको माध्यमबाट केही हदसम्म यसलाई कम गर्न सकिन्छ । यो पूर्ण रुपमा निको हुँदैन ।
यी कुरामा ध्यान दिए केही हदसम्म नियन्त्रण गर्न सकिन्छ
पोषिलो खानेकुरा खाने
शारीरिक, मानसिक, सामाजिक एवम् मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुने
रुचि लाग्ने विषयका पुस्तक पढ्ने
लेख्ने वानीको विकास गर्ने
सकारात्मक कुरामा ध्यान दिने
साथीभाइहरुसँग भेटघाट बाक्लो बनाउने
योग तथा ध्यान गर्ने
नाचगान गर्ने, संगीत सुन्ने र गीत गाउने
घरभित्र खेल्न सकिने खेलहरु नियमित खेल्ने ।
वीर अस्पतालका न्यूरोलोजिस्ट डा. सुनिलराम कोइरालासँगको कुराकानीमा आधारित
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij