वेबटिभी खबर
नेकपा एकीकृत समाजवादी पार्टीको बिहीबार (७ असोज) बसेको केन्द्रीय कमिटीको बैठकले महासचिवमा डा.वेदुराम भुसाल चयन गरेको छ । ०७५ सालमा जनताको बहुदलीय जनवादमा विद्यावारिधिसमेत गरेका भुसाल कम्युनिस्ट पार्टीको सैद्धान्तिक पक्षमा बोल्ने नेतामध्येमा पर्छन् । राष्ट्रियसभामा पार्टीको दलका नेतासमेत रहेका उनी तत्कालीन नेकपामा छँदा स्थायी समिति सदस्य थिए । उनै भुसाललसँग सुरञ्जन घिमिरेले गरेको कुराकानीः
एमाले विभाजन गरेर अथवा तपाईंहरूको भाषामा भन्नुपर्दा एमालेबाट विद्रोह गरेर जन्माउनु भएको पार्टीलाई जनताबीच लोकप्रिय बनाउन र स्थापित गर्न महासचिवको आँखाबाट हेर्दा के-कस्ता चुनौती देख्नुहुन्छ ?
चुनौती छ । विशेष गरी नेपाली राजनीतिलाई भ्रष्टीकरण गरिन खोजिँदै छ यो नै एउटा ठूलो चुनौती छ । राजनीतिमा नातावाद, कृपावाद नराम्रो गरी फैलिएको स्थिति छ । राजनीतिक लाभ लिने, राजनीतिक पद खरिद बिक्री गर्नेसम्मका कामहरू भएका छन्, यस्ता प्रवृत्तिलाई कसरी हटाउने भन्ने ठूलो चुनौती छ । राजनीतिका नाममा मौलाएको दलाल पुँजीवादी र सामन्ती अवशेष, व्यक्तिवादी प्रवृत्ति हटाउनु पर्ने चुनौती छ । एक व्यक्तिको पछि अर्को लाग्ने, त्यसको पछि अर्को लाग्ने, भ्रष्टाचारतन्त्र, भ्रष्टाचारीलाई संरक्षण गर्ने प्रवृत्ति सबैभन्दा घातक प्रवृत्ति हो । यो आम नेपाली राजनीतिको विकृत उदाहरण हो । कम्युनिस्ट पार्टीभित्रको कुरा गर्दा पनि उत्तिकै समस्या छ । कम्युनिस्ट विचार, सिद्धान्त र आचरण छोड्ने । दलाल पुँजीवादले ल्याएको उपभोक्तवादी संस्कृति नेपाली कम्युनिस्ट पार्टीभित्र पनि एकदमै बढेर गएको छ । यसले नेपाली कम्युनिस्ट आन्दोलनलाई नै आक्रान्त पारेको छ, कम्युनिस्ट पार्टीलाई यो प्रवृत्ति र संस्कृतिबाट मुक्त पार्न हामीले नयाँ आन्दोलन गर्ने हो ।
पार्टीमा अब कस्तो प्रकारको संगठन बन्छ ?
कार्यभार र कार्यदिशा तयार गरेका छौं । समाजवादको यात्रामा अघि बढौं भनेर हामीले नारा नै दिएका छौं । समाजवादको यात्रामा अगाडि बढ्नका लागि सघाउ पुग्ने खालको संगठन निर्माणमा हाम्रो जोड रहन्छ । पार्टीलाई अझ व्यवस्थित ढंगले जाने प्रयत्न गर्छौं ।
तपाईंले जनताको बहुदलीय जनवादमा विद्यावारिधि गर्नुभएको छ, तर विभाजित भएर नेकपा एस स्थापनापछि हामी जबज मान्दैनौं भन्ने सुनियो । बिचमा यो द्विधा किन देखापर्यो ?
हामीले जबज मान्दैनौं भनेर कहिल्यै भनेको छैन । एमालेले जबज मानेन भन्नेचाहिँ हाम्रो आपत्ति थियो र, हो । जसले आफूले जबज मान्छु भन्छ उसले त्यसको मर्मलाई आत्मसात नगरेपछि हाम्रो विमति देखा परेको हो । विचारको विविधतालाई स्वीकारमात्रै होइन अंगिकार गर्नु जबजको पहिलो विशेषता हो । अहिले केपी ओलीहरूको गुटले आफूलाई जबजवादी भन्छ तर त्यो होइन किनकि त्यहाँ विचारको विविधता छैन । फरक विचारलाई सुन्ने, फरक विचारलाई मनन् गर्ने स्थिति नै त्यहाँ छैन ।
हाम्रो पार्टीमा फरक विचारलाई पनि सुन्ने परिपाटी छ । हामी फरक विचारलाई ग्रहण, स्वीकार र अंगिकार गर्छौं । जबजको दोस्रो विशेषता भनेको लोकतान्त्रिक विधिको शासन हो । पार्टी र देश चलाउँदा एक व्यक्तिले नभई सामूहिक छलफल, सहकार्यकाट चलाइनु हो । देश चलाउँदा संविधान र पार्टी चलाउँदा विधानअनुसार चलाउनु पर्यो । जबजको तेस्रो विशेषता भनेको कम्युनिस्टहरूमा जनवर्गीय चरित्र हुनुपर्छ भन्ने हो । जनताको सेवा गर्ने र जनपक्षीय आचरण भएको हुनुपर्छ भन्ने हो ।
यो तीनवटै कुरा हाम्रो पार्टीले मान्दछ । सबै नेताले यही विचारलाई अगाल्छौं । पार्टीलाई लोकतान्त्रिक विधि र पद्धतिबाट चलाउँछौं । देश चलाउने अवसर पायौं भने लोकतान्त्रिक विधिबाट चलाउँछौं यो हाम्रो प्रतिवद्धता हो यसमा हामी इमान्दारिताका साथ लाग्छौं । जनपक्षीय चरित्र हाम्रो मान्यता हो, यसलाई हामी कार्यान्वयन गर्छौं ।
मुलुकभित्र र पार्टीभित्र दलाल पुँजीपति प्रवृत्ति र उपभोक्तावादी संस्कृतिविरुद्ध तपाईंहरूको आन्दोलनका चरणहरू के-कस्तो हुनसक्छ ?
पहिलो कुरा त खराब आचरणलाई नै हटाउन पर्छ । कृषिप्रधान देश भएकाले कृषिक्रान्तिलाई जोड दिने हो । तर भ्रष्टाचार नियन्त्रण गर्न पनि कृषिक्रान्ति गर्नुपर्छ भन्नु त तर्कसंगत हुँदैन । मुलुकभित्र रोजगारी वृद्धि गर्दै विदेश जाने युवालाई रोक्नेमात्र होइन, नेपालमै काम दिने व्यवस्था गर्नुपर्छ । विदेशमा रहेका युवालाई फिर्ता गर्ने अवस्था त हामीले बनाएका छौं तर युवाको विदेश पलायनलाई रोक्न जरुरी छ ।
कृषि क्षेत्रमा व्यापक परिवर्तन गर्नुपर्यो, स्वदेशी कच्चापदार्थमा आधारित उद्योगको स्थापना गर्नुपर्छ । अरू विभिन्न खालका स्वरोजगारका योजनाहरू ल्याउनु पर्छ । कतिपय ठूला परियोजनाहरू ल्याएर देशमै रोजगारी सिर्जना गर्नुपर्छ । विकासका सम्भावना भएका क्षेत्रको उजागर गरी त्यसमा रोजगारीको पहल गरिनुपर्छ ।
नेकपा एसले विद्यार्थी, युवा, महिला, किसानलगायत जनवर्गीय संगठन कस्तो बनाउँछ ? यस्ता संगठन निर्माणमा महासचिवका हिसाबले तपाईंको आगामी योजना के छ ?
एमाले विशुद्ध व्यक्तिवादी पार्टी बनेको छ । त्यहाँ नीतिअनुसार होइन, नेताअनुसार हिँड्ने प्रवृत्ति छ । हामी पार्टीमा त्यस्तो प्रवृत्तिलाई ठाउँ दिँदैनौं ।
जतिबेला हामी एमालेसँग विद्रोह गर्दैथ्यौं त्यतिबेला नै हामीले आवश्यक रूपमा कमिटी र संगठनहरू निर्माण गरेका थियौं । अहिले तिनिहरूले पूर्णता पाउने क्रममा छन् । महिला, विद्यार्थी, मजदुर, युवा, प्रेस संगठन, कर्मचारीलगायत विभिन्न जनसंगठनहरू बन्दै गएका छन् । पार्टीलाई चाहिने जनसंगठनहरू हामीले निर्माण गरेका छौं, केही निर्माणका चरणमा छन् । पार्टीलाई हाम्रो लक्ष्य र उद्देश्यअनुसार चलाउनका लागि कस्तो संगठन आवश्यक पर्छ हामी निर्माण गर्छौं । सैद्धान्तिक रूपमा हामीसँग जुन योजना छ त्यसअनुसार हामी जनसंगठनहरू निर्माण गर्छौं ।
नेकपा एस नेकपा एमालेभन्दा के-के कुराले फरक र नयाँ हो ?
पहिलो कुरा त कार्यदिशामा फरक छ । एकीकृत समाजवादी समाजवादको यात्रामा अघि बढ्ने पार्टी हो । समाजवादी कार्यदिशा अगालेको छ । नेकपा एमाले समाजवादतर्फ जान चाहदैन । एमालेले हालै निकालेको प्रतिवेदन हेर्नुहोला त्यहाँ अहिल्यै समाजवादी कार्यक्रम दिनेबेला भएको छैन भनेर प्रष्टै लेखिएको छ । हामीले चाहिँ अब नेपाली समाजलाई समाजवादी दिशातिर लाने बेला भयो भनेका हौं ।
नेपाली समाजमा पुँजीवादको अन्त्य गर्दै समाजवाद ल्याउने कार्यदिशा हाम्रो हो । हामीले नेपाली विशेषतालाई सुहाउँदो समाजवादको मोडेल तयार गर्नुपर्छ त्यो मोडेल कार्यान्वयन गर्नुपर्छ भन्नेमा प्रष्ट धारणा राखेका छौं । एमालेमा यही कुरा भिन्न छ । दोस्रो कुरा- एमाले भनेको विशुद्ध व्यक्तिवादी पार्टी बनेको छ, नेतावादी पार्टी बनेको छ । त्यहाँ नीतिअनुसार होइन, नेताअनुसार हिँड्ने प्रवृत्ति छ । हामी पार्टीमा त्यस्तो प्रवृत्तिलाई ठाउँ दिँदैनौं ।
हामी कम्युनिस्ट पार्टीलाई नेताप्रधान होइन नीतिप्रधान बनाउँछौं, विचारप्रधान बनाउँछौं । यो पार्टीलाई विधि र प्रक्रियाअनुसार चल्ने पार्टी बनाउँछौं । कम्युनिस्टहरूको आचरण कस्तो हुनुपर्छ भनेर देखाउने उदाहरणीय पार्टी बनाउँछौं, जनपक्षीय आचरण भएको पार्टी र जनतामा सँगसँगै जाने पार्टी बनाउँछौं ।
जेठमा जीवन राईले निर्वाचन आयोगमा दर्ता गरेको नेकपा एकीकृत पार्टी र कलम चुनाव चिह्न लिनका लागि पार्टी एकताको प्रयास गरिरहनु भएको छ । यसका साथै आगामी निर्वाचनसम्ममा तपाईंहरू कुन-कुन पार्टीसँग एकता गर्ने तयारीमा हुनुहुन्छ ? कि चुनावमा एक्लै जाँदैहुनुहुन्छ ?
तत्काल हामी कुनै पार्टीसँग एकता गर्दैनौं । चुनावी मोर्चा हाम्रो विचार मिल्नेसँग हुन्छ । जीवन राईको पार्टीको कुरा गर्नु भो, यो कुनै ठूलो पार्टी होइन । एमालेसँग विद्रोह भइरहेको बेलामा हाम्रै कमरेडहरूको सल्लाहमा दर्ता गरिएको पार्टी हो, अहिले यो एउटा सानो संगठनका रूपमा छ । अहिले यसलाई यत्तिकै राखौं चुनाव चिह्न अर्को लिऔं भन्न पनि सकिन्छ अथवा एकता गरेर कलम चुनाव चिह्न लिन पनि सकिन्छ । यसमा हामीले अहिल्यै यही गर्ने भन्ने टुंगो लगाएका छैनौं । पार्टी एकता तत्काल नभए पनि विचार मिल्ने दलसँग चुनावमा हाम्रो सहकार्य र गठबन्धन हुन्छ ।
यस हिसाबले आगामी निर्वाचनमा नेकपा एसको पोजिसन या हैसियत कस्तो रहने आकलन गर्नु भएको छ ?
हाम्रो राम्रो पोजिसन हुन्छ । अहिलेभन्दा धेरै राम्रो हुन्छ । अहिले हाम्रो जिल्ला-जिल्लामा नेता, कार्यकर्ता, शुभचिन्तकको उपस्थिति र सञ्चार माध्यममा आएका विचार, समाचारले नै हामी राम्रो अवस्थामा छौं भन्ने देखाइसकेको छ । हाम्रो पार्टीका नेता, कार्यकर्तामा नयाँ उत्साह देखिएको छ । हामी नयाँ कमिटीहरू बनाउँदै जाँदैछौं, त्यसमा सदस्यहरूको राम्रो सहभागिता छ ।
पहिले एमालेमा हुँदा तपाईंहरू एक व्यक्ति एक पदको वकालत गुर्नहुन्थ्यो तर अहिले तपाईंहरूकै पार्टीमा अध्यक्ष र दलको नेता नै माधव नेपाल हुनुहुन्छ, यसप्रति तपाईंको टिप्पणी के छ ?
हामीले एक व्यक्ति एक प्रमुख कार्यकारी जिम्मेवारी भनेका हौं । दलको नेता कार्यकारी पद होइन, प्रधानमन्त्री भयो भने कार्यकारी हुन्छ । राजेन्द्र पाण्डे बागमती प्रदेश दलको नेता हो, उहाँ आज उपाध्यक्ष हुनुभएको छ । म राष्ट्रियसभामा दलको नेता पनि छु, यो कार्यकारी पद होइन । पार्टीको पदमा बस्नेले कत्ति पनि कामै नगर्ने भन्ने त हुँदैन । खासगरी प्रधानमन्त्री र पार्टी अध्यक्ष एकै व्यक्ति हुनुहुँदैन भन्ने हाम्रो अडान र मान्यता हो ।
नेकपा एस अध्यक्ष माधव नेपालसहित १४ सांसदलाई एमालेले कारबाही गरेको अवस्था छ । यसमा एमालेले सभामुखलाई पक्षपाती देखाउँदै सदनमा अवरोध गर्दै आएको छ । यो अवस्था कहिलेसम्म रहला ?
एमालेले हाम्रा माननीयज्यूहलाई गरेको कारबाही अवैधानिक र अनधिकृत छ । त्यो भनिएको कारबाही न त पार्टीको विधानअनुसार छ न त मुलुकको संविधानअनुसार छ । एमालेले धेरै पहिलेको घटनालाई जोडेर गरेको कारहबाही अहिलेको अवस्थामा सान्दर्भिक हुँदैन । यसमा सम्माननीय सर्वोच्च अदालतमा पनि मुद्दा रहेकोजस्तो मलाई लाग्छ, तर त्यो मुद्दाप्रति त म केही बोल्दिनँ । कानुनसंगत तरिकाले त्यो मुद्दा निरुपण हुनुपर्छ र हुन्छ भन्ने मेरो धारणा हो । सर्वोच्चले गर्ने फैसला हाम्रो विपक्षमा हुने जस्तो मलाई लाग्दैन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij