Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

मन्त्रिपरिषद् विस्तारको तयारी, को–को बन्दैछन् मन्त्री? 

मन्त्रिपरिषद् विस्तारको तयारी, को–को बन्दैछन् मन्त्री? 

  • आश्विन १३, २०७८ बुधवार ०९:५० बजे
  • 573
    SHARES
  • मन्त्रिपरिषद् विस्तारको तयारी, को–को बन्दैछन् मन्त्री? 

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले अहिलेसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्। मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भनेर आलोचना भइरहेका बेला उनले सत्तासाझेदार दलका नेताहरुसँग मन्त्रिको सूची बुझाउन ताकेता समेत गरेका छन्। 

    देउवाले ताकेता गरेपछि कांग्रेस, माओवादी, एकिकृत समाजवादी र जनता समाजवादी मन्त्री छनोटको कसरत गरिरहेका छन्। बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको तयारी छ । सोमबार राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज भएसँगै मन्त्रिपरिषद् विस्तारको बाटो खुलेको हो ।

    कांग्रेसले ७, माओवादी, जसपा र एकीकृत समाजवादीले ५ मन्त्री र एक राज्य मन्त्री पाउने सैद्धान्तिक सहमति छ । भोलि बस्ने बैठक मन्त्रालयगत भागबण्डा टुङ्ग्याउने छ ।

    कांग्रेसको बरिष्ठ नेता रामचन्द्र पौडेल समुहबाट मन्त्रीका लागि सुजाता कोइराला, मिनेन्द्र रिजाल, दिलेन्द्र बडु, तेजुलाल चौधरी र राजन केसीको नाम प्रस्तावित छ । महामन्त्री शशांक कोइराला निकट स्रोतका अनुसार कांग्रेसबाट मन्त्रीमा महिलाको सहभागिता नभएकाले सुजाताको सम्भावना बलियो छ ।

    प्रधानमन्त्री देउवाले पुष्पा भुसाललाई मन्त्री बनाउने चर्चा थियो । तर, आफ्नो समूहबाट ४ जना मन्त्री बनाउँदा देउवाको रोजाइमा भुसाल पर्न सकिनन् । त्यसको लाभ सुजातालाई पर्ने देखिएको छ ।

    प्रधानमन्त्री देउवाले २९ असारमा प्रधानमन्त्रीको कार्यभार सम्हाल्दा आफू निकट बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्र कार्कीलाई कानुन मन्त्री बनाएका थिए । साउन १० गते स्वास्थ्य राज्यमन्त्रीमा आफू निकट उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए । यस्तै असोज ६ गते देउवाले आफू निकट डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएका  छन् । अब काँग्रेसले पाउने तीन मन्त्रालयमा पौडेल र सिटौलाको कोटा मात्र बाँकी छ ।

    ती नेताका अनुसार शशांक कोइरालाले सुजाता, मिनेन्द्र र दिलेन्द्रमध्ये एकजनालाई मन्त्री बनाउनेछन् । यस्तै रामचन्द्र पौडेल र प्रकाशमान सिंहले तेजुलाल चौधरी र राजन केसी मध्येबाट एक जना छान्ने अवस्था छ । चौधरी पौडेलसँग नजिक छन् भने केसी सिंह निकट हुन् ।
    कृष्णप्रसाद सिटौलाले भने उमाकान्त चौधरी र भीमसेनदास प्रधानमध्ये एक जनाको नाम पठाउने भएका छन् ।

    माओवादी केन्द्रले यसअघि जनार्दन शर्मालाई र पम्फा भुसाललाई उर्जा मन्त्रीका रूपमा सरकारमा पठाएको छ । अब माओवादीले चार मन्त्री पाउने छ । अब माओवादीबाट हरिबोल गजुरेल, देवेन्द्र पौडेल, सुरेशकुमार राई र सुदन किराती मध्ये दुईजना मन्त्री बन्ने छन् । यस्तै महिलाबाट जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठ मध्ये एकजना मन्त्री बन्ने सम्भावना छ ।

    मधेसबाट यसपटक मन्त्रीका लागि मातृका यादव, अमनलाल मोदी र शिवकुमार मण्डलको नाम चर्चामा छ । 

    एकीकृत समाजवादीले विरोध खतिवडा, मेटमणि चौधरी, शेरबहादुर कुँवर, रामकुमारी झाँक्री, भवानी खापुङ, किसान श्रेष्ठ, प्रेम आले र जीवनराम श्रेष्ठ मध्येबाट ६ जना मन्त्री बनाउने तयारी गरेको छ। 

    जसपाले मन्त्री छनोटको जिम्मा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र नेता अशोक राईलाई जिम्मा दिएको छ । जसपाबाट राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, मृगेन्द्र सिंह, प्रमोद साह र रेणु यादव मन्त्री हुने करिब निश्चितजस्तै रहेको स्रोतको दाबी छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij