वेबटिभी खबर
काठमाडौं । आउँदै गरेको दसैंलगायत चाडपर्वमा यात्रुलाई आवतजावतमा सहजता पु¥याउने उद्देश्यले तीन जिल्लाका राजमार्गका खाल्डाखुल्डी मर्मतसम्भारको काम सुरु गरिएको छ । मकवानपुर, बारा र पर्सामा सडक मर्मतसम्भारको काम सुरु गरिएको सडक डिभिजन कार्यालय हेटौंडाका कार्यालय प्रमुख खड्गलाल श्रेष्ठले जानकारी दिए ।
बाराको धनसारदेखि पथलैयासम्म, मकवानपुरको हेटौंडाहुँदै लोथरसम्म र हेटौंडाको भैँसेहुँदै मकवानपुरको दामचौरका विभिन्न क्षेत्रमा सडकका खाल्डाखुल्डी मर्मतसम्भारको काम अघि बढाइएको हो । सडक डिभिजन कार्यालय हेटौँडाको कार्य क्षेत्र मकवानपुर, बारा र पर्सा पर्दछ ।
संघीय सरकारको करिब एक करोड रूपैयाँको लागतमा सडक मर्मतको काम सुरु गरिएको सो कार्यालयले जनाएको छ । आगामी १० दिनभित्र सडक मर्मतको काम सकिने योजना रहेको कार्यालयका इञ्जिनीयर लोमश उपाध्यायले जानकारी दिए । साथै कार्यालयले अन्य सडक र पुल निमार्ण तथा मर्मतको कामसमेत जारी राखेको जनाएको छ ।
यसैबीच बारा र पर्सा गरी दुई जिल्लामा गत आव ०७७७८ मा आठ पक्की पुल निर्माण सम्पन्न भएका छन् । त्यसमध्ये बारामा चार र पर्सामा चार पुल निर्माण भएका हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij