सप्तरी । राजविराज नगरपालिका–२ की २५ वर्षीया रूवीकुमारी साफी सोमबार बिहान आफ्नै कोठामा झुन्डिएको अवस्थामा भेटिएकी छन् । उनी गजेन्द्रनारायण सिंह अस्पतालमा कम्प्युटर अपरेटर पदमा कार्यरत थिइन् ।
एक वर्षअघि रुवीका श्रीमान् राजन साफीको मृत्यु भएको थियो । उनी अस्पतालको फार्मेसीमा कार्यरत थिए । श्रीमान्को मृत्यु भएपछि रुवी घरेलु हिंसाको सिकार बनेको अस्पतालमा कार्यरत कर्मचारी बताउँछन् । रूवी र राजन दुई छोराछोरीसहित डेरा गरी बस्दै आएका थिए । राजनको मृत्यु भएलगत्तै रुवी र नातिनातिनालाई सासूससुराले घर ल्याएका थिए । त्यसपछि उनी घरेलु हिंसामा परेकी थिइन् ।
फार्मेसीमा कार्यरत राजन कोरोनाबाट मृत्यु भएपछि नेपाल सरकारले क्षतिपूर्तिबापत दिएको २५ लाख रुपैयाँ रुवीका सासू र देवरले हात पार्न निकै प्रयास गरेका थिए । त्यही विषयमा घरमा विवाद सुरु भएको थियो । श्रीमानको मृत्यु भएपछि अस्पतालले रुवीलाई कम्प्युटर अपरेटर पदमा जागिरसमेत दिएको थियो ।
घरझगडा सहन नसकेपछि रुवी केही दिनअघि मामाघर गएकी थिइन् । मामाघर जाँदासमेत उनीसँगै छोराछोरी लैजान दिइएन । रुवी आइतबार पनि अस्पतालमा आएर काम गरेको उनका सहकर्मीहरू बताउँछन् । ‘भोलि (सोमबार) श्रीमानको वार्षिक तिथि छ। तीन दिनपछि मात्र अस्पताल आउँछु भनेको मान्छे आज यस्तो भएको सुन्दा म स्तब्ध भएँ,’ रुवीका एक सहकर्मीले भने ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले भने, ‘शव पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल लगिएको छ। अनुसन्धान भइरहेको छ। हत्या हो कि आत्महत्या भन्न सकिने अवस्था छैन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij