Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

एमाले नेताहरू भन्छन्- पार्टीमा मिल्नै नसक्ने गरी विवाद छैन 

एमाले नेताहरू भन्छन्- पार्टीमा मिल्नै नसक्ने गरी विवाद छैन 

  • 784
    SHARES
  • एमाले नेताहरू भन्छन्- पार्टीमा मिल्नै नसक्ने गरी विवाद छैन 

    काठमाडौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशन भर्खरै सकिएको छ । विधान महाधिवेशनमा मुख्यतः पार्टी पदाधिकारी संख्या परिवर्तन भएको छ । एमालेको विवाद चर्किएका बेलामा वरिष्ठ नेता माधव नेपाल पक्षमा लागेर पार्टी अध्यक्ष केपी ओलीको कटु आलोचना गर्दै आएका अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, डा.भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, रघुजी पन्त, भीम आचार्य र गोकर्ण विष्टलगायत १० जना नेता पार्टी फुटेपछि भने एमालेमै बसे ।

    खासगरी प्रतिनिधिसभा विघटनपछि तत्कालीन नेकपा हुँदै एमालेभित्र विवाद चर्किएको थियो । तर, त्यो विवादको अहिले कुनै गुञ्जयास नरहेको स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे बताउँछन् । ‘पार्टीमा फरक विचार देखिनु कुनै आश्चर्यको विषय होइन । तर पार्टीमा मिल्नै नसक्ने गरी कुनै प्रकारको विवाद देखिएको छैन,’ पाण्डेले वेबटिभी खबरसँग भने ।

    विधान महाधिवेशअघि १० असोजमा बसेको केन्द्रीय कमिटी बैठकमा उपमहासचिव घनश्याम भुसालले समाजवादमा जाने आाधार के हो ? भन्दै अध्यक्ष केपी शर्मा ओलीसमक्ष प्रश्न राखेका थिए । अध्यक्ष केपी शर्मा ओलीको दस्तावेजमा प्रष्ट कुरा नआएकाले यसबारेमा आफूले ध्यानाकर्षण गराएको जनाएका थिए ।

    तर,विधान महाधिवेशनमा पार्टीमा मिल्नै नसक्ने खालको फरक विचार नआएको उपमहासचिव विष्णु पौडेलले स्पष्ट पारेका छन् । विधान महाधिवेशनमा पार्टीबाट बाहिरिएका माधव नेपाललगायत नेतालाई निःशर्त पार्टीमा स्वागत गर्नुपर्ने पनि सुझाव पेश गरिएको थियो । तर, यसका लागि भने एमालेको कुनै तयारी गरेको छैन । १ भदौमा सरकारले दलसम्बन्धी अध्यादेश ल्याएर कानुनी रूपमा नै माधव नेपालले ९ भदौमा नयाँ दल दर्ता गरेका थिए ।

    ‘पार्टीमा मिलेर बस्न नसकेपछि केही व्यक्तिले पार्टी छोडेर हिँड्छन् भने फेरि उनीहरूलाई नै पार्टीमा ल्याउन जरुरी छैन,’ केन्द्रीय कमिटीका ओलीनिकट एक नेताले बताए । ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि भएको छलफलमा विधान महाधिवेशनका प्रतिनिधिहरूले ‘पार्टीलाई होइन व्यक्तिलाई ब्राण्ड’ बनाउन खोजेको भन्दै अध्यक्ष ओलीप्रति असन्तुष्टि जनाएका थिए ।

    उपमहासचिव भुसालले पनि सामूहिकता र संगठनात्मक प्रणाली नबाँचे एमाले जीवित नरहने तर्क गरेका थिए । ‘नेकपा एमालेको जीवनशक्ति सामूहिकता र संगठनात्मक प्रणाली थियो । त्यसलाई बचाउन सकिएन भने अरू कुनै चिजले हामीलाई बचाउन सक्दैन । यति कुरा बुझ्यौं भने हामीलाई कसैले हराउन सक्दैन,’ अधिवेशनलगत्तै भुसालले सामाजिक सञ्जालमार्फत विचार व्यक्त गरेका थिए ।

    माओवादीबाट आएका र १० नेताप्रति कस्तो बन्यो धारणा ?

    विधान महाधिवेशनमा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । ओलीबाहेक संगठनात्मक प्रतिवेदन तयार पारेका महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रतिवेदन तयार पारेका उपमहासचिव विष्णु पौडेलको महाधिवेशनमा महत्वपूर्ण भूमिका रह्यो । तर, विधान महाधिवेशनका मूल व्यवस्थापन समिति संयोजक रहेका रामबहादुर थापा (बादल) देखिनेगरी कुनै जिम्मेवारी दिइएको थिएन ।

    व्यवस्थापन प्रमुखले कार्यक्रम व्यवस्थापनबारे मन्तव्य राख्ने एमालेमा चलन भए पनि यसपटक त्यो परिपाटी नदेखिएको भन्दै महाधिवेशनमा उपस्थित कतिपय नेताले आश्चर्यसमेत व्यक्त गरेका थिए । ‘माओवादी केन्द्रबाट एमालेमा रहेका र १० बुँदे सहमतिमार्फत एमालेमै बसेका शीर्ष नेताहरूले महाधिवेशनमा सम्बोधनको अवसर नपाउनु अनौठो छ,’ स्थायी कमिटीका एक नेताले भने, ‘तर यत्तिकै आधारमा एमालेमा हाम्रो स्थान रहेनछ भनेर बुझ्नु हुँदैन । माओवादीबाट रहनु भएका र १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमतिमा बसेका नेताहरूलाई सम्बोधनको अवसर दिएर पार्टी एकताबद्ध भएको सन्देश दिनु बुद्धिमतापूर्ण काम हुनसक्थ्यो तर नेतृत्व तहबाट त्यो हुन सकेन ।’

    ‘पार्टीमा विवाद छैन’

    केन्द्रीय कमिटी सदस्य विष्णु रिजाल एमालेमा सतहमै देखिने गरी कुनै प्रकारको विवाद नरहेको बताउँछन् । ‘पार्टीलाई व्यवस्थित बनाउन हामी सबै लागिपरेका छौं । हिजो, अस्तिसम्म पार्टीमा केही विवादहरू थिए । तर, अहिले त्यस्तो कुनै प्रकारको विवाद छैन । पूर्वमाओवादीबाट रहनु भएका र १० बुँदे कार्यान्वयन हुने भएपछि बस्नुभएका सबै कमरेडहरूमा असन्तुष्टि छैन,’ रिजालले वेबटिभी खबरसँग भने, ‘सुदूरपश्चिम प्रदेशको समस्या समाधान गर्न पनि हालै गठित कार्यदलले काम गरिरहेको छ । नेताहरू छलफलमा हुनुहुन्छ, केही दिनमै विवाद समाधान हुनेछ ।’

    रिजालले फागुन-चैतमा स्थानीय तह निर्वाचन हुने भएकाले त्यसलाई लक्षित गर्दै ६ कात्तिकमा वडा अधिवेशन र ९ कात्तिकमा पालिका अधिवेशन गर्ने बताए । उनले आसन्न महाधिवेशनको तयारीका लागि विधानको भाषा सम्पादनको काम द्रुत गतिमा भइरहेको जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij