काठमाडौं । नेकपा माओवादी केन्द्रकाअध्यक्ष पुष्पकमल दाहालले आज (विहिबार) मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन्। उनले आजै मन्त्री नियुक्त हुने र शपथ हुने बताएका हुन्। ‘उस्तै परे आज क्याबिनेट शपथ ग्रहण हुन्छ होला, पूर्णता पाउँछ,’ उनले भने।
आफ्नो पार्टीका तर्फबाट मन्त्रीहरूको नाम टुंग्याएका प्रचण्डले त्यसको भोलिपल्ट बिहीबार बिहान पचली टिभीको उदघाटन समारोहलाई सम्बोधन गर्दै मन्त्रीको शपथ कार्यक्रम विहिबार नै हुने सम्भावना रहेको बताएका हुन्।
आफ्नो पार्टीका तर्फबाट महिला ५० प्रतिशत, दलित, मधेसीलगायत सबै समुदाय सरकारमा सहभागी गराउने निर्णय गरेको उनको भनाइ थियो। माओवादी केन्द्रले बुधबार देवेन्द्र पौडेल, महेश्वर गहतराज, शशी श्रेष्ठलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको थियो।
यसअघि माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल सरकारमा सहभागी भएका छन् । बुधबार बसेको सत्तारुढ दलको बैठकले कांग्रेसले प्रधानमन्त्रीसहित आठ, माओवादी केन्द्रले छ, नेकपा (एस) र जसपाले चार–चारवटा मन्त्रालय लिने सहमति भएको थियो । यस्तै, नेकपा (एस), माओवादी केन्द्र र जसपाले एक–एक राज्यमन्त्री पाउने सहमति भएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij