वेबटिभी खबर
काठमाडौं । सत्तारुढ गठबन्धनका दलले मन्त्रीको नाम टुंगो नलगाउँदा बिहीबार मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना न्युन बनेको छ । मन्त्रालयको भागबण्डामा सहमति भए पनि मन्त्रीको नाम टुंगो नलाग्दा मन्त्रिपरिषद विस्तार अझैं अन्यौलपूर्ण छ। गठबन्धनमा रहेका दलले मन्त्रीको नाम टुंग्याए बुधबारभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भए पनि माओवादीबाहेक अन्य दलले मन्त्रीको नाम टुंगो नलगाउँदा मन्त्रिपरिषद्ले पूण्र्नता नपाएको हो ।
गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले भने मन्त्रीको नाम टुंगो लगाएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले माओवादीबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराजलाई मन्त्री र वोधमाया यादवलाई राज्यमन्त्रीमा पठाउने निर्णय गरेको हो । गठबन्धनका अन्य दलले भने नाम टुंग्याएका छैनन् । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसमा रामचन्द पौडेल पक्षले पाउने मन्त्रालयका कुरा नमिल्दा बुधबार बसेको पदाधिकारी बैठकले निष्कर्ष निकाल्न सकेन ।
कांग्रेसले अब पाउनुपर्ने तीनमध्ये सबै पोडेल पक्षले दाबी गरे पनि देउवा दुई मात्र दिन तयार भएपछि देउवा–पौडेलबीच विवाद चर्किएको थियो ।यस्तै अर्को सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले मन्त्रीको नाम टुंगो लगाउनका लागि बिहीबार स्थायी कमिटी बैठक बोलाएको छ । पार्टीले चार मन्त्रालय मात्रै पाउने भएपछि मन्त्री आकांक्षी नेतालाई मनाउन गाह्रो हुने देखिएकाले नेकपा एसभित्र यो विषय पेचिलो बनेको छ ।
यस्तै जनता समाजवादी पार्टी, नेपाल (जसपा)मा पनि आकांक्षी धेरै भएकाले निर्णय हुन सकेको छैन । जसपामा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र शीर्ष नेता अशोक राईले मन्त्रीको नाम टुंगो लगाउने जिम्मेवारी पाएका छन् । जसपाले पनि बिहीबार नै मन्त्रीको नाम टुंगो लगाउने बुझिएको छ ।
जसपामा महेन्द्रराय यादव, राजेन्द्र श्रेष्ठ, रेणु यादव, प्रदीप यादव, मृगेन्द्र यादव, अमृता अग्रहरी, मोहम्मद इस्तियाक राई, रामसहाय यादवलगायत मन्त्रीको सर्ट लिस्टमा परे पनि नाम टुंगो लगाउन बाँकी रहेको र बिहीबार अपराह्नसम्मा मन्त्रीको नाम टुंगो लगाइने पार्टीका एक केन्द्रीय नेताले बताए । सरकारको नेतृत्व गरिरहेको कांग्रेस साथै गठबन्धनमा रहेका दलले मन्त्रीको नाममा टुंगो लगाउन नसक्दा झण्डै तीन महिनासम्ममा पनि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाएको छैन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij