वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेमा नरहने संकेत गरेका केन्द्रीय सदस्य प्रभु साह अध्यक्ष केपी ओली निवास बालकोट पुगेका छन् । नेकपा विभाजित हुँदा एमालेमै रहेका पूर्वमाओवादी नेता साहलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले माओवादीमा फर्काउन पहल गरिरहेका बेला साह एमालेमा रहने, नरहनेबारे छलफलका लागि बालकोट पुगेका हुन् ।
उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू शंकर पोखरेल, टोपबहादुर रायमाझी, लेखराज भट्टलगायतका नेताहरूबीच बालकोटमा साहले ओलीसँग छलफल गरिरहेका छन् । साहका अधिकांश मागहरु पार्टीले पूरा गरिसकेको र नेकपा एकताकै निरन्तरता एमाले हो भनेर विधान महाधिवेशनको दस्तावेजमै आइसकेकाले अब पार्टीमा फर्केर क्रियाशील हुन नेताहरूले आग्रह गरेका छन् ।
साहको नेतृत्वमा ५ साउनमा आइटी आर्मी संगठनको घोषणा गरिएको थियो । केही महिनादेखि साहले सो संगठनको नेतृत्व गर्दै तराईका जिल्लामा कार्यक्रम आयोजना पनि गर्दै आएका छन् । तर पार्टीको अर्को संगठन युवा संघका पूर्वपदाधिकारीहरू महेश बस्नेतलगायतले साह नेतृत्वको आइटी आर्मी खारेज गर्न नेतृत्वसँग माग गरेपछि साह संकटमा परेका हुन् । उनले ८ असोजमा जारी गरेको ८ बुँदे फरक मतको अन्तिम बुँदामा, ‘आइटी आर्मीलाई पार्टीकै जनसंगठनको रूपमा स्थापित गर्ने’ उल्लेख गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij