वेबटिभी खबर
बैतडी । बैतडीको देहीमाडौं र पाटनमा दसैँका बेला लाग्ने मेलामा मदिरा किनबेच गर्न पूर्ण प्रतिवन्ध लगाइएको छ ।
बडादसैँको महाष्टमी र महानवमीका दिन लाग्ने जात्रा तथा मेलालाई शान्तिपूर्ण बनाउन मदिरा बेचबिखन र ओसारपोसारमा रोक लगाइएको हो ।
देहीमाडौंको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा महाअष्टमी र पाटनस्थित प्रसिद्ध उदयदेव मन्दिरमा महानवमीका दिन पशु बलिसहित जात्रा लाग्ने गर्दछ । निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलालाई व्यवस्थित बनाउन देहिमाडौँ बजार क्षेत्रमा घटस्थापनादेखि नै मदिरा बेचबिखन र ओसारपोसारमा रोक लगाइएको छ ।
वडाध्यक्ष रनबहादुर बोहराका अनुसार मदिरा सेवन गरेको पाइएमा दुई हजार, बेचबिखन र ओसारपोसार गरेमा छ हजार रुपैयाँ जरिवाना गरेर मदिरा जफत गरिने छ । त्यसैगरी जुवा खेले वा खेलाएमा तीन हजार रुपैयाँ जरिवाना गरिने भएको छ ।
उदयदेव मन्दिरमा लाग्ने मेलालाई व्यवस्थित बनाउन पनि मदिरा बेचबिखन र सेवनमा प्रतिबन्ध लगाइएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । महाअष्टमी र महानवमीका दिन पूर्णरुपमा रोक लगाइएको हो ।
कोरोना भाइरसको जोखिम कायमै रहेकाले मेला तथा जात्रामा सहभागी हुने दर्शनार्थीलाई अनिवार्यरुपमा स्वास्थ्यका मापदण्ड पालना गर्न पनि आयोजकले आग्रह गरेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij