Logo

२०७८, कार्तिक ६ गते शनिवार

२०७८, कार्तिक ६ गते शनिवार

आज महानवमी पर्व, यसको महत्व र पुजाविधि (भिडयोसहित)

आज महानवमी पर्व, यसको महत्व र पुजाविधि (भिडयोसहित)

  • 92
    SHARES
  • आज महानवमी पर्व, यसको महत्व र पुजाविधि (भिडयोसहित)

    काठमाडौं । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज (बिहीबार) नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । घटस्थापनापछि महाअष्टमी, महानवमी र दशमी यी तीनदिन विशेष मानिन्छ ।

    भगवती शतिदेवीले आफ्नो शरीरलाई पूर्ण रुपमा नौ वटा प्रकृतिका रुपमा प्रकट गरेको प्रसंग एउटा रहेको छ । त्यसैगरी, अर्को प्रसंग एक हजार एक देवीहरुमध्ये मूल नौं वटा देवीहरुको स्वरुपलाई महानवमी भनिएको छ । महानवमी विशेष दिन हो । 

    आजको दिन नौ प्रकारका फूल, फल, नौ जना कन्यालाई पूजा गरिन्छ । हवन आदि कर्म (विर्सजन बाहेकका कर्महरु) गर्ने दिन पनि नवमी हो । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । 

    पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिनमा कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ । 

    मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । 

    नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्छ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दशैँ घरमा आज नवदुर्गा मध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गाको प्रतीकका रुपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ । यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा आराधना गरिन्छ । चोखो खाने, पवित्र भएर बस्ने र नवमीको दिन विशेष पूजाअर्चना गरेर दशमीको तयारीमा लाग्नु पर्छ । 
    (नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत वाल्मिकी विद्यापीठका सहप्राध्यापक नवराज घिमिरेसँग गरिएको संवादमा आधारित)

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology