Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

खोलामा बगाएर काठ तस्करी, तर पक्राउ पर्दैनन् तस्कर

खोलामा बगाएर काठ तस्करी, तर पक्राउ पर्दैनन् तस्कर

  • 543
    SHARES
  • खोलामा बगाएर काठ तस्करी, तर पक्राउ पर्दैनन् तस्कर

    इलाम । १४ असोज राती नौ बजेतिर माइखोलामा चारवटा चाली बनाएर बगाउँदै लगेको २२ वटा सालको काठ सशस्त्र वन रक्षकको टोलीले नियन्त्रणमा लियो । काठ बगाउँदै ल्याउने तस्करको चार जनाको समूह खोलापारि थिए । तस्करहरू पारि सशस्त्र वन रक्षक माइखोला वारी भएकाले सहजै उम्किए ।

    images

    काठ नियन्त्रणमा लिएपछि वन रक्षकहरू तस्करलाई पक्रन खोला तर्न खोजे । खोलापारि रहेका चार–पाँचजना तस्करहरूले सशस्त्र वन रक्षकमाथि ढुंङ्गा बर्षाउन थाले । तस्करहरूले ढुंङ्गा हान्न थालेपछि वन रक्षकहरूले हवाइ फायर गरे । वन रक्षकले फायर गरेपछि उनीहरू तितरवितर भएर भागे । 

    काठ नियन्त्रणमा लिएपछि त्यस रात सशस्त्र वन रक्षकको टोलीले आसपासको क्षेत्रमा गस्ती गर्यो । राती साढे तीन बजेतिर फेरी चारवटा चालीमा काठ बगाउँदै गरेको फेला पर्यो  । बगाउँदै ल्याएको २४ वटा सालको गिँड वन रक्षकको टोलीले नियन्त्रणमा लिए । यसपटक पनि तरस्करहरू खोलापारिबाट भाग्न सफल भए । 

    बर्षाको बेला तस्करहरूले माईखोलमा बगाएर काठ तस्करी गर्ने गरेका छन् । उनीहरूले काठकै चाली बनाउँछन् । त्यसलाई ट्रयाक्टरको ट्युबमा बाँधेर खोलामा बगाउँछन् । चालीमाथी पनि काठको गिँड राखेर तस्करी गर्ने गरेका छन् । हावाले भरिएको ट्युबमाथि चाली बनाएपछि चाली खोलामा डुब्दैन । त्यसले थेग्नसक्ने जति भार बोकाएर काठ तस्करी हुने गरेको छ । 

    यसकारण प्रक्राउ पर्दैनन् काठ तस्कर

    तस्करीको क्रममा सुरक्षाकर्मी वा वन कर्मचारीले भँेटे खोलामै काठ डुबाएर उनीहरू भाग्छन् । ‘ट्युबको हावा खुुस्काएपछि काठ खोलामा डुब्छ, अनि त्यसमा सम्लग्नहरू भाग्छन्’, डिभिजन वन कार्यालय इलामका प्रमुख इन्द्रमणि भण्डारीले भने, ‘त्यसैले काठ तस्कर समात्न गाह्रो छ ।’ 

    चुरे क्षेत्र भएर बग्ने माईखोलामा विशेषगरी बर्षायाममा बगाएर काठ तस्करी हुने गरेको छ । तर, खोलामा बाढी आएको बेला छाली बनाएर काठ तस्करी गर्न सम्भव हुँदैन । खोलामा बाढी नआएको बेला र पानीको सतह कम नभएको अवस्थामा बगाएर काठ तस्करीको हुने गरेको डिभिजन वन अधिकृत भण्डारीले बताए । ‘भदौ अन्तिमदेखि कात्तिकसम्म यसरी काठ तस्करी हुने जोखिम हुन्छ’, उनले भने, ‘यो बेलामा हामी नियमित रुपमा निगरानी गरिरहेका हुन्छौं, तस्करीको प्रयास भए पनि सफल हुँदैनन् ।’ 

    मंगलबार मात्रै सूर्योदय नगरपालिकाको तीनघरेबाट गाडीमा सालको काठ लैजाँदै गरेका एकजना पक्राउ परे । फिदिम नगरपालिका–९ का केशवप्रसाद ढुङ्गनालाई तीनघरे प्रहरी चौकीको टोलीले ६३ थान चिरान काठसहित पक्राउ गरेको हो । मे१च ६२४७ नम्बरको पिकअपसहित पक्राउ गरेका ढुंङ्गनालाई काठ र पिकअपसहित प्रहरीले सब डिभिजन कार्यालय माईमा बुझाएको छ । यसअघि १२ भदौको राती ११ बजेतिर रोङ गाउँपालिका–१ को भाटेखोला भन्ने ठाउँमा समेत पिकअप गाडीमा २३ थान चिरान काठ बरामद भएको थियो । सशस्त्र वन रक्षक र प्रहरीको संयुक्त गस्ती टोलीले स१च १०६३ नम्बरको पिकअपमा काठ बरामद गरेको हो । गस्तीको सुइँको पाएपछि तस्करहरू भने गाडी छाडेर भागेको वनका कर्मचारी बताउँछन् ।

    दुई महिनामा नौविरुद्ध मुद्दा 

    इलाममा साउनयता काठ तस्करीको आरोपमा  पक्राउ परेका नौजनाविरुद्ध मुद्दा दर्ता भइसकेको जिल्ला वन कार्यालयले जनाएको छ । पाँचवटा तस्करीको घटनामा पक्राउ परेका उनीहरूविरुद्ध अनुशन्धान सकेर जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो । 

    साउनमा चार थान सालको चिरान काठसहित पक्राउ परेका तीनजनाविरुद्ध मुद्दा चलाइएको थियो । झापाको शिवसताक्षी नगरपालिका–१० का विवेक राई, माई नगरपालिका–८ का अनिस लिम्बु र दिपक लिम्बुविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । यस्तै को१ख १९९६ नम्बरको बसमा १५ थान काठसहित पक्राउ परेका माई नगरपालिका डिकबहादुर तामाङ्गविरुद्ध पनि मुद्दा दर्ता भएको डिभिजन वन कार्यालय इलामले जानकारी दिएको छ । 

    भदौमा साइकलमा ६ थान काठ ओसार्दै गरेका उदयपुर बसाह गाउँपालिका–८ का गोविन्द्र राई र शिवसताक्षी–७ का सुरज माझीलाई पनि वन रक्षक समुहले नियन्त्रणमा लिएर कार्वाही प्रक्रिया अघि बढाएको छ । विना इजाजत सालको काठ ओसारपसारको आरोपमा पक्राउ परेका माई नगरपालिका–८ का चुकमान कुमाल र हस्तबहादुर कुमालविरुद्ध पनि अदालतमा मुद्दा चलाइएको छ । इलामको रोङ गाउँपालिकामा एक थान सालको ठुटा, एउटा गोलिया, २३ थान चिरान काठ र काठ चिरान गर्ने आरा, गिडुवासहित पक्राउ परेका बुद्धशान्ति गाउँपालिका तोयानाथ विश्वकर्माविरुद्ध पनि वन कार्यालयमा मुद्दा दर्ता गरिएको सहायक वन अधिकृत सन्जिवकुमार ढकाल बताउँछन् । 

    वन कर्मचारीको सक्रियता बढेकाले काठ बरामद र पक्राउ पर्नेको संख्या बढेको सहायक वन अधिकृत यामबहादुर रुम्बाले बताए । ‘काठ तस्करी विगतमा भन्दा कम भएको छ,’ उनले भने, ‘तस्करीको सूचना आउने र वन कर्मचारीको सक्रियताले तस्करी हुन लागेको काठ र पक्राउ पर्नेको संख्या बढेको हुनसक्छ ।’
     

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology