वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेको महाधिवेशन प्रतिनिधि बन्न १० वर्षे मापदण्ड लागु भएको छ । गत भदौ १५ देखि १७ सम्म सम्पन्न विधान महाधिवेशनले संशोधन गरेको विधानमा एमाले महाधिवेशन प्रतिनिधि बन्न कम्तीमा १० वर्ष पार्टी सदस्य भएको योग्यता भएको हुनुपर्ने व्यवस्था गरिएको हो ।
संशोधित विधानको धारा ६३ यस्तो व्यवस्था गरेको छ । तर धारा ६३ को उपधारा १ मै महिला, दलित, श्रमिक, अल्पसंख्यक, आदिवासी जनजाति र अपांगता भएका व्यक्तिको हकमा ७ वर्ष पार्टी सदस्य भए पुग्ने व्यवस्था राखिएको छ । त्यसैगरी एमालेको केन्द्रीय कमिटीको पदाधिकारी र स्थायी कमिटी सदस्यको उम्मेदवार हुन केन्द्रीय कमिटीको सदस्य भएर एक कार्यकाल काम गरेको हुनुपर्ने व्यवस्था पनि गरेको छ ।
एमालेले केन्द्रीय कमिटी सदस्य उम्मेदवार हुने मापदण्ड पनि एमालेले विधानमै तोकेको छ । यसका लागि कम्तीमा १० वर्ष पार्टी सदस्य भएर केन्द्रीय कमिटी वा केन्द्रीय निकायको सदस्य भएपछि मात्रै उम्मेदवार बन्न पाउनेछन् । एमालेको संशोधित विधानमा पालिका वा सोभन्दा माथिल्लो कमिटीमा पदाधिकारीको हैसियतमा कार्यरत कुनैपनि व्यक्ति एउटै तह र एउटै पदमा दुईपटक भन्दा बढी उम्मेदवार हुन नपाउने व्यवस्था गर्दै कार्यकारी कमिटीमा ७० वर्षे उमेर हद लगाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij