एजेन्सी
जलवायु परिवर्तनका कारण पृथ्वीमा औषत तापक्रम बढ्नाले विश्वभर भाइरसजन्य रोग फैलिने जोखिम बढेको एक अध्यनले देखाएको छ ।
ल्यान्सेट जर्नलको वार्षिक अनुसन्धान प्रतिवेदनअनुसार जलवायु परिवर्तन चुनौतीको कारणले विभिन्न संक्रमण फैलिने जोखिम बढेको छ । विश्वभरको स्वास्थ्य अर्थतन्त्र उक्त संक्रमणको सामना गर्न सक्ने स्थितिमा नरहेको उक्त अध्ययनको निष्कर्ष छ ।
जलवायु परिवर्तन समयमै सुधार गर्न नसके डेंगु, मलेरिया र कालाजारजस्ता रोग नियन्त्रणमा हालसम्म गरेका प्रयास विफल हुने अनुमान गरिएको छ । विश्वमा पुनः एकपटक यी रोगहरु फैलिने सम्भावना रहेकोले सबै राष्ट्रलाई सचेत रहन आग्रह गरिएको छ । अनुसन्धानमा जलवायु परिवर्तनको कारणले स्वास्थ्यमा पर्ने ४४ वटा संकेतको पहिचानसमेत गरिएको छ ।
अनुसन्धान निर्देशक तथा रिपोर्टका सह–लेखक मारिया रोमानेलोले जलवायु परिवर्तन नियन्त्रणमा ढिलासुस्ती गर्दा स्वास्थ्यस्थिति जटिल अवस्थामा पुग्ने जनाएकी छिन् । जलवायु परिवर्तनको असरबाट कोही पनि अछुत नरहने शोधको निष्कर्ष छ ।
विकसित राष्ट्रपनि जोखिममा
रिपोर्टअनुसार विकसित राष्ट्रमा कोरोना भाइरस संक्रमण फैलिने जोखिम बढिरहेको छ । उत्तरी युरोप र अमेरिकामा भाइरस फैलिने आशंका बढेको छ । यसैगरी अन्य चिसो क्षेत्रमा मलेरियाको प्रकोप बढ्ने आंकलन गरिएको छ ।
ज्यानमारा तातो हावा
जलवायु परिवर्तनको कारणले बारम्बार तातो हावा आउने र यसको परिधि पनि फराकिलो भएको अनुमान गरिएको छ । यस वर्ष अमेरिका, क्यानडा, बेलायतजस्तो देशमा तातो हावाको कारणले सयौं मानिसहरुको निधन भयो । यस परिस्थितिले वैज्ञानिकहरुलाई पनि अचम्मित पारेको थियो ।
के भन्छन् अन्य शोधले ?
इन्टरगभर्नमेन्टल प्यानेल अन क्लाइमेट चेन्ज (आइपीसीसी)को एक रिपोर्टमा पृथ्वीमा बढ्दो तापमानले लामखुट्टेसमेत अन्य रोग फैलाउने जीव जिवित रहनसक्ने क्षेत्रलाई विस्तार गरेको छ । जसकारण विश्वमा मलेरियाका बिरामीको संख्या दिनानुदिन बढिरहेको छ । यसैगरी उक्त रिपोर्टमा बाढीपहिरो, हिमपातजस्ता प्राकृतिक प्रकोपका कारण जुनोटिक रोग (पशुबाट मानिसमा सर्ने रोग) बढ्ने सम्भावना रहेको जनाइएको छ ।
यसैगरी, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को रिपोर्टमा सन् २०३० देखि २०५० सम्म जलवायु परिवर्तनको कारणले कुपोषण, मलेरिया, झालापखाडा र गर्मीबाट मात्र प्रतिवर्ष करिब २ लाख ५० हजार व्यक्तिहरुको निधन हुने आशंका व्यक्त गरिएको छ ।
जलवायु परिवर्तनले केवल मौसममा मात्र असर नगरी मानिसको शारीरिक र मानसिक स्वास्थ्यमा पनि नकारात्मक असर पारिरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij