Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

यस कारण एकपटक पुग्नै पर्छ डोल्पा

यस कारण एकपटक पुग्नै पर्छ डोल्पा

  • 395
    SHARES
  • यस कारण एकपटक पुग्नै पर्छ डोल्पा

    जाजरकोट । नेपालकै सबैभन्दा गहिरो ताल फोक्सुण्डो, वरिपरी पहाड, डाडाँले घेरिएको बीचमा रहेको वाइ आकारको यो ताल समुन्द्री सतहबाट तीन हजार ६११ मिटर उचाइमा छ ।  तालको लम्बाइ ४.८ किलोमिटर र  चौडाइ १.६ किलोमिटर रहनुका साथै  नेपालकै गहिरो मानिएको यो तालको  गहिराइ ६५० मिटर छ । कान्जिरोवा हिमालको काखमा सजिएर बसेको यो ताल बेलाबेलामा रंग बदल्ने भनेर पनि चिनिन्छ । हिमालको काखमा, सफा, कन्चन र जडीबुटीहरूको मिश्रणबाट पग्लिएको हिउँबाट यसको जन्म भएको छ । 

    शे-फोक्सुण्डो नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । डोल्पा र मुगुमा फैलिएको छ । नेपालको पश्चिमी दुर्गम हिमालपार क्षेत्रमा रहेको यस निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ । यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारी क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउर लगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् ।

    यस निकुञ्जलाई डाँफे, मोनाल, चिरलगायत २०० प्रजाति पंक्षीहरू, ६ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाइएको छ । यहाँ पाइने हिउँ चितुवाको आहारबिहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त वासस्थान प्रमाणित भएको छ । काञ्जिरोवा दक्षिण (६,८६६ मि.), सिकाल्पो खाङ (६,५५६ मि.), वेज चुचुरो (७,१३९ मिटर) जस्ता हिमशिखरहरू र कतिपय हिमनदीहरूले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेका छन् ।

    निकुञ्जको लगभगमध्ये भागमा रहेको नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताललाई सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ । ११औं शताब्दीमा निर्मित शे गुम्बा यहीँ छ । गुम्बामा तिब्बती बौद्ध धर्मको शिक्षा दिइन्छ । यो राष्ट्रिय निकुञ्जलाई विश्व सम्पदा सूचीमा राख्न सिफारिस गरिएको छ । निकुञ्जको आम्दानी नगण्य भएकाले मध्यवर्ती क्षेत्रका बासिन्दाहरूको चाहनाअनुसारका एकीकृत संरक्षण र सामुदायिक विकासका कार्यक्रमहरू सञ्चालन गर्न सकिएको छैन । डोल्पा सडक सञ्जालसँग जोडिएपछि अहिले यो ताल आन्तरिक पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको छ । सडक सञ्जालले छोए पनि यहाँसम्म पुग्न भरपर्दो विकल्प भनेको हवाइजहाज नै हो ।    

    तालको मनोरम दृश्यले हरकोहीलाई मोहित बनाउँछ । पछिल्लो समय फोक्सुण्डो ताल  निकै आकर्षणको केन्द्र बन्ने गरेको छ । सडकमार्ग हुँदै गए पनि यात्रा रमाइलो हुने र हवाइ मार्गमार्फत गएमा पनि झनै मन लोभ्याउने पर्यटकहरू बताउँछन्  । बास बस्नका ठाउँठाउँमा होटलहरू निर्माण गर्ने क्रम जारी रहेको छ । बाटोमा जतिसुकै दुःख पाए पनि तालसम्म पुग्दा  पर्यटकलाई मोहनी लगाउने प्राकृतिक क्षमता छ । डोल्पा मात्र होइन, छिमेकी जिल्लाको समृद्धिको ठूलो आधार ताल बन्न सक्छ । फोक्सुण्डो ताललाई शे-फोकसुण्डो तालको नामले पनि चिनिन्छ । यो ताल शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र छ । हिमाली सफा पानी यस तालमा पर्यटकको अनुहार आफूभित्र टल्काउनलाई पर्खेर बसेझैं भान हुन्छ ।

    छिन्चु जाजरकोट हुँदै डोल्पासम्म जाने सडकको ट्याक औपन भएसँगै  फोक्सुण्डो ताल जाने आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको छ । अहिले जाजरकोट खण्डमा पुल निर्माणको काम करिब ८० प्रतिशत सकिएको भने डोल्पा खण्डमा निर्माणका काम  जारी छ । जाजरकोट सदरमुकामदेखि १७ किलोमिटर दूरीमा रहेको ठूलीभेरी र सानीभेरीका संगमस्थल रिम्नासम्म पिचको काम जारी छ । त्योभन्दा माथि जाजरकोटको अन्तिमबिन्दु तल्लु बगरसम्म पिचको लागि केही दिनमै बोलपत्र  आह्वान गर्न लागिएको  सडक डिभिजन चौरजहारीका प्रमुख ध्रुव झाले बताए । 

    जाजरकोटदेखि दुनै सडक ११७ किलोमिटरमा १४ वटा पुलको काम चलिरहेको छ । फोक्सुण्डो मात्र नभएर उपल्लो डोल्पामा आन्तरिक पर्यटक बढाउनका लागि भौतिक संरचना निर्माणमा भारी जोड दिनु जरुरी छ ।  संसारमै लोपोउन्मुख हिउँ चितुवासमेत यही निकुन्जको पेरीफेरिमा पाइन्छ । अहिले सो ठाउँमा रहेका चारवटा हिउँ चितुवालाई रेडियो कलार जडान गरि अध्ययन थालिएको निकुन्जले जनाएको छ । 

    प्राकृतिक सुन्दरतामा मात्र नभएर सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक दृष्टिले पनि निकै धनी छ, डोल्पा । तर, डोल्पाको सुन्दरताले जति ख्याति पाएको छ, त्यसअनुसार पर्यटक जान नसक्दा नीति निर्माण तहमा बस्नेलाई सधैँ यस क्षेत्रका जनसधारणले आक्रोश पोख्दै आएका छन् ।  सुर्खेतको छिन्चुदेखि जाजरकोट हुँदै तल्लोबगरसम्म, तल्लोबगरदेखि खदाडसम्म, खदाडदेखि त्रिपुराकोटको कान्तिबजारसम्म  र कान्तिबजार हुँदै डोल्पाको सदरमुकाम दुनै सडक मार्गबाट पुग्न सकिन्छ ।

    हवाई जहाजबाट जाने हो भने अहिले काठमाडौंदेखि डोल्पाको जुफाल एयरपोर्टसम्म यात्रुको चापअनुसार नेपाजगञ्जदेखि जुफालसम्म हवाइ सेवा नियमित छ । जुफालदेखि डोल्पाको सदरमुकासम्म जिपमा एक घण्टा लाग्छ । त्यसपछि  फोक्सुण्डो जान पैदल यात्रा तय गर्नुपर्ने हुन्छ । दुनैदेखि तीन दिनको पैदल यात्रापछि फोक्सुण्डो तालको मनोरम दृश्यावलोकन गर्न सकिने टानका सदस्य झाँक्रीले बताए । 

    धार्मिक महत्व पनि उत्तिकै 
    डोल्पा जाने मुख्यद्वारमा बाला त्रिपुरासुन्दरी देवीको उत्पत्तिस्थल, सतीदेवीको कण्डयाउलो पतन भएको ठाउँ र दश महाविद्यासमेत उत्पत्ति भएकाले मन्दिरको विशिष्टता छ । बाला त्रिपुरासुन्दरीको मन्दिरस्थललाई ‘त्रिपुराकोट’ पनि भनिन्छ । यो पुरानो तिब्रिकोट जिल्लाको सदरमुकाम क्षेत्र हो । यहाँको सुरम्य डाँडको मन्दिर परिसरमा चारैतर्फ सत्तल एवं पार्टीपौवाहरूले घेरिएको बीचमा भगवतीको मन्दिर छ । मन्दिरको दक्षिणतर्फ रहेको एक प्राकृतिक शिलालाई ‘त्रिपुरादेवी’ भनिँदै आइएको छ । यो एउटा भगवतीको भावनात्मक ‘शक्तिपीठ’ हो ।

    त्रिपुरासुन्दरी धार्मिक पर्यटन क्षेत्र कर्णाली प्रदेशको सबैभन्दा ठूलो  त्रिपुरासुन्दरी नगरपालिकामा पर्दछ । ई.सं १११४ मा स्थापना भएको विश्वास गरिने यो मन्दिर भौगोलिक रूपमा पनि पृथक छ । यसको चारैतिर होचो भूभाग र दायाँबायाँ, तलमाथि विशाल नदीले घेरेको ठाउँ छ । यहाँ बीचैमा उठेको थुम्को र त्यसैको थाप्लोमा अडिएको विशाल संरचना छ । करिब ७ हजार फिटको उचाइमा यो तीर्थस्थल रहेको छ ।

    मन्दिर नेपालका परम्परागत मन्दिरभन्दा फरक शैली र आकारको छ । ई.सं १११४ मा स्थापना भएको विश्वास गरिने यो मन्दिर भौगोलिक रूपमा पनि पृथक छ । यस मन्दिरको पश्चिममा ताम्रावाणी नदी, उत्तरमा मुकुटेश्वर हिमाल, दक्षिणमा भैरवी गंगा लगायतका प्रसिद्ध तीर्थस्थल रहेका छन् भने बीचको टाकुरामा यस मन्दिर अवस्थित छ । उत्तरतर्फबाट आउने ताम्रावार्णी, पूर्वबाट आउने सुन्दरी खोला र दक्षिणतर्फबाट झर्ने भैरवी खोलाको सङ्गमस्थल दोभानभन्दा अलिकति माथि डाँडाको टुप्पामा बालात्रिपुरासुन्दरी देवीको मन्दिर छ । यहाँ उत्तर र पूर्वबाट आउने खोलालाई ‘छलगाड’ पनि भन्दछन् । यसै सङ्गम स्थलबाट भेरी नदीको सुरूआत हुन्छ ।

    त्रिपुरासुन्दरी मन्दिर राजा, प्रधानमन्त्री, मन्त्री, राजदूत, सुरक्षा निकायका प्रमुख लगायत उच्चपदस्थ व्यक्तित्वको पनि गन्तव्यस्थल बन्ने गरेको छ । यहाँका बुढापाकाको भनाइअनुसार पूर्वराजा महेन्द्र, वीरेन्द्र, दीपेन्द्र, ज्ञानेन्द्र शाहदेखि गुरु शंकराचार्य र पुरीनाथ बाबा लगायतले मन्दिरको दर्शन गरिसकेका छन् । ३० चैत २०७४ मा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि त्रिपुरा सुन्दरीमा पूजाआजा गरेका थिए । इतिहासमै पहिलोपटक बहालवाला प्रधानमन्त्रीले त्रिपुरा सुन्दरी मन्दिरमा पूजाआजा गरेको उदाहरण हो । २९ चैत २०७४ मा तीन जना भारतीय पूर्वराजदूतले त्रिपुरा सुन्दरी मन्दिरको दर्शन गरेका थिए । १५ दिने डोल्पा पदयात्राका लागि भारतीय पूर्वराजदूतहरू रणजीत राय, श्यामशरण, देव मुखर्जी डोल्पा पुगेका थिए ।

    धार्मिक मान्यताअनुसार बाला त्रिपुरासुन्दरीबाट उडेर पुतलीरुपी देवीहरू बाँकेको बागेश्वरी, जुम्लाको कनिका सुन्दरी, सल्यानको खैरबाँङ, बैतडीको रणसैनी त्रिपुरेश्वरी, बाजुराको बडीमालिका लगायतका ठाउँमा गई त्यहाँ यिनै नामले प्रसिद्ध छन् । बाँकी चार बहिनी देवी, बाला, त्रिपुरा, सुन्दरी डोल्पाको त्रिपुरासुन्दरीमा रहेको धार्मिक विश्वास छ । विराजमान चार देवी महाकाली, महालक्ष्मी, महासरस्वतीका नामले प्रसिद्ध छन् । परापूर्वकालदेखि नै यस मन्दिरमा न्यौपाने थरका पुजारीले पूजाआजा गर्दै आएका छन् । यो मन्दिर नेपालमा रहेका त्रिपुरा सुन्दरी देवीका मन्दिरमध्ये प्रमुख शक्तिपीठ हो । ‘त्रिपुरा सुन्दरी देवीको उत्पत्तिस्थल, सतीदेवीको कन्ड्यौलो पतन भएको ठाउँ र दशमहाविद्यासमेत उत्पत्ति भएकाले कारण मन्दिरको महत्व बढी रहेको स्थानीय इतिहासका जानकार रबीप्रसाद न्यौपानेले बताए । 

    स्वस्थानीमा उल्लेख भएअनुसार सतीदेवीको अंग कण्डयाउलो (ढाड) पतन भएको शक्तिपीठ हो यो । यस क्षेत्रमा वर्षाका देवता मेघले तपस्या गरेकाले चरम खडेरी परेको बेला पूजापाठ गरे पानी पर्ने जनविश्वास छ । सतीदेवीको अंग पतन भएपछि शक्ति स्वरुपाका रूपमा भैरवेश्वर महादेव उत्पत्ति भएको किंवदन्ति रहेको न्यौपानेले बताए ।  

    नेपालका बाइसे चौविसे राज्य एकीकरण गर्ने क्रममा बहादुर शाहको टोली मुस्ताङ हुँदै डोल्पाको शहर तार पुग्दा बाँदर फड्का खोलामा पुल नलाग्दा त्रिपुरासुन्दरीलाई गुठीका रुपमा चढाउने भाकलपछि पुल लागेको र डोल्पाका नौ राज्य एकीकरण गरेको किंवदन्ती न्यौपानेले सुनाए  । सरकारले देशभरका १०० वटा नयाँ पर्यटकीय गन्तव्यको सूची सार्वजनिक गरेकामध्ये डोल्पाका मात्र तीन सम्पदा पर्यटकीय गन्तव्यमा परेका   थिए ।  शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, त्रिपुरा सुन्दरी मन्दिर, रारा-फोक्सुन्डो मार्ग नयाँ गन्तव्यको रुपमा छनोटमा परेका हुन् ।  संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले प्राकृतिक, पुरातात्विक, ऐतिहासिक तथा धार्मिक महत्वका आधारमा नयाँ पर्यटकीय गन्तव्यभित्र डोल्पाका तीनवटा सम्पदा परेका थिए ।

    नेपालकै ठूलो निकुञ्जको रूपमा रहेको शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज, देशकै गहिरो फोक्सुन्डो ताल, सुलिगाड झरना, सयौँ वर्ष पुराना बुद्धमूर्तिहरू रहेको शे–गुम्बा, विश्वको सबैभन्दा अग्लो मानववस्ती रहेको धो उपत्यका लगायतका चर्चित प्राकृतिक सम्पदा पनि यसै निकुञ्जभित्र पर्दछन् । अर्को गन्तव्यको रूपमा हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र त्रिपुरा सुन्दरी मन्दिर सूचिकृत भएको थियो । शे-गुम्बा, संसारकै अग्लो मानववस्ती तिन्जे गाउँ, जगदुल्ला ताल, सुनदह, राजारानी क्षेत्र लगायतका दजर्नौ चर्चित पर्यटकीय सम्पदाका साथै पाँच हजार मिटरभन्दा अग्ला दर्जनौँ हिमाल पनि  डोल्पामा पर्दछन् ।  डोल्पामा सबैभन्दा धेरै फोक्सुण्डोबाट शे गुम्बा हुँदै धो तराप उपत्यका भएर पदयात्रा गर्नेको संख्या बढी छ । 

    पूर्वाधार मुख्य प्राथमिकता देउ
    सडक सञ्जाल, हवाइ मार्गका साथै राज्यको भारी ध्यान गएमा मात्र डोल्पा मात्र होइन, छिमेकी जिल्ला जाजरकोट, रुकुम पश्चिमलाई समेत पर्यटन प्रवर्द्धनका लागि जोड्न सकिन्छ । डोल्पा जाने मुख्य रुटहरू नै जाजरकोट, रुकुम पश्चिम भएर जाने गर्दछ । रोपैडिया जमुनाह छिन्चु जाजरकोट डोल्पा हुँदै तेन्जे मरिम्ला जोड्ने मुख्य राजमार्गसमेत यही हो । त्रिदेशीय सडकको रूपमा रहेको यस मार्गको छिटोभन्दा छिटो स्तरोन्नति गरेमा मात्र यहाँको सम्मृद्धिको ढोका खुल्नेछ । यही बीचमा नलगाड जलविद्युत आयोजना (४१७ मेगवाट) जगदुला जलविद्युत आयोजना (१०६) निर्माणको चरणमा छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij