रेश्मा सिंह
काठमाडौं । उदयपुर जिल्लाको कटारी नगरपालिका घर भएकी रत्नदेवी राउतलाई दाँया स्तनमा समस्या देखिएको करिब पाँच वर्ष भयो । मध्यम वर्गीय रन्तदेवीलाई स्तनमा आएको गाँठो एक÷दुई दिनमा गइहाल्छ भन्ने लाग्यो । तर, निको नभएपछि उनी उपचारका लागि दौडधुपमा लागिन ।
उपचारका लागि भक्तपुर क्यान्सर अस्पताल आइपुगेकी ५० वर्षीय रत्नदेवी कहिले डाक्टरको क्याबिनमा पुग्थिन् त कहिले अस्पतालको परिसरमा रहेको बेन्चमा थचक्क बस्थिन् । काठमाडौं पहिलो पटक आएकी रत्नदेवीले अस्पतालको विभिन्न प्रक्रिया पूरा गर्न करिब २ घण्टा यताउता गरिरहिन् । उनलाई उनकी बहिनी जानुकाले पनि सक्दो सहयोग गरिरहेकी थिइन् ।
‘पहिले–पहिले महिनावारी हुनुभन्दा ४ वा ५ दिनअघि दाहिने स्तन दुख्ने, बढ्ने, पोल्ने हुन्थ्यो,’ रत्नदेवीले भनिन्, ‘महिनावारी भएसकेपछि विस्तारै दुख्न कम हुने र सुन्निएको सुक्दै जान्थ्यो । निरन्तर समस्या बढ्दै गएपछि नजिकै रहेको आयुर्वेद अस्पतालबाट औषधि लिएँ । त्यसले पनि ठिक भएन ।’ भारतका पनि विभिन्न ठाउँमा उपचार गराएकी उनी चितवनस्थित भरतपुर अस्पताल पुगेपछि स्तन क्यान्सर भएको पत्ता लाग्यो । उनलाई डाक्टरले स्तन क्यान्सरको दोस्रो चरण भएकाले भक्तपुर अस्पताल जान सुझाए ।
‘विस्तारै समस्या बढ्दै जाँदा नदुख्ने गाँठाबाट पिप र फोहोर पानी बग्न थाल्यो,’ रन्तदेवीले भनिन्, ‘पहिले दुख्दैन थियो, त्समाथि उपचार गराउन पैसा पनि नभएकाले अस्पताल पुग्न ढिला भयो । त्यसले गर्दा समस्या झन् बल्झिएछ ।’ उपचारमा सरकारले पनि सहयोग गर्छ भन्ने थाहा पाएर भक्तपुर क्यान्सर अस्पताल आएको उनले सुनाइन् ।
रत्नदेवी जस्तै स्तन क्यान्सरको समस्या भएर पाटनकी ३९ वर्षीय राधा ताम्राकार पनि अस्पताल पुगेकी छिन् । उनले गत फागुनमा दायाँ स्तनमा सानो नदुख्ने गाँठा आएको थाहा पाइन् । ‘सुरुमा त केही होइन । विस्तारै निको भइहाल्छ नि भन्ने लाग्यो,’ राधाले भनिन, ‘तर बिस्तारै नदुख्ने गाँठा ठूलो हुँदै गएर सुन्तलाको बोक्रा जस्तै देखिन थाल्यो । समस्या श्रीमान्लाई सुनाएपछि उहाँले नै परीक्षणको लागि यहाँ अस्पताल लिएर आउनु् भयो ।’
स्तन परीक्षण पश्चात उनीमा पनि स्तन क्यान्सर दोस्रो स्टेजमा पुगिसकेको पत्ता लाग्यो । हाल उनले चिकित्सकको सल्लाहमा दुई वटा किमोथेरापी लिइसकेकी छन् । ‘चिकित्सकले चाँडै निको हुन्छ भन्नु भएको छ,’ राधाले भनिन्, ‘हामीले शरीरमा देखिएको परिवर्तनबारे बेलैमा जान्नु पर्ने रहेछ । ढिला भए शरीरलाई पनि दुःख हुने पैसा पनि बढी खर्च हुने रहेछ ।’

नियम विपरीत कोषिकाको विकास हुँदा स्तन क्यान्सरको जोखिम
कोषिकाहरु असमान्य (नियम विपरीत) रुपमा विकास भएर स्तनमा गाँठा बनाउँछ । त्यहीँ गाँठा विस्तारै ठूलो हुँदै स्तन क्यान्सरको रुप लिने भक्तपुर क्यान्सर अस्पतालका शल्यचिकित्सक डा. पुण्यराम खर्वुजाले जानकारी दिए ।
उनकाअनुसार स्तनमा गाँठाहरु आउँछन् । तर स्तनमा आउने करिब ८० प्रतिशत गाँठा क्यान्सर हुँदैनन् । स्तनमा आएका गाँठाहरुमध्ये नदुख्ने, काखीमुनिको गाँठा, स्तनको आकार र रङमा परिवर्तन, स्तनमा खाल्डो भएजस्तो देखिने, स्तनको छाला सुन्तलाको बोक्रा जस्तो हुने लगायत निप्पलबाट पिप वा रगत बग्ने लक्षण देखिएपछि तुरुन्त चिकित्सकहाँ जानुपर्ने डा. खर्वुजाले सुझाए ।
स्तन क्यान्सर महिलामात्र नभई पुरुषमा पनि हुने डा. खर्वुजाले जानकारी दिए । स्तन क्यान्सर हार्मोन गढबढीले हुने भएकाले पुरुषमा देखिने उनले बताए ।
नेपालमा अविवाहित युवतीमा स्तन क्यान्सरको जोखिम बढी
डा. खर्वुजाका अनुसार विदेशमा भन्दा नेपालमा अविवाहित युवतीमा स्तन क्यान्सरको जोखिम बढी छ । ढिलो बच्चा जन्माउने, जीवनशैली र वंशाणुगत कारणले पनि युवतीहरुमा क्यान्सरको समस्या बढेको बताए ।
‘नेपालमा पहिले पाठेघरको मुखको क्यान्सर धेरै थियो । तर आजभोली स्तन क्यान्सरले त्यसलाई उछिनेको छ,’ डा. खर्वुजाले भने, ‘नेपालमा स्तन क्यान्सर परीक्षण गर्ने स्रोत, साधन यथेष्ट भएकाले पछिल्लो दिनमा यसको बिरामी बढी पत्ता लागिरहेका छन् । अर्कोतर्फ हाम्रो जीवनशैलीले पनि प्रभाव पारेको छ । फास्टफूड खाने बानीको कारणले पनि स्तन क्यान्सरको जोखिम बढेको छ ।’
स्तन फाल्नु पर्दैन
स्तन क्यान्सर पत्ता लगाउन अल्ट्रासाउण्ड (भिडियो एक्स–रे) र मेमोग्राफी गरिन्छ । ४० वर्षभन्दा कम उमेरका महिलाको स्तनमा गाँठा छ, छैन भनेर पत्ता लगाउन अल्ट्रासाउण्ड गरिन्छ । ४० वर्ष माथिकाको मेमोग्राफबाट स्तनको परीक्षण गराउनु उत्तम हुने डा. खर्वुजा बताउँछन् ।
आजभोली ‘स्तन फालेर होइनः स्तन बचाएर उपचार गर्ने मान्यतालाई आधार बनाई स्तन क्यान्सरको उपचार गर्दै आइरहेको डा. खर्वुजा बताउँछन् । ‘पहिले–पहिले स्तन क्यान्सर भनेपछि पूरै फाल्नुपर्छ भन्ने हुन्थ्यो,’ उनी भन्छन्, ‘तर आजभोली स्तन क्यान्सरको डल्लो निकालेर रेडियो थेरापी दिइसकेपछि स्तन फालेर गर्ने उपचारजस्तै भरपर्दो र उपलब्धिमुलक हुन्छ ।’
स्तनको अपरेसनपछि बिरामीलाई केमो थेरापी, आवश्यक परेको खण्डमा रेडिएसन थेरापी तथा हार्मोन थेरापी भन्ने खाने चक्की पनि प्रयोग गर्न सकिन्छ । क्यान्सरको बायोलोजिकल किसिमलाई बुझेर उपचार गरिन्छ । त्यसैले रोगको प्रकृति हेरी उपचार प्रक्रिया अगाडि बढाउनुपर्ने उनले बताए ।
महिला प्रजनन् क्षमतामा असर
केमोथेरापी भनेको एकप्रकारको औषधि नै हो । यो इन्सुलिन तथा औषधिको माध्यमद्वारा पनि दिइने गरिन्छ । यसले शरीरमा वृद्धि भइरहेको कोषिकालाई असर पार्छ, जसका कारण केमो लिने मानिसको कपाल झर्नुका साथै रगत कमी हुनेलगायतको असर पर्ने गर्छ ।
डा. खर्वुजाका अनुसार यो एक किसिमको क्यान्सरजन्य कोषिकालाई मार्ने कडा खालको औषधि हो । यसले कहिलेकाहीँ क्यान्सर कोषिकालाई मात्र नभई सामान्य कोषलाई पनि असर गर्छ । जसकारण महिला प्रजनन् क्षमतामा पनि असर पर्ने देखिन्छ ।
स्तन क्यान्सरका बिरामीले समयमै उपचार पाए पूर्ण रुपमा निको हुने डा. खर्वुजा बताउँछन् । ‘सबै कुराहरु नकारात्मक मात्र छैनन्,’ उनले भने, ‘आज पनि विश्वमा धेरै महिलाहरु स्तन क्यान्सर लागेर पनि समयमै उपचार सुरु गरेकाले रोगमुक्त भई सामान्य जीवनयापन गरिरहेका छन् ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij