वेबटिभी खबर
नेपालगञ्ज । हुम्लाको लागि उडान भर्दै गरेको सीता एयरको जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको छ । आज बिहान ७ बजे हुम्लाको सिमिकोट उड्ने क्रममा सिता एयरको जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको हो ।
धावनमार्गमा गुडिरहेको बेला अचानक धावनमार्गमा आएका तीन वटा बँदेलका पाठासँग जहाज ठोक्किएको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । जहाजसँग ठोक्किएका बँदेलका तीन वटै पाठा मरेका छन् । विमानस्थल नजिकै डुडुवा खोला र जंगल भएकाले बँदेल विमानस्थलमा आउने गरेको स्थानीयको भनाइ छ ।
न्यौपानेले दुर्घटनामा मानवीय क्षति नभएको र सबै यात्रु र चालक दलका सदस्य सकुशल रहेको बताए । जहाजमा १४ यात्रु र तीन चालकदलका सदस्य थिए । बँदेलका पाठा ठोक्किदा अगाडिको टायरभन्दा माथिल्लो भागमा प्वाल परेको छ । धावनमार्गबाट उक्त जहाजलाई हटाएर ह्याङ्गरमा लगिएको र विमानस्थल सञ्चालन भइसकेको प्रहरीले जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij