काठमाडौं – इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएको छ। स्पेनिस क्लब एट्लेटिको मड्रिडमाथि सहज जित निकाल्दै लिभरपुलले अन्तिम १६ मा स्थान बनाएको हो।
१० खेलाडीमा समेटिएको एट्लेटिकोलाई २–० ले पराजित गर्दै लिभरपुलले समूह चरणको दुई खेल बाँकी छँदै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो । घरेलु मैदान एनफिल्डमा बुधबार राति भएको खेलमा लिभरपुलको जितमा डिएगो जोटा र साडियो मानेले गोल गरे । दुवै गोल पहिलो हाफमा ९ मिनेटको अन्तरमा भएको थियो ।
खेलको १३औं मिनेटमा डिएगो जोटाले गोल गर्दै लिभरपुललाई १–० को अग्रता दिलाए । २१औं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे । ३६औं मिनेटमा एट्लेटिको १० खेलाडीमा समेटिन पुग्यो । फिलिपे सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि एट्लेटिको समस्यामा परेको थियो ।
जितपछि समूह ‘बी’ मा अपराजित रहेको लिभरपुलले ४ खेलबाट १२ अंक जोड्यो । पराजित एट्लेटिको ४ अंक जोडेर तेस्रो स्थानमा झरेको छ । एफसी पोर्टो ५ अंक जोडेर दोस्रो स्थानमा उक्लदा मिलानले समूहमा पहिलो अंक जोडेको छ ।
यही समूहको अर्को खेलमा एसी मिलानले एफसी पोर्टोसँग १–१ गोलको बराबरी खेल्दै च्याम्पियन्स लिगमा पहिलो अंक जोडेको छ । पोर्टोका लुइस डियाजले गोल गर्दा मिलानले उपहार गोल पाएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij