वेबटिभी खबर
नयाँ दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा ५२६ जनाको कोरोना संक्रमणबाट निधन भएको छ । यो संख्या अघिल्लो दिनको तुलनामा १३४ ले बढी हो । भारतमा अहिले दैनिक संक्रमितको संख्या घटे पनि मृत्यु दर भने चिन्ताजनक नै रहेको त्यहाँका स्वास्थ्यकर्मीले बताएका छन् ।
भारतको स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याकंअनुसार पछिल्लो २४ घण्टामा १० हजार ८५३ नयाँ संक्रमित फेला परेका छन् । त्यसैगरी १२ हजार ४३२ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुने दर पनि ठिक छ । हाल देशभर एक लाख ४४ हजार ८४५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितको यो संख्या पनि २६० दिन यताकै सबैभन्दा कम हो ।
संक्रमण घटेको होइन, परीक्षण कम
भारतमा अहिले आएको दैनिक तथ्यांकमा कोरोना संक्रमण घटेको देखिन्छ । तर यो यथार्थ नभएको त्यहाँका चिकित्सकहरुले बताएका छन् । मृत्यु हुने संख्या बढ्दै जानुलाई चिन्ताजनक भन्दै चिकित्सकहरुले सतर्क रहन आग्रह गरेका छन् । उनीहरुले चाडवाडका बेला परीक्षण दर घटेकाले मात्र दैनिक संक्रमित घटेको स्पष्ट पारेका छन् ।
भारतमा दैनिक २० लाखभन्दा बढी नमुना परीक्षण हुने गरेकोमा अहिले १० लाख हाराहारी मात्र भइरहेको छ । त्यसले गर्दा नयाँ संक्रमित फेला पर्ने क्रम पनि घटेको हो । मृत्यु दर बढ्नुले गर्दा संक्रमणको जोखिम कम नभएको स्पष्ट हुने भन्दै त्यहाँका चिकित्सकले जनस्वास्थ्यको मापदण्डलाई पालना गर्न आग्रह गरिरहेका छन् । चाडवाडका बेला दैनिक संक्रमितको संख्या कम देखिएपछि बजारमा मानिसहरुको भिडभाड बढेको छ । यसले पछि समस्या सृजना गर्नसक्ने भन्दै चिकित्सकले सावधान गराएका हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij