रेश्मा सिंह
काठमाडौं । कोरोनाविरुद्धको फाइजर खोप १२ वर्षमाथिका दीर्घ रोगका बिरामीहरुलाई कात्तिक २८ आइतबारबाट सुरु हुने भएको छ। खोपको पहिलो मात्रा ४ मंसिरसम्म जारी रहनेछ ।
दीर्घ रोग भएका व्यक्तिहरुले अस्पताल वा चिकित्सकले जारी गरेको रोगको उपचारसम्बन्धी पूर्जा र उमेर खुल्ने परिचयपत्र लिएर जानु पर्नेछ । परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखा प्रमुख सागर दाहालका अनुसार विशेषगरि १२ वर्षदेखि १७ वर्षका दीर्घ रोग भएका र यसअघि खोप लगाउन छुटेका अन्य दीर्घ रोगीलाई पनि यस खोप अभियानअन्तर्गत समेटिने छ ।
यो खोप कसलाई लगाइन्छ ?
१ मुटुको बिरामी भई अप्रेशन गरेका वा औषधि प्रयोग गरिरहेका
२ मिर्गौलाको समस्या भई मिर्गौला फेरेका, डाइलासिस गराइरहेका, औषधिको सेवन गरिरहेका
३ जुनसुकै प्रकारका क्यान्सरको पहिचान भएर उपचारत
४ फोक्सोको समस्या भएर चिकित्सकको पूर्जा बमोजिम औषधि सेवन गरिरहेका
५ अङ्ग प्रत्यारोपण गरेका
६ उच्च रक्तचाप वा मधुमेह भई चिकित्सकको निगरानीमा उपचारत
७ रोग प्रतिरोधात्कम क्षमता कम भएको अवस्थामा
८ मस्तिष्क र मस्तिष्कका रक्तनलीसम्बन्धी रोग (पक्षघात, एन्यूरिजम, रक्तनलीमा भएका विकृती आदी)
कहाँ–कहाँ लगाइन्छ खोप ?
खोप अभियान सञ्चालन गर्न देशभर २४ अस्पतालहरु छनोट गरिएका छन् । काठमाडौं उपत्यकाभित्र वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल छन् । यसैगरि, निजामती सेवा अस्पताल, सहिद गङ्गालाल हृदयरोग केन्द्र, भक्तपुर क्यान्सर अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, पाटन अस्पताल, वीरेन्द्र सैनिक अस्पतालसमेत काठमाडौं उपत्यकामा नौ वटा अस्पताल तोकिएका छन् ।
बाग्मती प्रदेशको उपत्यका बाहेक चितवनको भरतपुरस्थित वीपी कोइराला स्मृति क्यान्सर अस्पताल र धुलिखेलस्थित धुलिखेल अस्पतालबाट खोप कार्यक्रम सञ्चालन गरिने छ ।
स्वास्थ्य विभागकाअनुसार प्रदेश १ मा मेची प्रादेशिक अस्पताल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोसी अस्पतालबाट खोप लगाइने छ ।
प्रदेश २ मा गजेन्द्रनारायण सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी प्रादेशिक अस्पताल र जनकपुर प्रादेशिक अस्पतालबाट खोप दिइने छ ।
गण्डकी प्रदेशमा पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र बागलुङस्थित धौलागिरि अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछ ।
लुम्बिनी प्रदेशको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल, दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगन्जस्थित भेरी अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछ ।
सुदूरपश्चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पताल र अमरगढीस्थित डडेलधुरा अस्पतालबाट भाइरसविरुद्धको खोप लगाइने छ।
कर्णाली प्रदेशमा सुर्खेतस्थित कर्णाली प्रादेशिक अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछ।
गाभीको कोभ्याक्स सुविधाअन्तर्गत विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) मार्फत उपलब्ध गराइएको एक लाख ६२० डोज फाइजर खोप ८ कार्तिकमा काठमाडौं आइपुगेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij