वेबटिभी खबर
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.मंगल रावल र उनको सिफारिसमा नियुक्त भएका पदाधिकारीलाई काममा रोक लगाएपछि जुम्लामा एमबीबीएस पढाइलगायतका अन्य सेवा अन्योलमा परेको भन्ने विषय भ्रमित भएको निमित्त उपकुलपति डा.निरेश थापाले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णय गरी पदाधिकारीलाई काममा रोक लगाइएपछि एमबीबीएस, बीएमएसलगायतका शैक्षिक कार्यक्रम अवरुद्ध हुने भनेर विभिन्न मिडियामा छापिएको समाचार भ्रमपूर्ण भएको बताएका हुन् । उनले प्रतिष्ठानका नियमित सेवा संचलानमै छन् ।
यसअघि संचालित पठनपाठन र कुनै पनि सेवा रोकिएको छैन । नेपाल सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुनै पनि सेवा प्रभावित नहोस् भन्नका लागि निमित्त उपकुलपतिमा सहायक प्राध्यापक डा. निरेश थापालाई नियुक्त गरेको छ । प्रतिष्ठानका सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बिहीबारदेखि प्रतिष्ठानका शिक्षाध्यक्ष डा. थापालाई जिम्मेवारी दिएका हुन् । उपकुलपतिको रूपमा कामकाज गर्ने गरी डा. थापालाई जिम्मेवारी दिइएको छ ।
मन्त्री खतिवडाले डा. थापालाई अर्को व्यवस्था नभएसम्म आर्थिक तथा प्रशासनिक अधिकार प्रयोग गर्ने गरी थापालाई जिम्मेवारी दिएको छ । निमित्त सहायक प्राध्यापक डा. निरेश थापाले प्रतिष्ठानमा एमबीबीएस कक्षा संचालनका लागि सम्पूर्ण तयारी भएको बताए ।
उनले मंसिरको तेस्रो साताभित्र एमबीबीएस कक्षा संचालन हुने बताए । उनले भने, 'एमबीबीएस पढाइका लागि विद्यार्थी भर्नासमेत अन्तिम चरणमा पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णयले एमबीबीएस, बीएमएसलगायतका कुनै पनि शैक्षिक कार्यक्रम नरोकिने बताए । उनले भने, 'जुम्लामा एमबीबीएस पढाइका लागि २० विद्यार्थीको कोटा तोकिएको छ । यसअनुसार चिकित्सा शिक्षा आयोगले लिएको परीक्षाका आधारमा विद्यार्थी भर्ना हुन थालिसकेका छन् ।'
प्रतिष्ठानले प्राध्यापकको व्यवस्था, पाठ्यक्रम निर्माण, ल्याब स्थापना, शिक्षक तथा विद्यार्थीका लागि आवासलगायतको व्यवस्था यसअघि नै व्यवस्था गरिसकेकाले कुनै पनि बाधा अवरोध नहुने बताए । त्यस्तै, पत्रकार सम्मेलनमार्फत निमित्त रजिष्ट्रार द्वन्द्वबहादुर शाहीले मन्त्रालयको निर्णयले प्रतिष्ठानका काम प्रभावित नभएको बताए ।
उनले भने, 'मंसिरदेखि एमबीबीएस, बीएनएस, बीफार्मालगायतका कार्यक्रम संचालन हुने निश्चित छ । सरकारले प्रतिष्ठानलाई पदाधिकारीविहीन हुन नदिनका लागि दिइएको निमित रजिष्टारको जिम्मेवारी पूरा गर्नेछु ।' त्यस्तै, गत वर्ष उपकुलपति नियुक्ति हुनुअघि नै प्रा.डा. रामप्रसाद उप्रेतीले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । उक्त निवेदन उपर सर्वोच्चले गत २० चैतमा कर्णालीसहित पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिको प्रक्रिया अघि नबढाउन भन्दै आदेश जारी गरेको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र प्रतिष्ठानलाई विपक्षी बनाई दायर गरिएको उक्त निवेदनको फैसलाको निर्णय भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा २७ चैत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३१ चैतमा पुगेको थियो । तत्कालीन प्रधानमन्त्री केपी ओलीले २२ चैतमा डा. रावललाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गरेका थिए ।
अदालतको निर्णयपछि जानकारी भएकाले उपकुलपतिको नियुक्ति कानुनसम्मत रहेको भन्ने कर्मचारीको तर्क छ । शुक्रबार प्रतिष्ठानमा निमित्त उपकुलपति र निमित्त रजिष्ट्रारको उपस्थितिमा पत्रकार सम्मेलन गरी विज्ञप्ति जारी गरिएको हो। विज्ञप्तिमा 'विभिन्न संचार माध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको र कुनै पनि शैक्षिक प्रशासनिक काम नरोकिएको र नरोकिने' उल्लेख छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij