वेबटिभी खबर
वार्ताका लागि प्रधानन्यायाधीशले पठाए नेपाल बारलाई पत्र
प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई पत्र पठाएर वार्ताको आह्वान गरेका छन् । बारको सल्लाहकार समितिको बैठक सुरु हुन लाग्दा श्रेष्ठलाई सर्वोच्च अदालतबाट पत्र प्राप्त भएको हो ।
बार अध्यक्ष श्रेष्ठले आफूलाई आएको पत्रको व्यहोरा बैठकमा पढेर सुनाएका थिए । बारका एक पदाधिकारीका अनुसार, प्रधानन्यायाधीश जबराले आफू छलफल र संवादबाट अहिलेको समस्या समाधानका लागि तयार भएको भन्दै जुनसुकै बेला वार्ता गर्न प्रस्ताव गरेका छन् ।
प्रधानन्यायाधीश जबराले आफूले न्यायपालिकाको सुधार र सुदृढीकरणका लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको व्यहोरा उल्लेख गर्दै संवाद र छलफलबाट नै समाधान खोज्ने गरी पत्र पठाएको ती पदाधिकारीले बताए ।
शहीद स्मारक ए डिभिजन लिग आजदेखि सुरु
शहीद स्मारक ए डिभिजन लिग २०७८ शुक्रबारदेखि सुरु भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ४:४५ बजेदेखि ए डिभिजन लिग सुरु भएको हो । उद्घाटन खेलमा फ्रेण्ड्स क्लब कुपण्डोल र नवप्रवेशी सातदोबाटो युथ क्लबबीचको खेल सुरु भएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलो पटक ए डिभिजन लिगको खेल फ्लड लाइटमा खेलाएको जनाएको छ । नेपाली फुटबलको शीर्ष श्रेणीको लिगमा १४ वटा क्लबले प्रतिस्पर्धा गर्दै छन् । लिगको विजेताले नगद ७५ लाख रुपैयाँ पाउनेछन् भने उपविजेताले ५० लाख र तेस्रोले २५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
एमाले महाधिवेशन : मतदान सकिएको चार घण्टामै नतिजा
नेकपा (एमाले)को आसन्न दशौँ महाधिवेशनको नेतृत्व चयनका लागि विद्युतीय मतदानका लागि तयारी पूरा भएको छ ।
नयाँ नेतृत्वका लागि विद्युतीय मेसिनबाट गरिने मतदानको तयारी पूरा गरिएको एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले जानकारी दिए । उनका अनुसार महाधिवेशनको उद्घाटन सत्र सकिएपछि ११ मंसिरमा उम्मेदवारी दर्ता गरिनेछ ।
आयोगले १२ मंसिरमा निर्वाचन गर्ने तयारी गरेको छ । उम्मेदवारी दर्ता गरिसकेपछि विद्युतीय मेसिनमा उम्मेदवारको नाम दर्ता गर्नका लागि करिव आठदेखि १० घण्टा लाग्ने जनाइएको छ ।
आयोगका अध्यक्ष डा.सुब्बाले विद्युतीय उपकरणमा नाम दर्ता गराएपछि अर्को दिन १२ मंसिर बिहानैदेखि मतदान हुने बताए । उनका अनुसार एक प्रतिनिधिलाई विद्युतीय उपकरणमा मतदान गर्न आधा घण्टा लाग्नेछ । विद्युतीय मेसिनमा मतदान गर्नका लागि १० देखि १२ घण्टा लाग्ने उनले बताए ।
‘राम-लक्ष्मण भोटिङ मेसिन’द्वारा मतदान गरिने जनाइएको छ । '१२ मंसिर १२ बिहानैदेखि निर्वाचन गरेर साँझ मत परिणाम घोषणा गर्नेछाैँ', उनले भने, 'मतदान सकिएपछि मुचुल्का बनाउन दुई-तीन घण्टा र गन्नका लागि तीन-चार घण्टा लाग्नेछ ।'
राष्ट्रियसभा निर्वाचन आगामी माघ १२ गते
सरकारले राष्ट्रियसभा निर्वाचन आगामी माघ १२ गते गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै राष्ट्रियसभा निर्वाचनको मिति तोकिएको जानकारी दिएका हुन् ।
शनिबार माओवादीले ६७ सय ४३ वडामा सम्मेलन गर्ने
नेकपा (माओवादी केन्द्र)ले शनिबार देशभरका वडाहरूमा सम्मेलन गर्ने भएको छ । सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
पार्टीलाई नयाँ शिराबाट निर्माण गर्न वडा सम्मेलन कोसेढुंगा सावित हुने माओवादीले जनाएको छ । समाजवादको यात्रा पूरा गर्न जनताको तहदेखि नै परिवर्तन जरुरी रहेको भन्दै माओवादीले त्यसका लागि ‘नयाँ क्रान्तिकारी विचार र नयाँ क्रान्तिकारी पार्टी निर्माण गरौँ’ भन्ने नारा तय गरेको छ ।
प्रचण्डलाई अमेरिकी सहायक विदेशमन्त्रीले भने- एमसीसी नचाहिए फिर्ता लान्छौँ
नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी सहायता परियोजना (एमसीसी) पास नभए फिर्ता लैजाने चेतावनी दिएका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँगको भेटमा लुले यस्तो बताएका हुन् ।
लुले शुक्रबार सिंहदरबारमा प्रचण्डसँग भेट गरेका थिए । एमसीसी कम्प्याक्ट नेपालको संसदबाट पास गरेर कार्यन्वयन गर्नुपर्ने भएपछि राजनीतिक वृत्तमा धेरै छलफल र विवाद भइरहेको छ । यसै सन्दर्भमा नेपाल भ्रमणका आएका लुले यस्तो प्रतिक्रिया दिएका हुन् ।
सर्वाेच्च अगाडि फेरि तनाव, प्रहरीकाे कुटाइबाट अधिवक्ता घाइते
सर्वाेच्च अदालत परिसरमा आन्दाेलन गरिरहेका कानुन व्यवसायीहरू र प्रहरीबीच आज धकेलाधकेल परेकाे छ । यस क्रममा अधिवक्ता लक्ष्मी पोखरेल घाइते भएका छन् । नेपाल बार एसोसिएसनकी उपाध्यक्ष रक्षा बस्यालका अनुसार प्रहरीले लक्ष्मीमाथि अन्धाधुन्ध बुट प्रहार गरेकाे थियाे । केही बेरकाे धकेलाधकेलपछि सर्वाेच्च गेटमा कानुन व्यवसायीहरूले धर्ना दिएका थिए ।
यसअघि हिजाे सर्वोच्च परिसरमा प्रहरीले लाठी चार्ज गरी एक दर्जन कानुन व्यवसायीलाई घाइते पारेकाे थियाे । बारका वकिलमाथि २५ कात्तिकमा पनि प्रहरीले दमन गरेको थियो । त्यास दिन बारले सर्वोच्च परिसरमा गरिरहेको कार्यक्रममा प्रहरीले धरपकड गर्दा नेपाल बारका महासचिव लीलामणि पौडेल, उपाध्यक्ष रक्षा बस्यालसहित आधा दर्जनभन्दा बढी कानुन व्यवसायी घाइते भएका थिए ।
एकीकृत समाजवादीलाई दुइटा मन्त्रालय दिएर मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री राउत
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई सहभागी गराई मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र कानुन न्याय तथा प्रदेश मामिला मन्त्रालय नेकपा (एस)लाई दिएर आइतबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।
नेकपा (एस)का अध्यक्ष माधव नेपाल, प्रदेश संसदीय दलका नेता शत्रुधन महतो, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री राउतबीच भएको छलफलपछि ती दुवै मन्त्रालय नेकपा (एस)लाई दिएर सरकार विस्तार गर्ने निर्णय भएको हो ।
बेलायत रोजगारीमा १० हजार नर्स पठाउने सरकारको तयारी
सरकारले बेलायत रोजगारीमा १० हजार नर्स पठाउने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्टाफ नर्स पठाउने गरी समन्वय गरिरहेको जानकारी दिएको छ ।
शुक्रबार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले बेलायत सरकारले नेपालबाट नर्स लैजान चाहेकाले सम्झौताको तयारी गरिएको जानकारी दिए ।
‘हामी कसरी श्रमिकमैत्री सम्झौता गर्न सकिन्छ भनेर छलफल गरिरहेका छौँ । यसमा छिट्टै नै काम हुन्छ', सचिव गौतमले भने ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij